काठमाडौं । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि मतदान सुरु भएको छ । बिहान ९ बजेदेखि देशैभर मतदान सुरु भएको हो । केन्द्र, प्रदेश र शाखाको नयाँ कार्यसमिति चयनका लागि एकै पटक मतदान सुरु भएको हो । मतदानका लागि अपराह्न चार बजेसम्मको समय तोकिएको छ । पत्रकार महासंघको सदस्यता लिएका देशभरका करिब १४ हजार पत्रकारले नयाँ नेतृत्वको लागि मतदान गर्दैछन् ।

विभिन्न पदमा उम्मेदवारी दिएका उम्मेदवारहरुले प्रत्यक्ष भेटघाटबाट, फोनमार्फत म्यासेज तथा कल गरेर एवं सामाजिक सन्जालमार्फत् भोट मागिरहेका छन् । महासंघको नेतृत्वका लागि निर्मला शर्मा, विपुल पोखरेल तथा गजेन्द्र बुढाथोकीले उम्मेदवारी दिएका छन् । उनीहरुले श्रमजिवी पत्रकारको पेशागत सुरक्षा र पत्रकार महासंघको शुद्धीकरणलाई मुख्य मुद्दा बनाएर उम्मेदवारी दिएका हुन् । शर्मा र पोखरेल प्यानलसहित अध्यक्षमा उठेका छन् भने बुढाथोकी स्वतन्त्र रुपमा नेतृत्व हाँक्न उम्मेदवारी दिएका छन् ।

दाङबाट पत्रकारिता सुरु गरेका विपुल पोखरेललेमहासंघको वरिष्ठ उपाध्यक्षमा रही काम गरिसकेका छन् । उनी संघीयतानुसार पत्रकारको क्षमता विकास गर्ने एजेन्डासहित चुनावमा उठेका छन् । उनीसँग पत्रकारहरुका लागि अस्पतालसमेत बनाउने योजना छ । यस्तै सञ्चारिका समूहकी पूर्व अध्यक्ष निर्मला शर्मा नेपाली पत्रकारितामा संसदीय, राजनीतिक रिर्पोटिङ गर्ने महिला पत्रकारमा अग्रपंक्तिमा पर्छिन् । शर्मासँग पत्रिका, रेडियो, टेलिभिजनमा काम गरेको अनुभव छ ।

पोखराबाट पत्रकारिताकै लागि राजधानी आएकी शर्माले सुरुमा श्री सगरमाथा दैनिकबाट पत्रकारिता सुरु गरेकी हुन् । उनीसँग पत्रकारको व्यवसायिक हक, हित र क्षमता अभिवृद्धि अनि नयाँ मिडियालाई अगाडि बढाउने विषयमा पनि गम्भीर रुपमा योजना बनाएर काम गर्ने एजेन्डा छ । अर्का अध्यक्षका प्रत्यासी गजेन्द्र बुढाथोकीले उदयपुरबाट पत्रकारिकता सुरु गरेका हुन् । आफूलाई ‘भुईमान्छे’ भन्न रुचाउने बुढाथोकी अपांगता भएका व्यक्ति हुन् । उनी पत्रकार महासंघमा अपांगता क्षेत्रबाट अध्यक्षमा उम्मेद्वारी दिने पहिलो व्यक्ति समेत हुन् । पत्रकार महासंघलाई पत्रकारहरुको संस्था बनाउने र दलीय सिण्डिकेट अन्त्य गर्ने उनको प्रमुख एजेन्डा रहेको छ ।

निर्मला शर्मा सत्तापक्षको प्यानलसहित चुनावमा उठेकी छन् । एमाले (केपी ओली समूह) निकट प्रेस चौतारीबाट अध्यक्षमा निर्मला शर्मा, वरिष्ठ उपाध्यक्षमा माधव नेपाल, उपाध्यक्ष (महिला)मा दाना केसी सुवेदी, उपाध्यक्ष समावेशीमा अवधेश झा, महासचिवमा बालकृष्ण बस्नेत, सचिव खुलामा रामकृष्ण ज्ञवाली, सचिव महिलामा निमा काफ्ले, सचिव आदिवासी–जनजातिमा शाहीमान राई, सचिव मधेसीमा स्वेता सिन्हा, सचिव दलितमा मधु शाही, सचिव एसोसियटमा रामेश्वर कार्की, कोषाध्यक्षमा कृष्ण गिरीले उम्मेदवारी दिएका छन् ।
अर्का अध्यक्षका प्रत्यासी विपुल पोखरेल प्रेस युनियन, प्रेस चौतारी (माधव–वामदेव निकट), प्रेस सङ्गठन, जनपत्रकार सङ्गठन लगायतको प्यानल बनाई अध्यक्षमा उठेका छन् । संयुक्त प्यानलबाट वरिष्ठ उपाध्यक्षमा युनियनकै रमेश विष्ट र महिला उपाध्यक्षमा बाला अधिकारीले उम्मेदवारी दिएका छन् । यस्तै समावेशी उपाध्यक्षमा मसाल पार्टी निकटको प्रगतिशील पत्रकार सङ्घका उदय जीएम उठेका छन् ।
महासचिवमा प्रेस सेन्टरका रोशन पुरी, सचिव खुलामा माधव नेपाल पक्ष प्रेस चौतारीका गोविन्दप्रसाद चौलागाईंले उम्मेदवारी दिएका छन् । सचिव महिलामा प्रेस युनियनका सृजना अर्याल, आदिवाशी जनजातिमा नारायण सुन्दर किलम्बु, मधेसी सचिवमा दीपेन्द्र चौहान, दलितमा हेमकर्ण विक चुनावी मैदानमा छन् । अर्का अध्याक्षका उम्मेदवार गजेन्द्रसिंह बुढाथोकीले भने स्वतन्त्र उम्मेदवारी दिएका हुन् । यस्तै महासचिव पदमा सुवोध गौतमले पनि स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।












