२४ जेष्ठ २०८३, आईतवार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

अब माइक्रोबस र जीप चढ्न नयाँ बसपार्क जानुपर्ने



फाईल फोटो
अ+ अ-

काठमाडौँ । के तपाई काठमाडौँभित्रबाट सार्वजनिक माइक्रोबस र जीप चढेर उपत्यका बाहिर जाँदै हुनुहुन्छ ? जाँदै हुनुहुन्छ, भने अब तपाईँ गोँगबुस्थित नयाँबसपार्क पुग्नुपर्ने हुन्छ । काठमाडौँ महानगरपालिकाले काठमाडौँभित्रको सार्वजनिक सवारी साधनलाई व्यवस्थित बनाउनका लागि आजदेखि गोँगबुस्थित नयाँ बसपार्कभित्रबाट सञ्चालन हुने व्यवस्था गरेको छ ।

सो व्यवस्थासँगै अब काठमाडौँभित्रको बल्खु, कलङ्की, बालाजु, माछापोखरी, गोँगबु, कोटेश्वरलगायतका क्षेत्रमा ‘काउण्टर’ राखेर सञ्चालन हुँदै आएका माइक्रोबस नयाँ बसपार्कभित्रबाट सञ्चालन हुनेछन् । उक्त निर्णय कार्यान्वयनसँगै अब काठमाडौँभित्रबाट उपत्यका बाहिर चल्ने झण्डै दुई हजार सार्वजनिक माइक्रोबस तथा जीप नयाँ बसपार्कभित्रबाट सञ्चालन हुन्छन् । रातका समयमा जुन ठाउँमा पार्किङ गरेपनि यात्रु चढाउनका लागि नयाँबसपार्कभित्र पुग्नुपर्ने हुन्छ ।

नयाँबसपार्कभित्रबाट माइक्रोबस तथा जीपलाई सञ्चालन गर्नका लागि यातायात व्यवसायीको सहकार्यमा नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउदेश्यीय प्रालिले नयाँ टिकट काउन्टर निर्माणको कामलाई समेत तीव्रता दिएको छ । लोत्से बहुउदेश्यीय प्रालिका मानव संशोधन प्रमुख पङ्कज मल्लले काठमाडौँ महानगरपालिकाले गरेको निर्णयको कार्यान्वयनका लागि नयाँबसपार्कभित्र जीप तथा माइक्रोबसलाई नयाँ काउण्टर निर्माण गर्ने काम भइरहेको बताउनुहुन्छ । “नयाँ बसपार्कभित्रबाट सार्वजनिक सवारी साधनलाई व्यवस्थित र भरपर्दो ढङ्गले सञ्चालन गर्नका लागि लोत्से बहुउदेश्यीय प्रालि लागेको छ,” उहाँ भन्नुहुन्छ ।

यस्तै, जीप तथा माइक्रोबसलाई नयाँबसपार्क भित्रबाट व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि माइक्रोबस तथा जीप समन्वय समिति लागेको छ । समितिले गत जेठ ३० गते पत्रकार सम्मेलन गरी काठमाडौँका विभिन्न क्षेत्रबाट सञ्चालन हुँदै आएका सवारीसाधन असार १ गतेदेखि नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्ने जानकारी दिएको हो ।

समितिका संयोजक राजेन्द्र आचार्य काठमाडौँ महानगरपालिकाले गत जेठ १९ गते लामो, मध्यम तथा छोटोदूरीका सार्वजनिक सवारीसाधन नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्ने निर्णय गरेकाले उक्त निर्णयको कार्यान्वयनका लागि असार १ देखि नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्न लागिएको बताउनुहुन्छ ।

“स्थानीय सरकारले गरेको निर्णय मान्न हामी तयार छौँ, उक्त निर्णय सरोकारवाला सबै निकायलाई लागू गराउन महानगरपालिका लाग्नुपर्छ, हामी साथ दिन तयार छौँ, स्थानीय सरकारले कसैलाई काखा र कसैलाई पाखा गर्नु हुँदैन,” उहाँ भन्नुहुन्छ ।

यसअघि नयाँ बसपार्कबाट ठूला सार्वजनिक सवारी साधनमात्र सञ्चालन हुँदै आएका थिए । असार १ देखि सबै टिकट काउण्टर बसपार्कभित्र राखिने भएकाले सोही स्थानमा आएर टिकट लिनसमेत उहाँले यात्रुलाई आग्रह गर्नुभयो । हाल काठमाडौँबाट पोखरा, नारायणगढ, डुम्रे, दमौली, लमजुङ, गोरखा, धादिङ, त्रिशूली बागलुङ, बेनी, स्याङ्जा वालिङ, वुटवल, भैरहवा, कोटेश्वरबाट बिपी राजमार्ग हुँदै पूर्व जाने माइक्रोबस र बल्खुबाट हेटौँडा चल्ने टाटासुमोसञ्चालन हुँदै आएका छन् ।

संयोजक आचार्य नयाँबसपार्कभित्रबाट माइक्रो बस तथा जीप सञ्चालन गर्नका लागि लोत्से बहुृउदेश्यीय प्रालिसँगसमेत सम्झौता गरिसकेको बताउनुहुन्छ । “नेपालको यातायात क्षेत्रलाई व्यवस्थित र यात्रुमैत्री बनाउनका लागि आवश्यकपर्ने संरचना निर्माणका लागि लोत्सेसँग सहकार्य गरेर अगाडि बढेका छौँ,”संयोजक आचार्य भन्नुहुन्छ ।

नयाँ बसपार्कबाट माइक्रोबस तथा जीप सञ्चालन गर्दै गर्दा यात्रुहरुको सुविधाका लागि यसअघि सञ्चालन हुँदै आएका क्षेत्रमा निश्चित समयका लागि ‘पिक एण्ड ड्रप’को व्यवस्था गर्न उहाँले महानगरपालिकासँग आग्रह गर्नुभयो । काठमाडौँ महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डे काठमाडौँभित्रको यातायातलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्नका लागि महानगरपालिका लागेको बताउनुहुन्छ ।

“काठमाडौँ महानगरपालिकाले लामो तथा छोटोदुरीका सार्वजनिक सवारीसाधन पार्किङका लागि नयाँ बसपार्क निर्माण गरी उपलब्ध गराएको छ, सबै सवारीसाधन बसपार्कभित्रबाट सञ्चालन हुनुपर्छ,” उहाँ भन्नुहुन्छ । “बसपार्कभित्र सवारीसाधन नअटाए त्यसको विकल्प खोजिने उहाँको भनाइ छ ।”

काठमाडौँ उपत्यकाभित्र प्रवेश गर्ने सार्वजनिक सवारी साधनलाई व्यवस्थित तथा पार्किङ गर्नका लागि काठमाडौँ महानगरपालिकाले विसं २०५६ मा ल्होत्से बहुउद्देश्यीय प्रालिसँग सम्झौता गरी नयाँबसपार्क सञ्चालनमा ल्याएको थियो । एक सय ६१ रोपनी क्षेत्रफलमा फैलिएको नयाँ बसपार्कमा ८०० भन्दा बढी सार्वजनिक सवारीसाधन राख्न मिल्ने क्षमता रहेको छ ।रासस