काठमाडौं । आज प्रतिनिधिसभा विघटनविरूद्धको रिटमा सभामुख अग्निप्रसाद सापकोटा पक्षका कानुन व्यवसायीहरुले बहस गर्दैछन । सभामुखका तर्फबाट बहस सकेर आजै निवेदक पक्षको जवाफी बहस गर्ने तयारी छ । दुई घण्टा समय तोकिएकोमा सभामुख सापकोटाका तर्फबाट वरिष्ठ अधिवक्ताहरू श्यामप्रसाद खरेल, लभकुमार मैनाली, उपेन्द्रकेशरी न्यौपाने, अधिवक्ताहरू मेघराज पोखरेल र श्रीकृष्ण सुवेदीले बहस गर्नेछन् ।
सुनुवाइको शुरूवातमा निवेदक पक्ष (विपक्षी गठबन्धन) का तर्फबाट ३६ जना कानुन व्यवसायीले बहुमत सांसद पक्षमा रहेको जिकिर गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने माग गर्दै १२ घण्टा बहस गरेका थिए । जवाफी बहसका लागि उनीहरूलाई ३ घण्टाको समय दिइएको छ ।
निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताहरू रमणकुमार श्रेष्ठ, बद्रीबहादुर कार्की, हरिहर दाहाल र शम्भु थापाले जवाफी बहस गर्ने भएका छन । सोमबार एमिकस क्युरीले २ घण्टा राय दिएपछि यो मुद्दाको फैसला आउनेछ । नयाँ सरकार बन्ने विकल्प हुँदा हुँदै मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको भन्दै सर्वोच्च अदालतमा ३० वटा रिट निवेदन दर्ता भएका छन् ।












