२६ असार २०८३, शुक्रबार
,
Latest
वन संरक्षणको सन्देश बोकेको लुम्बिनी प्रदेशको सचेतनामूलक म्युजिक भिडियो सार्वजनिक डा. मित्रबन्धु पौडेलको पुस्तक ‘इमोसनल इन्जेलिन्स: पर्स्पेक्टिभ अन फ्याकल्टी रिटेन्सन’ लोकार्पण तयार भयो चिया क्षेत्र अध्ययन प्रतिवेदन, भारतीय अवरोध हटाउन र तेस्रो मुलुकमा बजार विस्तार गर्न… संवैधानिक निकायका प्रतिवेदन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छः मन्त्री गौतम राष्ट्रपतिसँग युएईका वैदेशिक व्यापारमन्त्रीको भेट नेपालीको जीवन रक्षाका लागि भारत लैजाने तयारी थियो : गृहमन्त्री गुरुङ मृत्यु/अशक्त वैदेशिक श्रमिकका ३ हजार ३६३ सन्तानलाई छात्रवृत्ति यातायात कानुनलाई लगानीकर्ता र यात्रुमैत्री बनाइनेछ : मुख्यमन्त्री बानियाँ निर्वाचन आयोग, राष्ट्रिय सुरक्षा परिषद् र महिला आयोगको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेश राष्ट्रपति पौडेलद्वारा तीन वटा विधेयक प्रमाणिकरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति पौडेलद्वारा ऐतिहासिक खड्गकालिका मन्दिर उद्घाटन



अ+ अ-

दमौली । राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका–११ तनहुँसुरमा अवस्थित ऐतिहासिक खड्गकालिका मन्दिरको आज उद्घाटन गर्नुभएको छ । सप्ताहव्यापी विश्वसम्पदा दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले उक्त मन्दिरको उद्घाटन गर्नुभएको हो ।

पुरातत्व विभागको आर्थिक सहयोगमा विसं २०७८ चैतदेखि पुनर्निर्माण सुरु भएको ऐतिहासिक महत्वको मन्दिर उद्घाटनका लागि पौडेल आजै गृह जिल्ला आइपुग्नुभएको थियो । कार्यक्रममा संविधानसभा सदस्य रामचन्द्र पोख्रेल, गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठ, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेलगायत सहभागी हुनुहुन्थ्यो ।

सन् १६७५ तिरका पाल्पाका शक्तिशाली राजा मुकुन्दसेनले शासन गरेको तनहुँसुरमा जीर्ण अवस्थामा रहेको खड्गकालिका मन्दिर रु ५० लाखको लागतमा पुनर्निर्माण सुरु गरिएको थियो ।

तनहुँसुरमा रहेको दरबारको विसं २०७६ मा पुरातत्व विभागले उत्खनन् गरेको थियो । सोही दरबारको नजिकै रहेको खड्गदेवी मन्दिरको पुनर्निर्माण गरिएको हो । जीर्ण अवस्थामा रहेको मन्दिर पुरानै शैलीमा पुनर्निर्माण गरिएको वडाध्यक्ष दलबहादुर दुराले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त मन्दिरमा तत्कालीन सेन वंशीय राजाले पूजाआजा गर्ने गरेको किंवदन्ती छ ।

खड्गकालिकाको शेषका रुपमा तनहुँको व्यास–४ दमौलीमा पनि तनहुँ कालिका मन्दिर निर्माण गरिएको छ ।

तनहुँ जिल्लाको नाम तनहुँसुरबाट अप्रभंस भएर रहेको भन्ने किंवदन्ती छ । पाल्पाका राजा मणिमुकुन्द सेनले आफ्ना जेठा छोरा भृङ्गीसेनलाई सन् १६१० मा तनहुँमा राज्य सञ्चालन गर्न पठाएको र उनी पछिका आठ सेनवंशी राजाले दुई सय ३० वर्ष तनहुँसुरबाट राज्य सञ्चालन गरेको इतिहास रहेको छ ।

तनहुँसुर दरबारका अवशेष, राजपरिवारले प्रयोग गरेका किल्ला र गढीहरु, धारा, तोप तथा अन्य हातहतियार, बारुदीखाना, राजाले न्यायनिसाफ तथा कचहरी सञ्चालन गर्ने गद्दीचौतारा, साउने कुवा, कुँडापानी, बाइससिंढी चौतारी, ढुङ्गेसाँगु, फूलपाती ढुङ्गा, रानीपोखरी, धर्मशाला, रानीबगैँचा, भगवती पानी मन्दिर यहाँका पर्यटकीय सम्पदा हुन् ।