२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल आयरल्यान्डसँग पराजित



अ+ अ-

काठमाडौं । जिम्बावेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताअन्तर्गत आज भएको सातौँ स्थानको भिडन्तमा नेपाल टेष्ट राष्ट्र आयरल्यान्डसँग दुई विकेटले पराजित भएको छ ।

विभिन्न १० टोली सहभागी उक्त प्रतियोगितामा नेपालले आठौँ स्थानमा रहँदै विश्वकप छनोट यात्रा सकाएको छ । यस जितसँगै आयरल्याण्ड भने सातौँ स्थानमा रहेको छ । जितका लागि नेपालले दिएको दुई सय ६९ रनको विजयी लक्ष्य आयरल्यान्डले ४९ दशमलव दुई ओभरमा आठ विकेट गुमाउँदै पूरा गर्यो ।

आयरल्यान्डको जितमा कर्टिस क्याम्फरले सर्वाधिक ६२ रनको योगदान दिए । उनले ५९ बलमा ८ चौका र १ छक्कासहित ६२ रन जोडेका हुन । त्यस्तै ह्यारी टेक्टरले ६० रनको योगदान दिए । उनले ७६ बलमा ४ चौका र २ छक्कासहित ६० रन बनाएका हुन् ।

यसैगरी जर्ज डोकरेल ४७ बलमा २ चौका र १ छक्कासहित ३३ रनमा क्याच आउट भए । लोर्कान टकरले २२ बलमा २ चौका र १ छक्कासहित २४ रन बनाए । ओपनर एन्डी म्याकब्रिन १७ रनमा आउट भए । कप्तान एन्डी बालबर्नी १ रनमा आउट हुदाँ पल स्टरलिङले १५ रन बनाए ।

नेपालका करण केसीले सर्वाधिक ४ विकेट लिए भने किशोर महतोले दुई विकेट लिए । सन्दीप लामिछानेले र गुलशन झाले समान एक एक विकेट लिए । त्यसअघि जिम्बावेको हरारेमा रहेको टाकासिंगा स्पोर्ट्स क्लबमा टस हारेर पहिले ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ६८ रनको योगफल तयार गरेको थियो ।

नेपालका लागि गुलशन झाले सर्वाधिक ५७ रनको योगदान दिए । उनले ४२ बलमा ४ चौका र ३ छक्काको मद्दतमा अविजित ५७ रनको अर्धशतकीय इनिङ खेले । त्यस्तै नेपालका सुरुआती ब्याट्सम्यान अर्जुन साउदले ४८ रन बनाए । उनले ८४ बलमा ३ चौका र २ छक्काको सहयोगमा ४८ रन बनाएका हुन । कुशल मल्लले ३८ बलमा ५ चौका र २ छक्काको सहयोगमा ४४ रन बनाए ।

त्यस्तै सन्दीप लामिछानले ३० बलमा ३ चौका र १ छक्काको सहयोगमा ३२ रन बनाए भने कप्तान रोहित पौडेलले ३५ बलमा २९ रन जोडे । भीम सार्कीले २० रन बनाए ।

बलिङतर्फ आयरल्यान्डका मार्क अडिर, ब्यारी म्याकार्थी र क्रिग योङले समान २÷२ विकेट झारे भने एन्डि म्याकवर्नी, कुर्टिस क्यामफेर र गारेथ डिलेनीले समान १÷१ विकेट लिए ।

विभिन्न १० टोली सहभागी उक्त प्रतियोगितामा नेपाल समूह ए मा रहेको थियो । समूह चरणको खेलमा नेपाल ४ खेलमा ३ मा हार र १ खेलमा विजयी भएको थियो । नेपाल समूह चरणको खेलमा चौथो स्थानमा रहेको थियो ।नेपालले अमेरिकालाई ६ विकेटले हराएको थियो । जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो भने वेस्टइन्डिजसँग १ सय १ को हार बेहोरेको थियो । त्यस्तै नेपाल नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित भएपछि नेपाल सुपर सिक्समा पुग्न सकेको थिएन । रासस