काठमाडौं । आज (शुक्रबार) शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले थप तीन मन्त्रालयको पनि कार्यभार सम्हाल्दै छन् । उनले श्रम तथा रोजगार मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, र वन तथा वातावरण मन्त्रालयमा आजै पदभार ग्रहण गर्दैछन् ।
उनले स्वास्थ्य मन्त्रालयमा साढे १२ बजे, र लगातार २ बजे श्रम मन्त्रालयमा र साढे ३ बजे वन मन्त्रालयमा पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ । सर्वोच्च अदालतले मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिएपछि २५ सदस्यीय मन्त्रिपरिषद अब खुम्चीएर पाँच सदस्यमा कायम छ ।
रक्षा र परराष्ट्र मन्त्रालय आफैंसँग राखेका प्रधानमन्त्री ओलीले बिहीबार उपप्रधानमन्त्री विष्णु पौडेललाई अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिंचाइ र गृह मन्त्रालयको जिम्मेवारी, बसन्तकुमार नेम्वाङलाई कृषि तथा पशुपन्छी विकास, खानेपानी, भौतिक पूर्वाधार, सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्रालयको जिम्मेवारी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठलाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पनि जिम्मेवारी बाँडफाँट गरिदिएका थिए ।












