२६ असार २०८३, शुक्रबार
,
Latest
लुम्बिनी विश्वविद्यालयको बजेट तथा नीति–कार्यक्रम स्वीकृत पशुपतिमा साउने सोमबारको तयारी सुरु नेपालीको निधनप्रति यातायात व्यवसायी राष्ट्रिय महासङ्घद्वारा दुःख व्यक्त भेरी करिडोर : अस्थायी संरचनामार्फत सवारी सञ्चालन काँग्रेसद्धारा प्रतिनिधि सभा नियमावली विरुद्ध रिट दर्ता सर्लाहीमा आत्मदाह प्रयास: विवेकलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगियो विद्यार्थीलाई सुन्ने प्रवृत्तिको विकासले मात्र कक्षाकोठामा रूपान्तरण सम्भवः डा. रघु मैनाली ऊर्जामन्त्री श्रेष्ठ र अमेरिकी दूतावासका कार्यवाहक प्रमुखबीच भेटवार्ता फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकारसम्पन्न निकाय आवश्यकः गगन थापा सम्पत्ति छानबिन आयोगको कामकारबाही यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिरहामा आंशिक निषेधाज्ञा



अ+ अ-

लहान । कोभिड–१९ को सङ्क्रमण बढ्दै जाँदा सिरहामा पनि आंशिक निषेधाज्ञा जारी गरिएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समिति (डिसीसीएमसी) को बैठकले वैशाख २३ गते बिहान ६ बजेदेखि सिरहा जिल्लाभरि आंशिक निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

वैशाख २३ गतेदेखि भाडाका यात्रुबाहक तथा परिचयपत्रधारी कर्मचारीबाहेकको निजी सवारी साधन गते अनुसार जोर–बिजोरमा मात्र चल्ने निर्णय गरेको छ । यस्तै खाद्यान्न, फलफूल र तरकारी पसल बिहान ६ बजे अपराह्न ५ बजेसम्म मात्र सञ्चालन हुने निर्णय गरेको छ ।

सैलुन र जिमखाना सञ्चालन गर्न नदिने निर्णय पनि बैठकले गरेको छ भने पूर्वनिर्धारित विवाह स्थानीय तहको अनुमति लिएर मात्र २५ जनाको सहभागितामा स्वास्थ्य मापदण्ड पालना गरेर गर्नुपर्ने निर्णय भएको डिसीसीएमसी सिरहाका संयोजक तथा सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेँलले जानकारी दिनुभयो । यस्तै भारतसँग जोडिएका जिल्लाका सबै नाका बन्द गरिएकाले यसलाई कडाइका साथ कार्यान्वयन गरिने निर्णय भएको जनाएको छ । सिरहामा मङ्गलबार एकैदिन ४३ नयाँ सङ्क्रमित थपिएका छन् । योसँगै जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या १२९ पुगेको छ भने चार जनाको मृत्यु भइसकेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ ।

आज रातिदेखि तनहुँमा निषेधाज्ञा

दमौली– कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि तनहुँ जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले आज राति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा आदेश जारी गर्ने निर्णय गरेको छ । मङ्गलबार बसेको केन्द्रको बैठकले वैशाख ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । 

केन्द्रका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सागर आचार्यको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । जिल्ला समन्वय समिति तनहुँको संयोजनमा सोमबार बसेको पालिका प्रमुखहरुको बैठकले तीन दिनभित्र निषेधाज्ञा गर्न सङ्कट व्यवस्थापन केन्द्रलाई अनुरोध गर्ने निर्णय गरेको थियो । 

नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमणको जोखिम बढिरहेका बेला निषेधाज्ञा गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो । सहायक प्रजिअ बरालका अनुसार ऋषिङ गाउँपालिका–२, ३, ४, ५, ६, ७ र ८ तथा घिरिङ गाउँपालिकाका सम्पूर्ण वडाबाहेक अन्य क्षेत्रमा अतिआवश्यक कार्य र सेवाबाहेकका कार्य र सेवा गर्न नपाउने गरी निषेधाज्ञा जारी गरिएको छ । 

बैठकमा भारत र अन्य मुलुकबाट आउने व्यक्तिको निगरानी राख्न वडास्तर र टोलस्तरमा यसअघि गठन भएका समितिलाई पुनः सक्रिय बनाउने, उनीहरुलाई निगरानीमा राख्न १० दिन अनिवार्य क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाउन स्थानीय तहलाई आग्रह गर्ने निर्णय भएको छ । स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख संयोजक रहेको होम क्वारेन्टिन र होम आइसोलेशन तोक्ने एवं अनुगमन गर्ने समितिलाई पुनः सक्रिय बनाई समय–समयमा अनुगमन गरी व्यवस्थित र अनुशासित बनाउने एवं अनुगमनमा स्थानीय शिक्षक कर्मचारीलाई समेत परिचालन गराउने निर्णय बैठकले गरेको छ । बैठकले पिसिआर परीक्षणको दायरा बढाउन, शव व्यवस्थापनका लागि सबै व्यवस्थापकीय तयारीमा राख्न स्थानीय तहलाई अनुरोध गरेको छ ।

सुनसरीमा पूर्ण निषेधाज्ञा जारी

इनरुवा– जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लामा गए रातिदेखि लागू हुने गरी पूर्ण निषेधाज्ञा जारी गरेको छ । सुनसरी सदरमुकाम इनरुवामा मङ्गलबार सम्पन्न भएको डिसीसीएमसीको बैठकले जिल्लामा गए रातिदेखि यही वैशाख ३१ गते मध्यरातिसम्म पूर्ण निषेधाज्ञा लागू गर्ने निर्णयानुसार निषेधाज्ञा जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिनुभयो ।

जिल्लामा कोरोना सङ्क्रमितको दर बढ्दो क्रममा रहेकाले चेन ब्रेक गर्न पूर्ण निषेधाज्ञा गरिएको उहाँले जानकारी दिनुभयो । पूर्ण निषेधाज्ञा जारी गरेसँगै सुनसरीमा यसअघि सवारी साधनको हकमा कायम गरिएको जोर, बिजोर प्रणालीसमेत हटाइएको उहाँले बताउनुभयो । अत्यावश्यक सेवाबाहेक अन्य सवारीका साधन सञ्चालनमा रोक लगाउने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो ।

अत्यावश्यकको सूचीमा राखेका सवारी साधनमा एम्बुलेन्स, खानेपानी, इन्धन, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दुधजन्य पदार्थ, मासु तथा मासुजन्य वस्तु बोकेका सवारी सञ्चालन गर्न दिइनेछ । निषेधाज्ञालाई कडाइ गर्न सुरक्षा निकायलाई निर्देशन दिइएको उल्लेख गर्दै उहाँले यसको उल्लङ्घन गरेको पाइएमा सङ्क्रामक रोग निवारण ऐन, २०२० अनुसार कारवाही गर्ने बताउनुभयो ।

महोत्तरीमा पनि निषेधाज्ञा

जलेश्वर– महोत्तरी जिल्लामा कोरोना महामारीको दोस्रो लहर चलिरहेको बेला सङ्क्रमण दरमा अत्यधिक वृद्धि हुनुका साथै आठ व्यक्तिको मृत्युसमेत भइसकेको अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले आजदेखि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ ।

जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन समितिले जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकाभरि नै लागू हुनेगरी वैशाख २२ गते बिहान ६ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेअनुसार निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले बताउनुभयो ।

आजदेखि जिल्लाका प्रत्येक गाउँ शहरमा अत्यावश्यक दैनिक उपभोग्य वस्तु खाद्यान्न, तरकारी, फलफूल, दूध खरिदका लागि बिहान ६ बजेदेखि १० बजेसम्म र बेलुका ४ बजेदेखि ७ बजेसम्मका लागि पसल बजार खोल्ने र बाँकी समय पूर्णरुपले निषेधाज्ञा रहने प्रजिअ भट्टराईले बताउनुभयो । यसका साथै औषधि पसल, पेट्रोलपम्प र अस्पताल, क्लिनिक र स्वास्थ्य संस्था २४सै घण्टा खुला रहने जनाइएको छ ।

जिल्लाका १५ वटै पालिकालाई २० शय्याको अक्सिजनसहितको आइसोलेशन सञ्चालन गर्ने, आवश्यक स्वास्थ्य सामग्री खरिद गर्ने, सबै अस्पताल सञ्चालन गर्ने, कार्यालय तथा व्यापार व्यवसाय सञ्चालन गर्दा स्वास्थ्यका सबै मापदण्ड पूरा गर्ने, सङ्कटको बेला उपभोक्तालाई अनावश्यक ठगीबाट बचाउने, कालोबाजारी रोक्नेजस्ता निर्देशनसमेत जारी गरेको छ । निर्णयको पालना नगर्नेलाई सङ्क्रामक ऐन, २०२० र स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कानूनी कारवाहीसमेत गरिने निर्णयमा उल्लेख छ ।