२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘क्वार्ज क्रिष्टल’ गोरखा दरबारमै राखिने, सुरक्षाको जिम्मेवारी जिल्ला सुरक्षा समितिले निर्धारण गर्ने



अ+ अ-

गोरखा । गत असारमा गोरखा नगरपालिका–७ सतिपिपलस्थित एक घरबाट बरामद गरिएको टल्कने ढुङ्गा अर्थात ‘क्वार्ज क्रिष्टल’ गोरखा दरबार परिसरमै राख्ने निर्णय गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय गोरखाको आयोजनामा शनिबार बसेको सर्वपक्षीय बैठकमा जिल्ला प्रहरी कार्यालय गोरखामा राखिएको ‘क्वार्ज क्रिष्टल’ ऐतिहासिक गोरखा दरबार परिसरमा राख्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिनुभयो ।

पुरातात्विक, ऐतिहासिक महत्व रहेको भनिएको बहुमूल्य ‘क्वार्ज क्रिष्टल’ बिक्री गर्न लागेको आशङ्कामा गोरखा प्रहरीले नियन्त्रणमा लिएको थियो । लामो समयदेखि प्रहरी कार्यालयमा रहेको उक्त ‘क्वार्ज क्रिष्टल’ जिल्लाभित्रै व्यवस्थापन गर्नुपर्ने जिल्लावासीले पनि माग गर्दै आएका थिए ।

“मन्त्रालयले पत्राचार गरी जिल्लामै व्यवस्थापन गर्नु भनेका कारण सर्वपक्षीय बैठकले निर्णय गरेर दरबारमा राख्ने निर्णय गरिएको हो”, उहाँले भन्नुभयो, “यो सम्पत्ति गोर्खालीको भएकाले सर्वसम्मतरूपमा गोरखा दरबारमा राख्ने सहमति भएको छ ।”

प्रमुख जिल्ला अधिकारी दाहालले दरबारमा राखिने ‘क्वार्ज क्रिष्टल’ को सुरक्षाको जिम्मेवारी भने जिल्ला सुरक्षा समितिले निर्धारण बताउनुभयो । ‘क्वार्ज क्रिष्टल’को राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चर्चा चलेकाले सुरक्षामा विशेष ध्यान दिइने उहाँको भनाइ छ ।

‘‘यसको सुरक्षाको विषयमा हामी गम्भीर छौँ, सुरक्षाका सबै विधि अपनाएर भए पनि अब तत्काल दरबार परिसरमा राख्छौँ”, उहाँले भन्नुभयोे “यसले गोरखाको धार्मिक पर्यटनमा समेत यसले टेवा पुग्ने अपेक्षा गरिएको छ ।”

गोरखा दरबार र गोरखाकाली मन्दिर बीचको खाली भागमा सबैले हेर्न मिल्ने गरी उक्त क्वार्ज क्रिष्टल राखिने छ । दरबारमा क्वार्ज क्रिष्टल व्यवस्थापनका लागि लाग्ने सम्पूर्ण खर्चको व्यवस्थापन भने गोरखा नगरपालिकाले गर्नेछ ।

बैठकमा गोरखा नगरपालिका नगरप्रमुख कृष्णबहादुर रानामगरले धार्मिक पर्यटनका हिसाबले समेत क्वार्ज क्रिष्टललाई गोरखा दरबार परिसरमा नै राख्नु उपयुक्त हुने भएकाले सर्वसम्मतरूपमा दरबारमा राख्ने निर्णय गरिएको जानकारी दिनुभयो ।

भूगर्भविद्को टोलीले गोरखामै आएर दुई दिन लगाएर गरेको परीक्षणबाट उक्त ढुङ्गा महत्त्वपूर्ण र बहुमूल्य रत्नपत्थर (क्वार्ज क्रिष्टल) भएको पत्ता लागेको थियो । संसारभरका धातुलाई कडापनका आधारमा १० भागमा वर्गीकरण गर्ने गरिएकामा बरामद गरिएको ढुङ्गा सातौँ नम्बरमा पर्ने भूगर्भविद्ले जानकारी गराएका थिए । उक्त ढुङ्गाको तौल ५२ किलो तीन सय ३० ग्राम छ । गत असार १४ गते प्रहरीले उक्त टल्कने ढुङ्गा सतिपिपलस्थित स्थानीयवासी राममाया शाहीको घरबाट बरामद गरेको थियो । रासस