२४ जेष्ठ २०८३, आईतवार
,
Latest
मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तपुरमा ‘वः महोत्सव’ सम्पन्न



अ+ अ-

भक्तपुर: भक्तपुरमा आज आयोजित ‘वः महोत्सव’ सम्पन्न भएको छ । नेवारी खानाका परिकार प्रवर्द्धन गर्ने उद्देश्यले मध्यपुर पर्यटन विकास समितिको आयोजना र मध्यपुरथिमि नगरपालिकाको सहकार्यमा आयोजित वः महोत्सव तथा ग्रीन भेजिटेबल एक्स्पो–२०२४ मा उपत्यकाका ख्यातिप्राप्त १८ वटा नेवारी रेष्टुराँ तथा स्थानीय किसान तथा महिला समूहलगायतका स्टल रहेका समितिका अध्यक्ष रमेश प्रजापतिले जानकारी दिनुभयो ।

मध्यपुरथिमिको मध्यभाग अर्थात् वडा नं ७ नगदेशको प्राङ्गणमा महोत्सवको उद्घाटन गर्दै मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले महोत्सवमार्फत मध्यपुरको मात्र नभई भक्तपुरकै पर्यटन प्रवर्द्धन भएको बताउनुभयो ।

महोत्सव अवलोकनपछि प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा)का उपाध्यक्ष सुमन पाण्डेले बन्दीपुरको पर्यटनको शैलीमा मध्यपुरथिमिको पर्यटन विकास गर्नुपर्नेमा जोड दिनुभयो । महोत्सवमा परम्परागत तथा सांस्कृतिक उत्पादन तथा हस्तकलाका सामान बिक्री वितरण गरिएको थियो ।

महोत्सवमा वःका विभिन्न परिकार राखिएका थिए । अध्यक्ष प्रजापतिका अनुसार नेवार समुदायमा जन्मदेखि मृत्यु र मृत्युपछि श्राद्धसम्म, विभिन्न चाडपर्व मनाउन र देवी–देवतालाई चढाउन वःका परिवारको प्रयोग गरिन्छ । महोत्सवमा चटामरी, योमरी, गाजरको रक्सी, चुकन्दरको रक्सी र चिया, जुजु धौलगायत नेवारी खानाका परिकारहरू राखिएका थिए ।

मयुर नाच, रोपाइँ जात्रा, सात कालिको नाच, कुमारी नाचलगायत स्थानीय सांस्कृतिक नृत्यहरूसमेत सो अवसरमा देखाइएको महोत्सव संयोजक विक्रम बाडेले बताउनुभयो । मध्यपुरथिमिमा गत वर्ष पनि वः महोत्सव आयोजना गरिएको थियो ।

मेलाका लागि नगरपालिकाले रु छ लाख सहयोग गरेको समितिले जनाएको छ । साथै व्यवसायीहरूले स्वस्फूर्त रूपमा रु दुई लाख सहयोग गरी कुल रु आठ लाख लागतमा महोत्सव आयोजना गरिएको बाडेले जानकारी दिनुभयो ।

केही खान मिल्ने वःमा माय् वः, मुँ वः, मुसू वः, भुति वः, तरकारी वः, ला वः÷लापी वः, खें वः ख्वल्चा वः, भु वः÷तःपा वः, सू वः÷बारा वः का नामले पनि चिनिन्छ । बार वःका कारण नेवारी परिकार बारा प्रसिद्ध भएको पाइन्छ । कतिपय वः खानाका परिकारका रूपमा लिइँदैन ।

लिच्छिवी र मल्लकालदेखि नेवार समुदायका विभिन्न चाडबाडमा र जीवनका विभिन्न सुख दुःखमा वःको प्रयोग गरिन्थ्यो । मेलामा वःको ऐतिहासिक, सामाजिक र स्वास्थ्यका लागि के–कति महत्वबारे पनि जानकारी दिइएको थियो । वःका परिकारबारे मेलाका अवसरमा विज्ञहरूले कार्यपत्रसमेत प्रस्तुत गरिएको थियो ।

मेलाले मध्यपुरथिमिको पर्यटन तथा आर्थिक समृद्धिमा ठूलो टेवा पुग्ने विश्वास गरिएको छ । नेवार समुदायको विशेष चाड सिथिनखःको अवसरमा आयोजना हुन लागेको मेलामा मास, मुगी तथा अन्य विभिन्न गेडागुडी भिजाइ पिसेर अण्डा, माछा, मासु तथा मरमसला मिलाई टावामा विभिन्न आकार बनाई पकाइने विशेष परिकारसमेत प्रस्तुत गरिएको छ ।

मध्यपुरमा रहेका प्राकृतिक सौन्र्दयता, विभिन्न पर्यटकीय आकर्षण कला संस्कृति र सम्पदा, कलात्मक मठमन्दिर, पाटीपौवा, सत्तल, बिहार र कैयौँ उत्कृष्ट तथा साम्प्रदायिक सहिष्णुताको बस्ती र स्मारक क्षेत्र देश विदेशमा पुर्याई पर्यटकलाई आकर्षित गर्न मेलाले महत्त्वपूर्ण भूमिका खेल्ने समितिले जनाएको छ ।

साथै सिथिनखःबाट मध्यपुरथिमिका जनताबाट सेवा प्रदान गरी मध्यपुरवासीले गर्ने सम्मान, सत्कार र संस्कारसमेतको पहिचान नेपाल भित्रिएका विभिन्न देशका पर्यटकलाई तथा आन्तरिक पर्यटकलाई देखाउन मेला आयोजना गरिएको समितिको भनाइ छ । वः खाने प्रचलन मल्लकालबाट सुरु भएको मान्यता छ । भक्तपुरको तलेजु भवानीलाई चढाइने ८४ प्रकारका रोटीमध्ये वः का विभिन्न प्रकार पनि समावेश गर्ने प्रचलन छ । माय वः, मुं वः, मुसू वः, कःसू वः, भुति वः, मुस्या वः, चिचिन्दा वःलगायतका वःहरू तलेजु भगवान्लाई चढाउने गरिन्छ ।रासस