काठमाडौं । मनसुन प्रारम्भ भएसंगै देशभरी आएको प्राकृतिक विपत्तिप्रति पूर्व राजा ज्ञानेन्द्र वीर विक्रम शाहले गहिरो चिन्ता र चासो व्यक्त गरेका छन् ।
पूर्व राजा शाहले देश कोभिड १८ को महामारीबाट आक्रान्त भइरहेको समयमा फेरि बाढी, पहिरो, नदी कटान जस्ता प्राकृतिक विपत्ति आईपरेको र त्यसबाट हिमाल, पहाड र तराईका धेरै जिल्लाहरुमा जनधन तथा भौतिक निर्माणमा क्षति भएको एवम् ग्रामीण तथा शहरी वस्तीका बासिन्दाहरुको उठीबास भएको दुःखद खबर सुन्दा, देख्दा आफुहरुलाई दुखित तुल्याएको बताएका छन् ।
उनले भनेका छन्, 'मनसुन प्रारम्भ मात्र भएको यो समयमा नै यति धेरै क्षति हुन पुग्यो भने तिब्र बर्षात आउने समयमा अझ के-के हुने हो ? यस्तो बेलामा सबै मिलेर महामारी र प्राकृतिक विपत्तिको न्यूनिकरण गर्ने तर्फ जिम्मेवार बन्नु पर्ने हुन्छ ।' त्यस्तै पूर्व राजा शाहले प्राकृतिक विपत्ति सबैको चिन्ताको बिषय भएकोले पूर्व सावधानी अपनाउनुपर्नेमा पनि जोड दिएका छन् ।
साथै प्राकृतिक विपत्तिबारेमा उद्धार एवं राहतकारी व्यवस्था मिलाउने बिषयमा सबै पक्षको गम्भिर ध्यान जानु पर्ने पनि बताएका छन् । त्यसैगरी पूर्व राजा शाहले 'अवस्था विकराल नहोस, अपार क्षति नहोस् र जनकल्याणकारी प्रबन्ध प्रभावकारी रुपमा होस ' भन्ने पनि आफुहरुको आग्रह रहेको बताएका छन् ।













