२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक सञ्जालको प्रयोगमा प्रेस काउन्सिलको विशेष अपिल



अ+ अ-

काठमाडौं । प्रेस काउन्सिल नेपालले आमसञ्चार माध्यम र सञ्चार माध्यमसँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जाल विशेषगरी युट्युब च्यानल तथा फेसबुक पेजबाट सम्प्रेषित सामग्रीलाई तथ्यपूर्ण र विश्वसनीय बनाउन विशेष अपिल जारी गरेको छ । नियामक निकाय काउन्सिलले विभिन्न पेजसहित सामाजिक सञ्जालमा सञ्चालकको नाम, ठेगाना प्रष्ट हुनुपर्ने सहित तथ्यपूर्ण समाचारको लागि मङ्गलबार विशेष अपिल जारी गरको हो ।

सामाजिक सञ्जालमा देखिएका कतिपय आपत्तिजनक सामग्री अनुगमनसहित प्रवृत्तिगत अध्ययन गरी सच्याउन र सचेतना जगाउन विभिन्न काम समेत गर्दै आएको काउन्सिलले जनाएको छ । सहप्रवक्ता एवम् सूचना अधिकारी रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा युट्युब, अनलाइन टिभीसहित सामाजिक सञ्जालको पेजहरूको प्रयोगमा सहजता ल्याउन र व्यवस्थित बनाउन प्रेस काउन्सिलले बेग्लै कार्यविधि बनाई कार्यान्वयन गरिरहेको उल्लेख छ ।

सञ्चार माध्यमअन्तर्गत आबद्ध भएका सामाजिक सञ्जाल (युट्युब च्यानल एवम् फेसबुक पेज)बाट सम्प्रेषित सामग्रीका सम्बन्धमा उजुरी आएमा वा स्वअनुगमनबाट देखिएमा त्यस्ता सामग्रीका सम्बन्धमा पत्रकार आचारसंहिताको व्यवस्था बमोजिम नै कारबाही भइरहेको र अन्य सामाजिक सञ्जालबाट अफवाह फैलाउने, द्वन्द्व बढाउने, अश्लील सामग्री सम्प्रेषण गर्ने, अन्धविश्वासलाई प्रश्रय दिने, अशिष्ट/अमर्यादित गतिविधि समेटिएको सामग्री सम्प्रेषण भएको देखिएमा अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो)मा पत्राचार गर्ने गरिएको काउन्सिलले जनाएको छ । पछिल्लो समय कतिपय सामाजिक सञ्जाल (युट्युब/फेसबुक पेज) बाट प्रचलित कानुनअनुसार दर्ता भइ स्थापित सञ्चार माध्यमप्रति वितृष्णा फैलाउने गरी गलत भाष्य निर्माण गर्न भएका प्रयासप्रति काउन्सिलको गम्भीर ध्यानाकर्षण भएको समेत विज्ञप्तिमा जनाइएको छ । सञ्चार माध्यमको विश्वास नगर्न, अहिले सामाजिक सञ्जाल नै आधिकारिक माध्यम हुन् भन्ने जस्ता भाष्य निर्माण गर्न भएका प्रयासप्रति काउन्सिलको गम्भीर ध्यानाकर्षण भएको छ, त्यसमा उल्लेख छ ।

सामाजिक सञ्जाल दुरुपयोग गरी भ्रमपूर्ण, अफवाहपूर्ण, गालीगलौजपूर्ण सामग्री सम्प्रेषण भइरहेको काउन्सिलको विशेष अनुगमनबाट देखिएको छ । सामाजिक सञ्जालमा भेटिने कतिपय अमर्यादित, अशिष्ट र तथ्यहीन सामग्रीले जनमानसमा अन्योल समेत सिर्जना गरेको छ । काउन्सिलले यस्ता गतिविधिलाई गम्भीररूपमा लिइ समस्या समाधानका लागि राज्यका निकायहरूसँग आवश्यक समन्वय र सहजीकरण गरिरहेको काउन्सिलले जनाएको छ । मिडियाको आवरणमा रहेका पेज, ग्रुपसहितमा आबद्ध व्यक्तिहरूले विज्ञापनका लागि अनावश्यक दबाब दिने, अन्य ‘बार्गेनिङ’ गर्ने र मागबमोजिम नभएमा वा विज्ञापन दिन अस्वीकार गरेमा त्यस संस्था, कम्पनी एवम् व्यक्तिको बारेमा तथ्यहीन, आधारहीन, अपुष्ट आरोपहरू लगाई मिथ्या सूचना प्रकाशन/प्रसारण गर्ने गरेको भनी गुनासाहरू प्राप्त भइरहेका छन् । यस्ता गतिविधिहरुलाई तत्काल रोक्न प्रेस काउन्सिल सम्बद्ध सबैलाई सचेत गराउन चाहन्छ, विज्ञप्तिमा भनिएको छ । सामाजिक सञ्जालले सत्य, तथ्य एवम् सन्तुलित सुचना प्रवाह गर्न सके मात्र यसप्रति जनविश्वास बढ्छ । कुनै सुचना प्रकाशित गर्नुअघि विश्वसनीयताको परीक्षण गर्नुपर्दछ ।

आफूले सम्प्रेषण गरेका सामग्रीउपर हुने विचार वा कमेन्टहरूबाट सिर्जित परिस्थितिको सार्वजनिक एवम् कानुनी जवाफदेहिता पनि स्वयम् सञ्चार माध्यम एवम् सम्वद्ध सामाजिक सञ्जालको हुनेतर्फ काउन्सिलले सजग समेत गराएको छ । आधिकारिक र विश्वसनीय सूचना प्रवाहबाट मात्र पत्रकारिता बलियो र प्रभावकारी हुन्छ । सामाजिक सञ्जालहरु पनि त्यसैका लागि सदुपयोग गर्न सके अहिले देखिएका कतिपय भ्रमहरु आफै हट्दै जानेछन्, काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतको धारणा छ ।

प्रेस काउन्सिलले लागु गरेको कार्यविधिमा आमसञ्चार माध्यमले झैं सामाजिक सञ्जाल (युट्युब च्यानल तथा फेसबुक पेजहरु)ले सञ्चालक र कार्यालय ठेगानासहित पूर्ण विवरण खुलाउनुपर्ने प्रष्ट उल्लेख गरेको छ । कानुनी प्रक्रिया पूरा नगरी चलाएका सञ्जालबाट सम्प्रेषित सामग्रीबाट प्रचलित कानुन उल्लङ्घन भए आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा लेखी पठाउन सक्नेछ । विज्ञप्तिमा सञ्चार क्षेत्रलाई व्यवस्थित, विश्वसनीय, मर्यादित र प्रतिष्ठापूर्ण बनाउन प्रेस स्वतन्त्रताको पूर्ण कार्यान्वयन हुनुपर्ने उल्लेख गर्दै संविधान र कानुनले स्थापित गरेको पूर्ण प्रेस स्वतन्त्रतालाई पालना गर्न, गराउन साथै गल्ती सच्याउने आम सञ्चारमाध्यमको प्रतिवद्धतालाई सम्मान गर्नेतर्फ काउन्सिल सदैव सचेत एवम्क्रियाशील भएको उल्लेख छ ।

सञ्चार माध्यमसँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जाल विशेषगरी युट्युब च्यानल तथा फेसबुक पेजलाई प्रचलित कानुन र आचासंहिताको पालना गरी सुचना सम्प्रेषण गर्न सम्बद्ध सबैमा काउन्सिल आग्रह समेत गरेको छ । साथै मिडियाको दुरुपयोग गर्ने, भ्रम छर्ने, विज्ञापनलगायत ‘बार्गेनिङ’ गर्ने र मागबमोजिम नभएमा धम्की दिने, तथ्यहीन सामग्री प्रकाशन/प्रसारण गर्नेजस्ता गैरपेशागत आचरण प्रस्तुत नगर्न, नगराउन समेत विज्ञप्तिमार्फत् काउन्सिलले विशेष अपिल गरेको छ ।




भर्खरै