२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुरुप्रति श्रद्धाभाव प्रकट गर्दै मनाइयो गुरु पूर्णिमा



अ+ अ-
काठमाडौँ । प्राचीन गुरुकुल परम्परादेखि सुरु भएको गुरु पूर्णिमा पर्व आज गुरुप्रति श्रद्धाभाव प्रकट गर्दै मनाइएको छ ।
प्रत्येक वर्ष आषाढ शुक्ल पूर्णिमाका दिन जस्तै आज पनि गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइएको हो । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरूपी प्रकाशले अज्ञानरूपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको छ ।
अन्धकारको नाश गरी जीवनमा उज्यालो फैल्याउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रुपमा समेत मानेको छ । यसैले विभिन्न ग्रन्थमा यसो भनिएको पाइन्छ–
गुरु ब्रह्मा  गुरुविष्णु गुरुर्देवो  महेश्वरः ।
गुरु साक्षात् पर ब्रह्म तस्मै श्री गुरवे नमस् ।।
माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ भनिन्छ ।
गुरु पूर्णिमाका अवसरमा आज विभिन्न विद्यालय एवं सङ्घसंस्थाले कार्यक्रम गरी शिक्षा, दीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गरेका छन् । यस अवसरमा विश्व हिन्दू महासङ्घको कार्यालय बाँसबारीमा आयोजना गरिएको कार्यक्रममा गुरुको महत्त्वका बारेमा प्रकाश पारिएको थियो ।
यसैगरी नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पनि आज गुरुपूर्णिमाका अवसरमा कार्यक्रम आयोजना गरेको थियो । नेपाल महर्षि वैदिक फाउन्डेसनले दक्षिणकाली नगरपालिका–१ स्थित ब्रह्मानन्दनगरमा आयोजित कार्यक्रममा वैदिक गुरु परम्पराका गुरुप्रति सम्मानभाव प्रकट गरिएको थियो ।
मनाइयो व्यास जयन्ती
वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्नुहुने वेदव्यासको सम्झनामा आजै व्यास जयन्ती पनि मनाइएको छ । आषाढ शुक्ल पूर्णिमाकै दिन वेद व्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती मनाउने गरिएको हो ।
व्यासले पुराण र उपपुराणका माध्यमबाट सारमा यस्तो सन्देश दिन खोज्नुभएको छ धर्मशास्त्राचार्यहरुको तर्क छ–
‘अष्टादश पुराणेषु व्यासस्य वचन द्वयम् ।
  परोपकार पुण्याय पापाय परपीडनम्’ ।।
अर्थात् अरूको उपकार गरे धर्म हुन्छ एवं अरूलाई पीडा दिए पाप लाग्छ भनी मानवतावादी सन्देश दिनुभएको छ । पाँचौँ वेदसमेत भनिने महाभारत पनि व्यासले नै रचना गर्नुभएको हो । जीवनमा केही सिकाउने, बाटो देखाउनेलाई सम्मान गर्ने परम्परा प्राचीनकालदेखि चल्दै आएको हो ।
यस्तो वैदिक गुरु परम्परालाई गुरुकुलले विशेष रुपमा निरन्तरता दिँदै आएका छन् । आधुनिक शिक्षा परम्परामा भने गुरुको हुनुपर्ने जति सम्मान नभएको गुनासो पनि सुनिन्छ । आधुनिक शिक्षा प्रणालीमा गुरुप्रति सम्मान एवं श्रद्धा प्रकट गर्ने क्रम घट्दै गएको विश्लेषण हुने गरेको छ । रासस