२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेशमा ‘लबान’ पर्व मनाइँदै



अ+ अ-

महोत्तरी: तराई-मधेशका जिल्लामा आज ‘लबान’ (नयाँ अन्न प्रचलनमा ल्याउने) पर्व मनाईँदै छ । अन्नबालीको उर्वर भूमि मानिने मधेसका जिल्लामा यज्ञादि होम गरेपछि वर्षभरिकै दैनिक उपभोग र शुभकार्यमा अन्नचल्ने मान्यता रही आएको छ । पूर्वीय मान्यतामा यावत अन्नलाई ‘धान्यादि’ भनिएको हुँदा मुख्य बाली धान होम गरेपछि सबै अन्न वर्षभरि प्रयोग गर्न सकिने मानिन्छ ।

यस पर्व सामान्यतया नयाँ धान थन्क्याएपछि मङ्सिरभरि अनुकूलताअनुसार गर्न सकिने भए पनि कात्तिक शुक्ल एकादशी (हरिवोधनी) व्रतको साङ्गतासँगै जोडेर गरिने चलन बढी छ । पछिल्ला केही दशकयता मङ्सिरमा पाक्ने रैथाने (स्थानीय) जातका धानको सट्टा चाँडै पाक्ने (कात्तिकमै) उन्नत जातका विकासे जातका धान लगाउने प्रचलन बढ्दै गएपछि कार्तिक शुक्ल द्वादशी तिथि पर्वका लागि व्यावहारिक पनि बन्दै गएको मिथिला परम्पराका ज्ञाता डा राजेन्द्रप्रसाद विमल बताउनुहुन्छ ।

यस पर्वमा नयाँ धानको चिउरा कुटेर परिवारका सबै सदस्यले चिउरा, दूध र गुँड (सख्खर) पवित्र यज्ञको अग्निमा होम गरी भगवान् विष्णुलाई अर्पित गरेपछि शेषान्न (उब्रेको) प्रसादस्वरुप खाने चलन छ । यसरी यो विधिसँगै पुरोहितलाई भोजन गराई दक्षिणा दिएर नयाँ अन्नको सिधा दान गरिन्छ । यो विधिपछि सबै अन्न वर्षभरि प्रचलन गर्न सकिने मान्यता छ । यो विधिमा ग्रामदेवता (डिहबारस्थान)को पूजा पनि गरिन्छ ।

यो विधिलाई पहाडी परम्पराका हिन्दूले ‘न्वागी खाने’ भन्ने गरेका छन् । महोत्तरी जिल्लाको सुदूरउत्तरी क्षेत्रमा घरघरैजसो नवान्न (नयाँ अन्न, हिउँदे धान)को ‘न्वागी’ खाने विधि पनि धेरैजसोले आजै सम्पन्न गर्दैछन् । मैथिल परम्परामा चिउरा मुख्य भोग लगाइने चलनजस्तै पहाडी परम्परामा भने नयाँ धानको चामल दही र सख्खरमा भिजाइएको परिकार खाइने परम्परा छ । यो परिकारलाई बोलीचालीमा ‘भिजाएका चामल’ भनिन्छ ।

पर्वका अवसरमा घरघरका आँगनमा रहने तुलसीका मठ नजिकै नयाँ धानको चामलमा घिउ (घ्यू) र तिल मुछेर वैदिक मन्त्रोञ्चारणसहित पुरोहितले होम गरेपछि नयाँ अन्न खानपिनमा वर्षभरि प्रयोग गर्न बाटो खुल्ने मान्यता रहँदै आएको छ । हिन्दूहरूको आदि भाषा संस्कृतमा सबै अन्नलाई ‘धान्यादि’ भनिएर अन्नको राजा धानलाई मानिएको मैथिल विश्वासजस्तै पहाडी चलनमा पनि धानको नयाँ फसल होम गरेर अग्नि देवतालाई चढाइएपछि सबै अन्न खानपिनमा प्रयोग गर्न सकिने धार्मिक तथा परम्परागत मान्यताले यो चलन बसेको वैदिक कर्मकाण्डका ज्ञाता बर्दिबास–१ का पण्डित रामप्रसाद बराल बताउनुहुन्छ ।

वैदिक शास्त्रमा नयाँ अन्न प्रचलनमा ल्याउनुअघि होमादि नगरिए त्यस्तो अन्न शुभकार्य र पितृकार्यमा नचल्ने पुरानो विश्वास रहेको छ । सामान्यतया मैथिल परम्पराको ‘लबान’ वा पहाडी चलनको ‘न्वागी खान’ कार्तिक शुक्ल द्वादशी नै उपयुक्त रहे पनि मार्ग (मङ्सिर) शुक्ल पञ्चमीसम्म न्वागीका लागि होमादि गर्न सकिने परम्परा रहेको भङ्गाहा–५ सीतापुरबजारका विष्णुप्रसाद शर्माको भनाइ छ ।

पर्वमा पहाडी परम्पराको होमादि गर्न कूल पुरोहित वा अन्य कर्मकाण्डी ब्राह्मण अनिवार्य हुने हुँदा आज पुरोहितहरूको व्यस्तता हुने गर्दछ । यस पर्वमा होमादि अर्पण गरी इष्टजनलाई आमन्त्रण गरेर खुवाउने खाने प्रचलन छ ।रासस