काठमाडौं । नेकपा (एमाले) को विवाद समाधानका लागि गठित कार्यदलको बैठक सम्पन्न भएको छ । सिंहदरबारस्थित् अर्थ मन्त्रालयको हलमा बसेको बैठक केहीबेर अघिमात्र सम्पन्न भएको हो ।
आजको छलफल निश्कर्षउन्मुख रहेको वार्तामा सहभागी एक नेताले जानकारी दिए । पार्टीको गत शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि गरेको हस्ताक्षर फिर्ता लिनको लागि माधव नेपाल पक्षलाई निर्देशन दिएको थियो ।
तर, नेपाल पक्षले हस्ताक्षर कुनैपनि हालतमा फिर्ता नलिने बताइसकेपछि पार्टीमा थप विवाद उत्पन्न भएको हो । नेपाल पक्षले राखेका माग पूरा गर्नको लागि अध्यक्ष केपी शर्मा ओली सकारात्मक रहेपछि विवाद समाधनतर्फ उन्मुख भएको छ ।
आजको बैठकमा नेताहरुबीच समस्या समाधानको लागि सुक्ष्म रुपमा छलफल भएको र भोलि बैठक बसेर सहमति गरिने स्रोतले बताएको छ । पार्टीलाई २०७५ जेठ २ कै संरचनाअनुसार अगाडि बढाउनेमा सहमति हुने बुझिएको छ ।
यस्तै माओवादी केन्द्र छाडेर एमालेमा समाहित भएका नेतालाई व्यवस्थापन गर्ने विषयमा पनि सहमति नजिक पुगिएको बताइएको छ ।












