२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’ जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ ‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’ सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

लमजुङमा ‘हाइ अल्टिच्युड’को प्याराग्लाइडिङ विद्यालय स्थापना



अ+ अ-

काठमाडौँ । लमजुङमा ‘हाइ अल्टिच्युड’को प्याराग्लाइडिङ विद्यालय सञ्चालनमा आएको छ । लमजुङको दोर्दी गाउँपालिका–८ थोँतीमा बाबु एडभेञ्चर प्याराग्लाइडिङ कम्पनीले उक्त विद्यालय सञ्चालनमा ल्याएको हो ।

तीन हजार नौ सय मिटर उचाइमा रहेको उक्त विद्यालयमा  उच्च हिमाली भेगमा कसरी प्याराग्लाइडिङमा उड्ने र उडान गर्नेबारे सीप सिकाइने कम्पनीका सञ्चालक सानोबाबु सुनुवारले जानकारी दिनुभयो । नागरिक उड्डयन प्राधिकरणको स्वीकृति र स्थानीय तहसँगको सहकार्यमा विद्यालय सञ्चालन गरिएको उहाँको भनाइ छ ।

प्याराग्लाइडिङ विद्यालय सञ्चालन गर्न आवश्यक पूर्वाधारका लागि दोर्दी गाउँपालिकाले समेत सहयोग गरेको गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले बताउनुभयो । गाउँपालिकामा रहेको भेडीगोठ सहितका अन्य पर्यटकीय गन्तव्यको प्रवद्र्धनका लागि पनि प्याराग्लाइडिङ विद्यालय महत्वपूर्ण हुने उहाँको भनाइ छ ।

पालिकामा प्याराग्लाइडिङ विद्यालय स्थानीयका लागि समेत नयाँ अवसर भएको अध्यक्ष अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “पर्यटकीय क्षेत्रमा नै विद्यालय सञ्चालन हुँदा स्थानीयलाई रोजगारी प्राप्त हुन्छ । यसबाहेक स्थानीयले तालिम समेत लिन मिल्ने भएपछि रोजगारीको समेत अवसर हो ।”

बाबु एडभेञ्चर प्याराग्लाइडिङ कम्पनीले नौ वर्षदेखि स्याङजाको भीरकोट नगरपालिका–५ स्वरेक मैदानमा प्याराग्ग्लाइडिङ विद्यालय सञ्चालन गर्दै आएको छ । प्याराग्लाइडिङ विद्यालयसँग सहकार्य र सहयोगका लागि विभिन्न कम्पनीले चासो देखाएका छन् । हालैमात्र रेडबुलको ‘एड्भेन्चर’ टोली नेपाल आएर विद्यालयको अवलोकन गरेको थियो । त्यसपश्चात उनीहरुले विद्यालयसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएको सञ्चालक सुनुवारले बताउनुभयो ।

नेपालमा हिमाल आरोहणका लागि मात्रै नभई विदेशी पर्यटक ‘हाइ अल्टिच्युड’ प्याराग्लाइडिङका लागि आउने नेपाल हवाई खेलकुद संस्था (ना) का निवर्तमान अध्यक्ष कृष्ण भट्टराईले बताउनुभयो । सामान्य प्याराग्लाइडिङ विश्वको धेरै ठाउँमा उपलब्ध रहेको भए पनि हाइ अल्टिच्युड भने नभएको उहाँको भनाइ छ ।

नेपालमा हाइ अल्टिच्युड प्याराग्लाइडिङको अत्यधिक सम्भावना रहेकाले उक्त विद्यालय महत्वपूर्ण हुने भट्टराईको विश्वास छ । “नेपालमा प्याराग्लाडिङ र साहसिक पर्यटनका लागि धेरै उत्कृष्ट गन्तव्य छन्”, उहाँले भन्नुभयो । विद्यालय सञ्चालनले साहसिक प्याराग्लाइडिङ उडानमा दक्ष जनशक्तिको उत्पादन र विदेशी मुद्रा आर्जनमा समेत सहयोग पुग्ने उहाँको विश्वास छ ।  रासस




भर्खरै