२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानुङकोटको खानेपानी समस्या समाधान हुँदै



अ+ अ-

डुम्रे । तनहुँको व्यास नगरपालिका–५ स्थित मानुङकोटमा खानेपानी समस्या समाधान हुने भएको छ । पछिल्लो समय सामाजिक सञ्जालमार्फत चर्चामा आएको पर्यटकीयस्थल मानुङकोटमा पानीको चरम अभाव थियो । सङ्घीय सरकारबाट चालु वर्षमा रु दुई करोड बजेट विनियोजन भएपछि यस स्थानमा पानी ल्याउन ट्याङ्की निर्माण हुन थालेको छ ।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले समपूरक योजनाअन्तर्गत खानेपानी योजनालाई प्राथमिकतामा राखेर मानुङकोटमा खानेपानीको ट्याङ्की निर्माण गर्न थालिएको बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँको खानेपानीको समस्या सम्बोधन गर्न नगरपालिका प्रतिवद्ध छ । हामी स्थानीयलाई यही फर्कने वातावरण बनाउँदैछौँ । यहाँको खानेपानी समस्या सम्बोधन हुन्छ ।”

व्यास–५ का वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले अबको एक हप्तामा खानेपानीको मुहान निश्चित हुने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “करिब छ–सात किलोमिटरको दूरीबाट खानेपानी बोरिङ गरेर ल्याउनेछौँ । केही मुहानमा विवाद हुँदा ढिलाइ भएको छ । समन्वय गरिरहेका छौँ ।” पानी ल्याउने मुहान सुनिश्चित भएपछि पानीको समस्या टर्नेछ ।

यस ठाउँसँग जोडिएको पौराणिक किंवदन्ती रहेको छ । मानुङकोट डाँडाबाटै कुहिरोको उत्पत्ति भएको मानिन्छ । महर्षि वेद व्यासकी माता मात्स्यगन्धासँग महर्षि परासर प्रेममा हुनुहुन्थ्यो । मत्स्यगन्धासँगको प्रेमलीला अरुले नदेखुन् भनेर महर्षि परासरले कुहिरोको उत्पत्ति गराएको कथनसमेत रहिआएको छ । मानुङकोटबाट पूर्वतर्फ दमौली बजारका साथै पश्चिमतर्फ गुणादी, उत्तरतर्फ मादी नदी, साँगेखोला र दक्षिणतर्फ सेती नदी छर्लङ्ग देखिन्छ ।

यसका साथै रमणीय हरियाली वनजङ्गल देखिन्छन् । विगतमा घण्टौँ लगाएर पानी ल्याउनुपर्ने बाध्यता भएपछि यहाँका स्थानीय बसाइँ सरी मानुङकोटको फेदीतर्फ झरे । पानी सहज हुने स्थानतर्फ झरेका स्थानीय यहाँ पर्यटक आगमन बढ्न थालेपछि फर्किन थालेका हुन् । करिब पाँच वर्षयता मानुङकोट पर्यटकीयस्थलका रूपमा विकसित हुँदै गएको छ ।

विगतमा करिब ५०–६० घरधुरी बस्दै आएकामा पानीको समस्या भएपछि मानुङकोटको फेदी अलैचे, पाटनतर्फ झरेका हुन् । मानुङकोटमा केही सुविधासम्पन्न होटल बन्ने क्रममा छन् । तर पानीको अभाव कहिले पूर्ति हुन्छ भनेर अपेक्षामा रहेका होटल व्यवसायी खानेपानी ट्याङ्की बन्न लागेपछि खुसी छाएको व्यवसायी चुडामणि दाहालले बताउनुभयो । उहाँले भन्नुभयो, “सुविधासम्पन्न होटल बन्दै गए पनि पानीको समस्या हल नहुँदासम्म सकस नै रहेको छ । अब ती समस्या एक वर्षमा पूरा हुने अपेक्षा गरिएको छ ।” योजना निर्माणको काम हुने अवस्था पुगेकाले अब छिट्टै सहजता कायम हुने पूर्वजनप्रतिनिधिसमेत रहनुभएका दाहालले बताउनुभयो ।

यहाँबाट देखिने कुहिरो, हिमशृङ्खला र सूर्योदय पर्यटकको आकर्षणका दृश्य हुन् । हिउँद सुरु भएसँगै कुहिरोले सदरमुकाम दमौली बजारलाई छोप्छ । घाम उदाउन लागेसँगै कुहिरो विस्तारै फाट्ने गर्दछ र दमौली बजार छर्लङ्ग देखिन्छ । यससँगै हिमशृङ्खला पनि सुन्दर देखिने गर्दछन् । यही हिमशृङ्खला र डाँडाबाट देखिने चारैतिरको सुन्तरता हेर्न पर्यटक लालायित हुने गर्दछन् । मानुङकोटबाट धवलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ । यहाँको लोभलाग्दो दृश्यले पर्यटकलाई आनन्दित तुल्याउने गरेको छ ।

यी मनोरम दृश्यालोकनका लागि आउने पर्यटककै कारण अन्यत्र पुगेका यहाँका स्थानीय गाउँ फर्किन थालेका हुन् । पर्यटकीय क्षेत्रका रूपमा मनुङकोट विकास हुँदै जाँदा यहाँ स्थानीय होटल व्यवसायमा संलग्न हुन थालेका छन् । मानुङकोट पर्यटकीयस्थलका रूपमा विकास हुँदै गएपछि पानीको अभावले रित्तिएको बस्ती अहिले पर्यटकीयस्थलका रूपमा विकास भएसँगै स्थानीय फर्किन थालेका हुन् ।