एजेन्सी । युरो २०२० फुटबल प्रतियोगिता अन्तर्गत आज चार खेलहरु हुँदैछन् ।
समूह चरणका अन्तिम चार खेलहरुमा समूह 'ई' र समूह 'एफ' को समान २ः२ खेलहरु हुन लागेका हुन् । जारी युरो कपमा १२ टिमले अन्तिम १६ मा स्थान बनाइसकेका छन् ।
समूह 'ई' मा रहेको स्पेनले आज राति स्लोभाकियासँग प्रतिस्पर्धा गर्दैछ सेभियामा हुने स्पेन र स्लोभाकियाबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ ।
स्पेनलाई अन्तिम १६ मा पुग्नका लागि यस खेल महत्वपूर्ण रहेको छ । स्पेन स्लोभाकियालाई हराएर अन्तिम १६ मा पुग्न चाहन्छ । स्पेन २ खेलमा २ अंक जोडेर समूहको तेस्रो स्थानमा रहेको छ ।
स्लोभाकिया पनि स्पेनलाई हराएर नकआउट चरणमा पुग्न चाहन्छ । स्लोभाकिया २ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
सो समूहको अर्को खेलमा स्विडेन र पोल्याण्डले खेल्दैछन् । दुई टोलीबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ ।
स्विडेन ४ अंक जोडेर समूहको शीर्ष स्थानमा रहेको छ । स्विडेन नकआउट चरणमा पुगिसकेको छ ।
पोल्याण्ड १ अंक जोडेर समूहको पुछारमा रहेको छ । पोल्याण्डको पनि अर्को चरणमा पुग्ने सम्भावना भने कायम रहेको छ ।
समूह 'एफ' अन्तर्गत पोर्चुगलले फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ । यी दुई टिम पुस्कास स्टेडियममा राति १२ः४५ बजे आमनेसामने हुँदैछन् ।
पोर्चुगल फ्रान्सलाई हराएर नकआउट चरणमा पुग्न चाहन्छ । पोर्चुगल २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
फ्रान्स यस अघि नै नकआउट चरणमा पुगिसकेको छ । समूहको शीर्ष स्थानाम रहेको फ्रान्सले २ खेलमा ४ अंक जोडेको छ ।
यसै समूहको अर्को खेलमा जर्मनीले हंगेरीसँग खेल्नेछ । जर्मनी र हंगेरीबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ ।
जर्मनी २ खेलमा ३ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ । हंगेरीलाई पराजित गर्दै जर्मनी अन्तिम १६ को यात्रा तय गर्ने दाउमा हुनेछ ।
हंगेरी १ अंक जोडेर समूहको पुछारमा रहेको छ । हंगेरीको पनि जर्मनीलाई हराएर नकआउट चरणमा पुग्ने सम्भावना कायमै छ ।












