२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बासस्थानमै छोडियो हुचिल



अ+ अ-

गोरखा । डिभिजन वन कार्यालय गोरखाले अवैधरूपमा घरमा राखिएको अवस्थामा भेटिएका दुई हुचिललाई प्राकृतिक बासस्थानमा लगेर छाडेको छ । यही जेठ १८ गते सहिदलखन गाउँपालिका–६ घर भएका २७ वर्षका मोहनसिं थापा र २० वर्षका विकास थापाको घरमा अवैधरूपमा राखिएको हुचिललाई १२ दिनपछि सोमबार साँझको समयमा प्राकृतिक बासस्थानमा पुर्याएर छाडिएको डिभिजन वन कार्यालय गोरखाका वनअधिकृत विनोद गायकले जानकारी दिनुभयो ।

हुचिल रातका समयमा स्वतन्त्ररूपमा सक्रिय हुने प्रजातिको पक्षी भएकाले कृत्रिम बासस्थान र आहाराबाट लामो समयसम्म बचाउन कठिन हुने जनाउँदै प्राकृतिक बासस्थानमै सुरक्षित छाड्न जिल्ला अदालत गोरखाले निर्देशन दिएपछि कार्यालयले सहिदलखन गाउँपालिकाको तामली भिरमा लगेर हुचिललाई उसकै बासस्थानमा छाडिएको उहाँले बताउनुभयो ।

“हुचिललाई उसको साविकको बासस्थानबाहेक अन्य ठाँउमा छाड्दा आहाराको खोजीमा समय लाग्ने पनि हुन्छ”, वनअधिकृत गायकले भन्नुभयो, “यसलाई सजिलै प्राकृतिक बासस्थानमा घुलमिल हुन सजिलो होस् भनेर पनि प्राकृतिक बासस्थानमा छाडिएको हो ।”

बरामद पक्षीको जीवनरक्षाका लागि प्राकृतिक स्थानमै लगेर छाड्नका लागि अदालतले अनुमति दिएपछि डिभिजन वन कार्यालय गोरखाका अनुसन्धान अधिकृत गायक नेतृत्वको टोलीले बरामद भएको हुचिललाई प्राकृतिक बासस्थानमा छाडेको हो ।

वडाध्यक्ष दिलीपनारायण थापा, स्थानीयवासी, प्रहरी र पत्रकारको रहोवरमा हुचिललाई प्राकृतिक बासस्थानमा लगेर छाडिएको वनअधिकृत गायकले जानकारीले दिनुभयो । “हुचिलको मुख्य आहारा खरायो, न्याउरी मुसा, मुसालगायत हो”, उहाँले भन्नुभयो, “दिनभरि आराम गर्ने र रातको समयमा आहाराको खोजीमा निस्कने र आहारा गर्ने गर्दछ ।”

नेपालको पहाडी भेगमा पाइने प्रजातिको हुचिल तराई भेगमा पाइने हुचिलभन्दा ठूलो हुने वनअधिकृत गायकको भनाइ छ । नेपालमा पाइने २३ प्रजाति हुचिलमध्ये नौ प्रजातिको हुचिल भने लोपोन्मुख अवस्थामा रहेको उहाँले जानकारी दिनुभयो । नेपालमा हुचिललाई किसानको साथी पनि भन्ने गरिन्छ । हुचिलसहित पक्राउ परेका दुवै जनामाथि जिल्ला अदालत गोरखामा अवैध वन्यजन्तुको आखेटोपसार ओसारपसार मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको वनअधिकृत गायकले जानकारी दिनुभयो । रासस