काठमाडौं । सर्वोच्च अदालतको फैसलाविरुद्ध नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता बदर गर्नेबारे परेको पुनरावलोकन निवेदन प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरासहितको बेन्चले आज सुनुवाइ गर्दैछ ।
प्रधानन्यायाधीश सहितको सो बेन्चमा न्यायाधीश तेजबहादुर केसी र प्रकाशकुमार ढुंगाना छन् । सर्वोच्च अदालतले आज निवेदनलाई निस्सा दिने कि नदिने भन्नेबारे सर्वोच्चले निर्णय गर्ने भएको हो ।
सर्वोच्चले निस्सा प्रदान गरेमा यो मुद्दाको सुनुवाइ प्रक्रिया अघि बढ्ने छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले गत चैत्र १७ गते सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दिएका थिए । सो दिन उनीसंगै वर्षमान पुन, हरिबोल गजुरेल, गिरीराजमणि पोखरेल, जनार्दन शर्मा पनि अदालत पुगेका थिए। गत फागुन २३ गते नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकतालाई सर्वोच्च अदालतले खारेज गरिदिएको थियो ।
तर पहिल्यै आफ्नो नेतृत्वको नेकपा निर्वाचन आयोगमा दर्ता भएको भन्दै अध्यक्ष ऋषि कट्टेल निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालत गएका थिए ।












