२२ असार २०८३, सोमबार
,
Latest
ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम
तपाईं के खोज्दै हुनुहुन्छ ?

साउनदेखि पुससम्म रगत संकलनमा किन कमी आउँछ ?



अ+ अ-

काठमाडौँ । देशभर वर्षायाम शुरु भएसँगै रगत संकलन कम हुन थालेको छ ।

रगत संकलन र आपुर्ति गर्दै आएको संस्था केन्द्रिय रक्त सञ्चार सेवाका अनुसार साउनदेखि मंसिर महिनासम्म मानिसहरु खेतीपातीमा संलग्न हुने र चाडपर्व पनि यही अवधिमा पर्ने भएकाले रगत संकलनमा कमी हुने गरेको हो ।

वर्षातको समय शुरु भएदेखि मंसिर/पुससम्म दैनिक करिव आठ सय युनिटमात्रै रगत संकलन हुने केन्द्रिय रक्तसञ्चार सेवाका निर्देशक दिव्यराज पौडेलले बताउनु भयो । उहाँले अन्य समयमा भने नेपालमा एक हजार एक सय युनिटसम्म रगत संकलन हुने गरेको बताउनु भयो । केन्द्रिय रक्त सञ्चार सेवातर्फ २०७९/८० मा ३३ हजार चार सय ८५ युनिट रगत संकलन भएको थियो । उहाँले सो अवधिमा ५४ हजार १२३ युनिट रगत वितरण भएको बताउनु भयो ।

पौडेलले रक्तदातालाई रक्तदान गर्न जनचेतनामुलक कार्यक्रम गर्दै आएको र गत वर्षहरुको तथ्याङ्क हेर्दा देशभर दैनिक एक हजार दुई सय युनिट रगत आवश्यकता पर्ने बताउनु भयो । देशभर १२० वटा रक्त सञ्चार सेवा रहेको र हाल देशभर २ लाख ६२ हजार ४ सय ८१ नियमित रक्तदाता रहेको बताउनु भयो । निर्देशक पौडेलले नेपालमा कुल जनसंख्याको ०.९ प्रतिशत नागरिक नियमित रक्तदाता रहेको बताउनु भयो । कुल जनसंख्याको १.५ प्रतिशत रक्तदाता भए नेपालमा रगतको अभाव नहुने बताउनु भयो । नेपालका रक्तदाताहरुको परोपकारी भावना रहेको र यसलाई दुई गुणा बनाउनसके चाहिएको बेला रगत दिन सकिने बताउनु भयो । १८ वर्ष उमेर पुगेपछि जन्मदिन महोत्सव रक्तदान गरेर मनाऔं भन्ने अभियानलाई पनि अघि बढाएको बताउनु भयो ।

निर्देशक पौडेलले भन्नुभयो, ‘ रगतको माग र आपूर्ति सिजन अनुसार हुनेगर्छ । वर्षाको मौसम शुरु भयो भने धेरै मानिसहरु खेतिपातीमा लाग्ने भएकाले रगत संकलन कम हुन्छ । चाड पर्वको समयमा पनि रगत संकलन न्युन हुनेगर्छ । मंसिर/पुसदेखि साउनसम्म धेरै राम्रो रगत संकलन भइरहेको हुन्छ । मंसिरदेखि पुुसमा अस्पतालहरुबाट पनि माग धेरै आइरहेको हुन्छ । विशेष अवस्था जस्तैः कोभिड, डेंगुको अवस्थामा विशेष किसिमको प्रोडक्ट आवश्यक परेको हुन्छ । त्यस्तो बेलामा हामीले रक्तदानका लागि विशेष आह्वान पनि गरिरहेका हुन्छौं । गत वर्षहरुको तथ्याङ्क हेर्ने हो भने नेपालमा दैनिक एक हजार दुई सय युनिट रगत आवश्यकता पर्छ ।’

‘त्यो भनेको वर्षको चार लाख ५० हजार युनिट रगत आवश्यकता पर्ने हो । नेपाल रेडक्रस सोसाइटीले मागको ९० प्रतिशत बढि रगत आपूर्ती गरिरहेको छ । केन्द्रिय रक्त सञ्चार सेवासँगै प्रादेशीकस्तरमा पाँच वटा रक्त सञ्चार सेवा छन् । नेपालगञ्ज, धनगढी, पोखरा, विराटनगर र चितवनमा सेवा उपलब्ध गराउँदै आएको छ । जिल्लास्तरमा २४ वटा रक्त सञ्चार सेवा छन् । समग्रमा एक सय वटा संकलन केन्द्र रक्त सञ्चार सेवाले व्यवस्थापन गरिरहेको छ । रगतको कति माग हुन्छ भन्न सकिँदैन ।’

‘गएका वर्षहरुको ट्रेण्ड हेरेर विचार गर्ने हो । नेपालमा कुल जनसंख्याको ०.९ प्रतिशत नागरिकले नियमित रक्तदान गर्नुहुन्छ । अब त्यो नियमितता बढाउन जरुरी छ । जस्तो की वर्षको चार पटकसम्म रक्तदान गर्न मिल्छ । कतिपयले एक पटक वा दुई पटक रक्तदान गरिरहनुभएको छ । त्यसैले रक्तदान गर्नेहरुको संख्या बढाउनु पर्छ । रक्तदान गर्नेहरुको संख्या बढाउन सकियो भने फाइदा हुन्छ । एउटा रगतको आपूर्ति हुन्छ । अर्को नियमित रक्तदान गर्ने सबैभन्दा सुरक्षित रक्तदाता हो ।’

निर्देशक पाठ्यक्रममै रक्तदानलाई प्रवद्र्धन गर्ने खालका विषय समावेश गर्नुपर्ने बताउनु भयो । पौडेलले संघ र प्रदेश सरकारले विपन्नहरुलाई रगतमा सहुलियत दिने व्यवस्था गर्ने प्रवन्ध मिलाउनुपर्ने बताउनु भयो । उहाँले रक्तदाताका लागि रक्तदाता हुँ भनेर गव गर्न लायक प्याकेज ल्याउनुपर्ने बताउनु भयो । पछिल्लो तथ्याङ्क अनुसार नेपाल रेडक्रस सोसाइटीबाट देशभर एक वर्षको अवधिमा २ लाख ७३ हजार एक सय ७० युनिट रगत संकलनमा ३ लाख ५२ हजार ९१९ युनिट रगत वितरण भएको छ ।