२२ असार २०८३, सोमबार
,
Latest
ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम
तपाईं के खोज्दै हुनुहुन्छ ?

जाडोमा सुनसान बन्यो हिमाली गाउँ तोक्पेगोला



अ+ अ-

ताप्लेजुङ । अरु समयमा निकै चहलपहल हुने ताप्लेजुङको उच्च हिमाली गाउँ तोक्पेगोला आजकल सुनसान छ । हिउँदको जाडो छल्न चौँरी गोठसहित स्थानीयवासी तल्लो क्षेत्रमा सरेपछि तोक्पेगोला सुनसान बनेको हो । यहाँका स्थानीयवासी जाडोको मुख्य समय मङ्सिर, पुस र माघसम्म तल्लो क्षेत्रमा सरेर बस्ने गरेका छन् । अरु समयमा भने पुनः तोक्पेगोलामै गएर आफ्नो व्यवसायमा सक्रिय हुन्छन् । पर्यटकीय क्षेत्र तोक्पेगोला मिक्वाखोला गाउँपालिका–५ पापुङमा पर्छ । 

झण्डै चार हजार मिटरको उचाइमा पर्ने सो गाउँका स्थानीयवासीले व्यावसायिकरूपमा याक, चौँरी गोठ पाल्ने गरेका छन् भने जडीबुटी सङ्कलन तथा व्यापारसमेत गर्ने गरेका छन् । चिसोका कारण सबै परिवार तल्लो क्षेत्रमा झरेपछि कात्तिक दोस्रो सातादेखि नै बस्ती पूरै खाली रहेको पापुङ प्रहरीचौकीका इञ्चार्ज धनराज तुम्बापोले बताउनुभयो । उहाँका अनुसार उनीहरु तल्लो क्षेत्रमा पर्ने दुङ्गिम, लाम्छाङलगायतका ठाउँमा सरेर बसेका छन् । 

पशुपालक किसान आफ्नै काम धन्दामा व्यस्त रहे पनि केही भने यही मौकामा घुमघाम र आफन्त भेटघाटका लागि काठमाडौँ, भारतको सिक्किम, दार्जिलिङलगायतका ठाउँमा जाने गरेको स्थानीय मिलन शेर्पाले बताउनुभयो । कतिपय आफ्ना छोराछोरी भेट्न निस्कने गर्छन् । त्यस क्षेत्रमा विद्यालय नभएकाले धेरैजसोका बालबालिका सदरमुकाम र जिल्लाबाहिरका विद्यालयमा गएर पढ्ने गर्छन् ।

जिल्लाको मिक्वाखोला गाउँपालिकामा पर्ने तोक्पेगोला पर्यटकीय क्षेत्र पनि हो । सो गाउँमा ढुक्प्या जातिका २३ घरपरिवारको बसोबास छ । विशेषगरी भदौ असोजको समयमा भने आन्तरिक पर्यटक तोक्पेगोलामा पुग्ने गर्छन् । सोदुपोखरी, भूतपोखरीलगायतका दर्जनौँ पोखरीका साथै रमणीय ठाउँ भएकाले घुम्न र अवलोकनका लागि सो क्षेत्रमा आन्तरिक पर्यटक पुग्ने गरेका हुन् ।