२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पाँच रुपैयाँमा बन्दागोभी बेच्न मनले मानेन’



अ+ अ-

घोराही । दाङको घोराही उपमहानगरपालिका–१७ कर्जाहीका किसान बाबुराम चौधरीले एक विघा जमिनमा लगाउनुभएको बन्दागोभी बिक्री नहुँदा मारमा पर्नुभएको छ । तरकारी खेती गर्ने र त्यहीँबाट आएको रकमले घरव्यवहार चलाउने उद्देश्यले व्यावसायिक खेती गर्दै आउनुभएका उहाँको तयारी अवस्थामा रहेको बन्दागोभी हालसम्म बिक्री हुन सकेको छैन ।

चौधरीले घोराही–६ गुरुवागाउँमा लगाएको सबै बन्दागोभी अहिले बारीमै सुक्न थालेको छ । एक विघा जमिनमा रोपेको ‘नेपाल ग्रिण ७७७’ जातको बन्दागोभी तयार भए पनि बेच्न समस्या भएको छ । बजारमा सस्तोमा पाउन थालेपछि बन्दागोभी बिक्री गर्न समस्या भएको उहाँको भनाइ छ ।

“घरखर्च धान्न सकिएला की भनेर एक विघामा बन्दागोभी लगाएको थिए, बिक्री गर्न नसक्दा सुक्न थालेको छ”, चौधरीले भन्नुभयोे–“खरिद गर्न कोही पनि आएका छैनन् ।” प्रतिकिलो रु पाँचका दरले बन्दागोभी किन्न आउँदा बिक्री नगरेको उहाँको भनाइ छ ।

चौधरीले रु ७० हजार खर्च गरेर एक विघा जमिनमा बन्दागोभी लगाएको बताउनुभयो । उहाँले भन्नुभयोे, “बिक्री गर्न बजारमा लैजाँदा पनि कोही किन्न तयार भएनन, थोरै मूल्यमा बिक्री गर्न मनले मानेन, त्यसपछि बिक्री गर्न बजार लैजान छोडेको छु ।” प्रतिकिलो रु पाँचमा बन्दागोभी बेच्दा आफ्नो लगानी नै नउठ्ने उहाँको भनाइ छ ।

हाल पाउँदै गरेको मूल्यले बन्दागोभीको बिउ उमार्नदेखि खानका लागि तयार पार्दासम्म भएको खर्च उठ्ने अवस्था नभएको चौधरी  बताउनुहुन्छ । “व्यापारीसित समन्वय गर्दा बन्दागोभीको बजार छैन भन्ने खबर पाए”, उहाँले भन्नुभयो । यस वर्ष जिल्लामा प्रशस्त उत्पादनसँगै बाहिरबाट धेरै मात्रामा बन्दागोभी आउँदा आफ्नो उत्पादन बिक्री गर्न धौ–धौ भएको उहाँले बताउनुभयो ।

विगत दश वर्षदेखि तरकारी खेती गर्दै आउनुभएका चौधरीले बन्दागोभी खेतीबाट अघिल्ला वर्षमा मनग्य आम्दानी लिनुभएको थियो । “बन्दागोभी नबिक्ने समस्या यसअघि कहिल्यै आएन”, उहाँले भन्नुभयो । तरकारी बिक्रीको व्यवस्था मिलाउन जिल्लाका अन्य व्यवसायीलाई अनुरोध गरे पनि सबै ठाउँमा यस्तै समस्या रहेको र बजारमा माग नभएको जवाफ पाएको चौधरी बताउनुहुन्छ । “अब बन्दागोभी बिक्री हुँदैन, बारीमै सुकेर जान्छ”, उहाँले भन्नुभयो । जिल्लामा सस्तोमा बाहिरबाट तरकारी भित्रिँदा स्थानीय किसान समस्यामा परेका छन् । रासस