काठमाडौ । नेकपा(एमाले) का नेता योगेश भट्टराईले पार्टी कमिटीहरु २०७५ साल जेठ २ गते अघिको पूर्ववत्ः अवस्थामा फर्काउनुपर्ने र त्यसका निम्ति प्रधानमन्त्री ओलीले पहलकदमी लिनुपर्ने बताउनु भएको छ ।
बालुवाटारमा बसेको एमाले संसदीयदलको बैठकमा नेता भट्टराईले भन्नुभयो "फागुन २३ गतेको सर्वोच्च अदालतको निर्णयले हामीलाई पूर्ववत् पार्टीमा फर्काएको अवस्थामा पार्टीको संसदीय दल जसरी पूर्ववत् अवस्थामा अगाडि बढ्यो त्यसै गरीकन पार्टी केन्द्रीय कमिटी र पार्टी मातहतका सम्पूर्ण कमिटीहरु पनि २०७५ जेठ २ गतेको अवस्थामा फर्कौं र त्यहाँबाट नयाँ ढंगले पार्टीलाई एकतावद्ध बनाएर लैजाऔं यसमा मुलुकको प्रधानमन्त्री हुनुको नाताले र यो पार्टीको अध्यक्ष हुनुको नाताले तपाईले पहलकदमी लिनुहोस् ।" नेता भट्टराईले हिजोका कतिपय तितामिठा कुराहरुलाई विर्सौं भन्दै उत्तेजित भएर होइन संयम र धैर्यताका साथ अगाडि बढ्नु आग्रह गर्नुभयो ।
भट्टराईले भन्नुभयो " किनभने परिस्थिति निकै खतरा छ र निकै चुनौतिपूर्ण छ । यो मुलुकले नेकपा एमालेको एकता खोजेको छ सिंगो बामपन्थीहरुको एकता खोजेको छ, सरकारको स्थायित्व खोजेको छ र जनमतको कदर गर्ने कुरा पनि खोजेको छ । त्यसकारण सर्वोच्च अदालतले जुन प्रतिनिधि सभाको पुनस्थापना गरेर मुलुकमा एउटा लोकतन्त्र र संविधानको रक्षा गरेको छ अब हामीले राजनीतिक स्थायित्व दिउँ, पार्टीको एकतालाई सुदृढ गर्रौं, जनताको अपेक्षालाई पुरा गरौं । " नेता भट्टराईले आफुले राखेको कुरालाई प्रधानमन्त्रीले गम्भिरताका साथ लिनुभएको अनुमान गर्दे आजको बैठकलाई प्रधानमन्त्रीले एउटा नयाँ घटनाको रुपमा पनि चित्रित गर्नुभयो । आज एउटा नयाँ घटना घट्यो अस्ति भाग लिन नआउनुभएको साथिहरुपनि आउनुभयो यसले एउटा नयाँ परिस्थिति निर्माण गरेको छ म सँधै खुल्ला छु छलफल गरौं भन्नेकुरा गर्नुभएको छ प्रधानमन्त्रीको भनाई उद्यृत गर्दे नेता भट्टराईले भन्नुभयो ।












