२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

डाँडा र चौतारा सुनसानः हराउँदै लिङ्गे पिङ



अ+ अ-

ढोरपाटन । केही वर्ष अगाडिसम्म दसैँ नजिकिएसँगै गाउँमाथिका डाँडा र चौतारामा थुप्रै लिङ्गे पिङ देखिन्थे । बाँसका बाला र बाबियोको लुठो बाटेर पिङ बनाउने समूह पनि धेरै हुन्थे । पिङमा गाउँका आफन्त, इष्टमित्र र कुटुम्ब जम्मा भएर रमाइले गर्ने प्रचलन थियो । वर्षौंदेखि टाढा रहेका आफन्तलाई पिङ भेट गराउने माध्यम बन्थ्यो ।

दसैँ सुरु भएदेखि तिहार नसकिँदासम्म डाँडा र चौतारामा पिङ हुन्थे । तर अहिले ती डाँडा र चौतारा सुनसान हुन्छन् । अचेल गाउँमा पिङ बनाउन छोडेपछि बाँसघारी झाँगिदै छन् भने भिरको बाबियो पनि प्रयोग हुन छोडेको छ । कोही पनि वनमा पुगेर बाबियो ल्याएर डोरी पनि बाट्दैनन् । गाउँमा पिङका लागि लुठो बाट्ने सीप भएका पनि भेटिँदैनन् । दसैँको मौलिकतासँग जोडिएको लिङ्गे पिङ बिना दसैँको रौनक कम हुने गरेको स्थानीयको भनाइ छ ।

बडिगाड गाउँपालिका–४ का ६७ वर्षीय रिनबहादुर थापाले युवापुस्ताले आधुनिक कला संस्कृतिलाई अँगाल्न लागेपछि लिङ्गे पिङ बनाउनेप्रति चासो घटेको बताउनुभयो । वर्षमा एक चोटी धर्ती छाड्नुपर्छ भन्ने जनविश्वास रहँदै आए पनि आजभोली गाउँमा पिङ हाल्न छोडिएको थापाले बताउनुभयो । मेला महोत्सवमा राखिने आधुनिक प्रविधिको पिङ खेल्न पाइने भएपछि परम्परागत लिङ्गे पिङप्रति चासो हराउन थालेको क्षेत्रीले बताउनुहुन्छ । पिङसँगै अन्य कला, संस्कृति र परम्परा हराउँदै गएको उहाँको भनाइ छ । थापाले दसैँ आउनुभन्दा एक साता पहिलेनै गाउँमाथिको डाँडामा मान्छेहरु जम्मा भएर बाँसको लिङ्गा गाड्ने र बाबियो काटेर लुठो बाट्ने गरेको स्मरण गर्दै अहिले त्यो परम्परा सङ्कटमा परेको बताउनुभयो ।

“हाम्ले पिङ हालेर खेल्ने, रमाइलो गर्ने ती डाँडा र चौतारा अहिले सुनसान छन्, हामीहरु बुढो भइयो, बाब्बो ९बाबियो० को लुठो बाट्न त जानेको छु तर बाँस काटेर ल्याएर पिङ बनाउन सक्दैन, हाम्रा बाउबाजेले वर्षमा एक चोटी धर्ती छाड्नुपर्छ भन्नुहुन्थ्यो, यही मान्यता राखेर दसैँमा पिङ हाल्ने र खेल्ने गरिन्थ्यो, अहिले पिङ पनि हाल्दैनन्, पिङ नखेलेपछि धर्ती छोड्ने कुरै भएन”, उहाँले भन्नुभयो, “समय र जमाना फेरिएसँगै मान्छेको आनीबानी पनि फेरियो, मेला महोत्सव लाग्यो भने आधुनिक प्रविधिको बिजुलीबाट चल्ने पिङ खेल्ने गर्छन्, लिङ्गे पिङ त देख्न पनि छोडियो, पाँच/छ वर्ष पहिलासम्म त जताततै देख्न पाइन्थ्यो, अहिले कतै बनाउँदैनन् ।”

गलकोटन नगरपालिका–३ का ७१ वर्षीय पदमबहादुर केसीले पिङले आफन्त र धेरै समयदेखि छुटेका सङ्गीसाथीसँग भेटाउने र आत्मीयता बनाउने काम गर्ने बताउनुभयो । दसैँका बेला गाउँमा वर्षौंदेखि छुटेका आफन्तको भेट हुने, सुख, दुःख र बेदनाका कुरा गर्ने अवसर पिङले जुराउने उहाँको भनाइ छ । पिङ बनाउँदा बाबियो गाँसेर बलियो लुठो बनाए जसरी सम्बन्ध पनि त्यसरीनै बलियो बन्ने मान्यता रहेको केसी बताउनुहुन्छ । आफ्नो पालामा तन्नेरीले पिङ हालेपछि तरुनीले धजा बन्ने र पछि गएर उनीहरुको विवाहसमेत हुने गरेको सुनाउनुभयो । पिङमा बाँधेको धजाले सम्बन्धलाई बलियो बनाउने जनविश्वास रहेको भन्दै पिङ हाल्ने र धजा बाँध्ने प्रचलन चल्दै आएको उहाँको भनाइ छ ।

“दसैँ आयो, तर पिङ बिनाको दसैँ त त्यति रमाइलो लाग्दैन, पहिले एउटै गाउँमा पाँच÷छ वटा पिङ बनाउँथे, अहिले एउटा पनि बनाउँदैनन्”, उहाँले भन्नुभयो ।

केसीले पछिल्लो समय निर्माण भएका सडकले पहिले पिङ हाल्ने चौतारा र डाँडा भत्काएर कुरुप बनाएको बताउनुभयो । अहिले सहज बजारमा बनेका आधुनिक पिङको विकासले परम्परागत पिङ ओझेलमा परेको उहाँको भनाइ छ । रासस