काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरूद्धको अविश्वास प्रस्ताव फिर्ता हुने भएको छ। मुख्यमन्त्रीविरूद्ध यसअघि दर्ता गरेको अविश्वास प्रस्ताव फिर्ता लिन लागेको नेकपा एमालेकी सांसद रचना खड्काले बताइन्।
पौडेललाई हटाएर अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री प्रस्ताव गरिएको थियो । पौडेलविरूद्ध अविश्वास प्रस्ताव दर्ता भएसँगै त्यसबेला आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकट्टेल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरूणप्रसाद नेपाल र सामाजिक विकास मन्त्री युवराज दुलालले राजीनामा दिएका थिए।गत पुस १० गते पौडेलविरूद्ध ४५ जना सांसदको हस्ताक्षरसहित अविश्वास प्रस्ताव राख्दै तीन जना मन्त्रीले राजीनामा दिएका थिए।
तत्कालीन नेपाल कम्युनिष्ट पार्टी नेकपाका ४५ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री पौडेलविरूद्ध प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता भएको थियो। उक्त प्रस्ताव प्रदेश सभामा टेबुलसमेत भएको थियो।












