२५ जेष्ठ २०८३, सोमबार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिगात्सेबाट नेपालको सीमा नजिकैको केरुङ सम्मको रेलमार्ग अध्ययन सम्पन्न



अ+ अ-

काठमाडौँ । चीन सरकारले सिगात्सेबाट नेपालको सीमा नजिकैको केरुङ सम्मको रेलमार्ग अध्ययन सम्पन्न गरेको छ । केरुङ–सिगात्से रेलमार्ग भएर नै चीनबाट नेपालमा रेल आउनेछ । केरुङमा रेल आएपछि काठमाडौँ ल्याउन सहज हुनेछ । कोरोना महामारीका बीच पनि केरुङ–काठमाडौँ रेलमार्गको बृहत् परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न चिनियाँ पक्षले नेपाललाई ताकेता गरिरहेको छ । उक्त रेलमार्गको डीपीआर गर्न अनुमति माग गर्दै चिनियाँ पक्षले नेपाललाई पत्राचारसमेत गरिसकेको रेल्वे कम्पनीले जनाएको छ ।
चीनले सिगात्सेदेखि नेपालको सीमा केरुङसम्म रेलमार्ग निर्माण गर्न फिल्ड सर्भे सम्पन्न गरेको रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए । उनले भने, “केरुङ–सिगात्से भएर नै नेपालमा चीनबाट रेल आउने हो । यस सन्दर्भमा सिगात्से–केरुङ मार्गको निर्माण अगाडि बढ्नु नेपालका लागि सकरात्मक पक्ष हो ।” केरुङ–सिगात्सेको दूूरी ५४० किलोमिटर छ । प्रस्तावित केरुङ–काठमाडौँ रेलमार्गको दूूरी ७२ किलोमिटर छ । रसुवागढीदेखि केरुङसम्मको दूूरी २५ किलोमिटर छ ।

महानिर्देशक मिश्रले थप्नुभयो, “कोभिड–१९ महामारी नभएको भए अहिलेसम्म केरुङ–काठमाडौँको पनि अध्ययन सुरु भइसकेको हुन्थ्यो ।” केरुङ–काठमाडौँ रेलमार्ग निर्माण अगाडि बढाउन नेपाल र चीनबीच नियमित रूपमा बस्दै आएको बैठक कोभिड–१९ का कारण बस्न नसक्दा अध्ययन अगाडि बढ्न नसकेको उनले स्पष्ट पारे । केरुङ–काठमाडौँ रेलमार्ग अध्ययन गर्न चिनियाँ टोली नेपाल आउन तयारी अवस्थामा रहे पनि कोभिड–१९ का कारण नेपाल आई अध्ययन अगाडि बढाउन सकेको छैन । उक्त रेलमार्ग निर्माण गर्न तीन चरणमा अध्ययन सम्पन्न गरिनेछ । पहिलो चरणमा हवाई सर्वेक्षण (एरियल सर्भे), दोस्रोमा भौगोलिक अनुसन्धान (जियोलोजिकल इन्भेस्टिगेसन) र तेस्रोमा रेल पङ्क्ति योजना (रेल्वे अलाइनमेन्ट) रहेको छ । तीनै चरणको अध्ययनमा करिब दुई वर्ष लाग्ने अनुमान छ । यो सबै अध्ययन चीन सरकारको आर्थिक र प्राविधिक सहयोगमा हुनेछ ।

यसअघि रक्सौल–काठमाडौँ रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न अनुमति माग गर्दै भारतले नेपाललाई पत्राचार गरिसकेको छ ।
रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले प्रस्तावित केरुङ–काठमाडौँ रेलमार्गको डीपीआर तयार गर्न चिनियाँ टोली तयार भएर बसेको र प्रस्तावसमेत पठाइसकेको जानकारी दिए । चीनको नेसनल रेल्वे अथोरिटीले केरुङ–काठमाडौँ रेलमार्गको प्रारम्भिक अध्ययन प्रतिवेदन नेपाल सरकारलाई दुई वर्षपहिले नै बुझाएको थियो । गृह मन्त्रालयले डीपीआरका लागि नेपाल आउन चिनियाँ प्राविधिकलाई अनुमति दिइसकेको महाप्रबन्धक भट्टराईले बताए । गोरखापत्र दैनिक