२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिका, उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेलको विजेता भएको छ । गोदावरी नगरपालिका वडा नं. १० टाहाखेल वहुउद्देश्यीय रङ्गशालामा आज चन्द्रागिरी नगरपालिकाको टीमसँग भएको फाइनल खेलमा २—१ अन्तरले महानगरपालिका विजेता भएको हो । यससँगै महानगरपालिकाले नगद ५ लाख रुपैयाँसँगै ट्रफी प्राप्त गरेको छ । यस्तै खेलाडीहरुलाई पदक र मेडल प्रदान गरिएको छ ।

खेलमा काठमाडौँ महानगरपालिकाका प्रशिक्षक सन्तोष न्यौपानेले उत्कृष्ठ प्रशिक्षक, किपर सुदीप गिरीले उत्कृष्ट किपर र एरिक विष्टले उत्कृष्ठ खेलाडी उपाधि प्राप्त गर्नुभयो । आजको खेलको म्यान अफ द म्याच महानगरका खेलाडी अखिलेश कार्कीले प्राप्त गर्नुभयो ।

प्रशिक्षक सन्तोष न्यौपानेको प्रशिक्षण, पूर्व राष्ट्रिय खेलाडी विराज महर्जनको कप्तानी र नविन चित्रकारको टीम व्यवस्थापनमा महानगरपालिकाका खेलाडीले प्रतिस्पर्धा गरेको थियो । टीममा सुदीप गिरी (किपर), असीम गुरुङ्, सरोज तामाङ्, आदिल हामिद, अनिल खड्का, एरिक विष्ट, राज पौडेल, दिपेश श्रेष्ठ, अखिलेश कार्की र राजीव लोप्चन पहिलो १२ खेलाडीका रुपमा खेल्नुभएको टीम व्यवस्थापक चित्रकारले जानकारी दिनुभयो ।

फाइनल खेलको प्रतिस्पर्धा अवलोकन गर्न महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलसहित पदाधिकारी गोदावरी पुग्नुभएको थियो । खेलमा आफ्नो टीम विजेता भएपछि महानगरपालिकाको पहिचानमा खेल विधा थपिएको प्रतिक्रिया दिनुभयो । खेलको विकासका लागि खेलाडीहरुलाई प्रोत्साह गरिने, खेलको पूर्वाधार निर्माण गरिने उहाँको भनाइ थियो ।

महानगरपालिकाले वैशाख २० गते बुढानीलकण्ठ नगरपालिकाको टीमसँग पहिलो खेल खेलेको थियो । खेलमा ४—३ अन्तरले महानगरपालिका क्वाटर फाइनल खेलमा प्रवेश गर्‍यो । खेलको ९० औँ मिनेटसम्म पनि कुनै टोलीबाट गोल नभएपछि पेनाल्टीबाट निर्णय गरिएको थियो । पेनाल्टीमा सरोज तामाङ्, मनिष सेढाईँ, असिम गुरुङ् र एरिक विष्टले गोल गर्नुभएको थियो ।

क्वाटर फाइनल खेल गोदावरी वी टीमसँग खेलेको थियो । यस खेलमा २–१ अन्तरले महानगरपालिकाको टीम सेमीफाइनल चरणमा प्रवेश गर्‍यो । यस खेलमा महानगरपालिकाका लागि दुवै गोल राज पौडेलले गर्नुभएको थियो ।

मध्यपुर थिमी नगरपालिकाको टीमसँग भएको सेमी फाइनल खेलमा १–० अन्तरले महानगरपालिकाको टीम फाइनल चरणमा प्रवेश गर्‍यो । ललितपुरको च्यासल फुटबल ग्राउण्डमा भएको खेलमा महानगरपालिकातर्फबाट जर्सी नम्बर ९ का मनिष सेढाईले गोल गर्नुभएको थियो ।

यस्तै चन्द्रागिरी नगरपालिकाले वागमती गाउँपालिका, नागार्जुन नगरपालिका र महालक्ष्मी नागार्जुन नगरपालिकाको टीमलाई पछि पार्दैै फाइनलमा प्रवेश गरेको थियो ।