२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कलाकारका सृजनाले राष्ट्रको पहिचान दिन्छ: राष्ट्रपति पौडेल



अ+ अ-

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सङ्गीतमा नेपाली लोकजीवन, मौलिकपनको विकास र विस्तार एवं संरक्षण गर्नुपर्ने बताउनुभएको छ ।

नातिकाजी स्मृति समाजले शीतलनिवासमा आज आयोजना गरेको नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपाली सङ्गीतमा विभिन्न जातजातिका बाजा, भाका, गीत, सङ्गीतका आफ्नै परिवेश, मौलिक धुन, विशिष्ट शैली र महत्व रहेको र त्यसको जगमा नै नेपाली राष्ट्रिय सङ्गीतको विकास हुँदै आएको धारणा व्यक्त गर्नुभयो ।

“सृजना राष्ट्रका सम्पदा, संस्कृति राष्ट्रका पहिचान र कलाकार राष्ट्रका अमूल्य निधि हुन्”, उहाँले भन्नुभयो, “कलाकार सृर्जना र संस्कृतिका संवाहक हुन्, कलाकारका साधनाबाट सिर्जित सृजनाले राष्ट्रको पहिचान स्थापित गर्नेगर्छ ।”

उहाँले नेपालको भौगोलिक विविधता र सांस्कृतिक विशिष्टता नै विश्वमा पृथक पहिचानका रुपमा रहेको र यहाँको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषता विश्वमै नमूना रहेको उल्लेख गर्दै नेपाली समाजको विविधतालाई यिनै लोकसंस्कृति, गीत र सङ्गीतले एकढिक्का बनाउन सघाएको बताउनुभयोे ।

राष्ट्रपति पौडेलले नेपाली लोक भाका पछ्याउँदै नेपाली आधुनिक गीत सङ्गीतको सृजनामा नातिकाजीले पुर्‍याउनुभएको योगदान अतुलनीय रहेको स्मरण गर्नुभयो । नेपाली गीत–सङ्गीतको क्षेत्रमा जीवनभर लाग्नुहुने स्रष्टालाई राज्यको तहबाटसमेत उचित महत्व दिँदै जानु नेपाली राष्ट्रिय हितकै विषयसमेत भएको उहाँले बताउनुभयो ।

सो समारोहमा नातिकाजी स्मृति समाजका अध्यक्ष शम्भुजित बास्कोटाले यो सम्मानबाट कला क्षेत्रलाई थप उत्पे्ररणा मिलेको बताउनुभयो । उहाँले स्रष्टाहरुका नाममा राज्यले पनि पुरस्कार स्थापना गरेर नवप्रतिभा तथा राष्ट्रका समग्र प्रतिभालाई प्रेरणा प्रदान गर्नुपर्ने सुझाव दिनुभयो ।

अध्यक्ष बास्कोटाले स्रष्टाहरुका सृजनाको सुरक्षा हुन नसकेको तथा मुलुकका स्रष्टाहरुले राम्रोसँग रोयल्टी पनि पाउन नसकेकाले यस विषयमा राम्रो कानुनको आवश्यकता रहेकामा पनि जोड दिनुभयो ।

सो समारोहमा नातिकाजी राष्ट्रिय विशिष्ट सङ्गीत सम्मान वरिष्ठ गीतकार आनन्द अधिकारी, वरिष्ठ वाद्यवादक केशव सुनाम, वरिष्ठ गीतकार भुषण खरेल, वरिष्ठ गीतकार सुनिल थापा, वरिष्ठ परम्परागत वाद्यवादक धर्म मुनिकार, वरिष्ठ गायक सुदेश शर्मा, वरिष्ठ वाद्यवादक कुमार सिंह र सुवर्ण लिम्बू, वरिष्ठ गीतकार राम भट्टराई र वसन्त वित्यासी थापालाई प्रदान गरिएको थियो ।

त्यस्तै, नातिकाजी राष्ट्रिय सङ्गीत पुरस्कार गीतकार विजय शिवाकोटी, सङ्गीतकार राजनराज शिवाकोटी, गायक शिशिर योगी र बानिका प्रधानलाई प्रदान गरिएको थियो ।

त्यसैगरी, नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार गायक सञ्जय तुम्रोक , गायिका रचना रिमाल, सङ्गीतकार शशिविक्रम थापा, गीत रेकर्डिष्ट प्रकाश मिश्रलाई तथा नातिकाजी राष्ट्रिय लोकसङ्गीत पुरस्कार लोकगायक अमृत खाती र नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार शान्ति प्रिया र कृष्ण भट्टराईलाई प्रदान गरिएको थियो ।

कार्यक्रममा गायक सञ्जय तुम्रोक, शिशिर योगी, सुदेश शर्मा गायिका रचना रिमाल र बानिका प्रधानले नातिकाजीले संगीत गर्नुभएका गीतहरु प्रस्तुत गर्नुभएको थियो ।  रासस