२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललिता निवास प्रकरणः अधिकांशको बयान सकियो



फाईल फोटो
अ+ अ-

काठमाडौँ, साउन ८ गते । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नापी विभागका तत्कालीन कर्मचारी अरुणकुमार श्रेष्ठ रहेको ब्युरोले जनाएको छ ।

श्रेष्ठले उक्त सरकारी जग्गामा मोही प्रमाणित गराई व्यक्तिका नाममा नामसारी गर्न भूमिका निर्वाह गरेको ब्युरोले जनाएको छ । सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले श्रेष्ठसँगै ललिता निवास प्रकरणमा जोडिएका हालसम्म १९ जना पक्राउ परेको जानकारी दिनुभयो । उहाँले यस प्रकरणमा थप व्यक्तिको समेत मिलेमतो देखिएकाले उनीहरूमाथि ब्युरोले अनुसन्धानसँगै निगरानी पनि बढाएको बताउनुभयो । उहाँले पक्राउ परेका आरोपितमध्ये अधिकांशको बयान तथा सोधपुछ सकिएको समेत जानकारी दिनुभयो ।

सिआइबीले पक्राउ गरी अनुसन्धान अघि बढाएका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत सर्वोच्च अदालतको शुक्रबारको आदेशबाट रिहा हुनुभएको छ । अन्य तीन जनाको हकमा बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट खारेज भएपछि गत असार १२ गते पक्राउ परेकामध्ये तीन जना अभियुक्तले पाएको अन्तरिम आदेशसमेत खारेज भएको छ ।

योसँगै हिरासतबाट छुटेका आरोपितलाई पुनः पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान गर्न सिआइबीलाई बाटो खुलेको छ । सिआइबीले गत असार १२ गते भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन प्रमुख कलाधर देउजा, तत्कालीन अधिकृतहरू सुरेन्द्रमान कपाली, हुपेन्द्रमणि केसी, धर्मप्रसाद गौतम, खरिदार गोपाल कार्कीलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो । कलाधर देउजा, अधिकृतहरू सुरेन्द्रमान कपाली, हुपेन्द्रमणि केसीले अदालतबाट अन्तरिम आदेश लिइसकेकाले सिआइबीले हिरासतमुक्त गर्नु परेको थियो ।

ललिता निवासको सरकारी जग्गा हिनामिनामा संलग्न भएको आरोपमा भूमिसुधार तथा व्यवस्था विभागका तत्कालीन महानिर्देशक रुद्रप्रसाद श्रेष्ठ, भौतिक योजना तथा निर्माण मन्त्रालयका सिडिई बालकृष्ण श्रेष्ठ, समरजङ्ग कम्पनीका तत्कालीन प्रमुखहरू रमेशकुमार पोखरेल, देवनारायण महर्जन, लोकहरि घिमिरेसँगको बयान सकिएको छ ।

त्यसैगरी हिरासतमा रहेका तत्कालीन नापी सर्वेक्षक घमानकुमारी कार्की, बाबुप्रसाद अर्याल, नक्कली मोही बाबुराजा महर्जन, डिल्लीबजार मालपोत कार्यालयका नायब सुब्बा योगराज पौडेल, तत्कालीन खरिदार नारायणदास मिश्र, समरजङ्ग कम्पनीका सहलेखापाल विनोद पौडेल, बिचौलिया केशव तुलाधरमध्ये अधिकांशको बयान सकिएको ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक आचार्यले जानकारी दिनुभयो ।

ललिता निवास प्रकरणमा सिआइबीले सङ्गठित अपराधको कसुरमा अनुसन्धान अघि बढाएको छ । सो कसुरमा प्रहरीलाई अनुसन्धान गर्न ६० दिनको हदम्याद रहेकाले आगामी भदौ ११ गतेभित्र जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाउनुपर्ने छ । गोरखापत्र दैनिकमा समाचार छापिएको छ ।




भर्खरै