२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘बहुसंस्कृतियुक्त लोकतान्त्रिक समाज निर्माणबाट मात्र राष्ट्रिय एकता बलियो’



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बहुसंस्कृतियुक्त लोकतान्त्रिक समाज निर्माणबाट मात्र राष्ट्रिय एकता बलियो हुने बताउनुभएको छ । उहाँले यो भावलाई सदैव दृढताका साथ सङ्कल्प गरी अघि बढ्नुको विकल्प नभएको उल्लेख गर्नुभयो ।

ललितपुरको थेचोमा नवदुर्गा भवानी देवी १२ वर्षे जात्रा समापन समारोहलाई आज सम्बोधन गर्नुहुँदै उहाँले भन्नुभयो, “नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक हो । हाम्रा समृद्धशाली मूर्त र अमूर्त सांस्कृतिक धरोहर सम्पदा राष्ट्रिय एकता सबलीकरण गर्ने विशिष्ट माध्यमका रूपमा परिचित छन् । यी सांस्कृतिक परम्पराहरूले नेपालको राष्ट्रिय एकता र अखण्डतालाई मजबुत बनाउन अहम् भूमिका खेलेका छन् ।”

प्रधानमन्त्री दाहालले आफ्नो संस्कृतिको संरक्षण र संवद्र्वन गर्नु सबैको दायित्व भएको बताउनुभयो । नेपालको संविधानले नै धार्मिक स्वतन्त्रता कायम गरी प्रत्येक नेपाली समुदायलाई आफ्नो भाषा, लिपि, सांस्कृतिक सभ्यता र सम्पदाको संरक्षण गर्ने हकको व्यवस्था गरेको उहाँले उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री दाहालले विभिन्न कालखण्डमा मानव समुदायले सिर्जना गरेर छाडेका भौतिक सम्पदा र त्यसअनुरूपको जीवनशैलीको समष्टिगत रूप नै नेपालको राष्ट्रिय संस्कृति भएको बताउनुभयो । “अहिले देशमा एकथरी तत्वहरू सांस्कृतिक विविधता, समुदायको पहिचान र अधिकारलाई संस्थागत गरिएको संविधान तथा लोकतान्त्रिक गणतन्त्रविरुद्ध भ्रम छर्ने दुस्साहस गरिरहेका छन्”, उहाँले भन्नुभयो, “लोकतन्त्रमा मात्रै सबै संस्कृति समानरूपमा मौलाउन र विकास हुन सक्छन् । त्यसैले संस्कृति रक्षाका लागि, पहिचान, सम्मान र न्यायमा आधारित समाज निर्माण गर्न अहिलेको व्ववस्था उल्ट्याउन खोज्ने तत्वहरुविरुद्ध सङ्घर्ष गर्ने र जनस्तरबाटै प्रतिरोध आवश्यक छ ।”

उहाँले धार्मिक, सांस्कृतिक, प्राकृतिक तथा पर्यटकीय दृष्टिले अनेकौँ सामथ्र्य र सम्भावनाको केन्द्र रहेको गोदावरी नगरपालिकामा आयोजना हुने ऐतिहासिक महत्वको १२ वर्षे नवदुर्गा जात्राको भव्य सफलताको कामना गर्नुभयो ।

कार्यक्रममा नवदुर्गा भवानीसँग सम्बन्धित विभिन्न नाच प्रस्तुत गरिएको थियो । सो अवसरमा नेकपा (माओवादी केन्द्र)का नेताहरु राजकाजी महर्जन, बिना मगरलगायतको उपस्थिति थियो । रासस