२० असार २०८३, शनिबार
,
Latest
सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यस्ता छन् उपलब्धि शिक्षक महासङ्घको काठमाडौँ जिल्ला समिति विस्तार राष्ट्रियसभाको बैठक सुरु पूर्वाधारमन्त्री लम्साल कोरला सडकको निरीक्षणमा सरकारको १०० दिनः सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज परिषद्द्वारा उत्कृष्ट सूचना प्रविधि उद्यमीलाई पुरस्कृत कर्णालीमा बेपत्ता गाडी र यात्रु खोज्न सशस्त्रको विपद् शिक्षालयबाट गोताखोर परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

शृंखलाबद्ध हत्या गुपचुप !



अ+ अ-

गोरखा । दुई हप्ताअघि निर्घात कुटपिटबाट थला परेकी चुमनुब्री गाउँपालिका वडा नं। ५ बिहीकी ५० वर्षकी ङिमा साङ्मोको पाँच दिनअघि थलाको थलैमा मृत्यु भयो । कुटपिट गर्ने पक्षले उनका परिवारलाई दुई लाख रुपैयाँ थमाए । घटना सामसुम भयो ।

चार घण्टा पर रहेको प्रहरी चौकी नाम्रुङले यत्तिका दिनसम्म घटनाबारे केही पत्तो पाएको छैन । जनप्रतिनिधि, जिल्ला प्रहरी कार्यालय पनि यसबारे अनभिज्ञ छन् । गत असारमा यार्सागुम्बा संकलन गर्न गएका सोही गाउँका दुईजनामध्ये टसी दोर्जे फर्किएनन् । सँगै गएकाले टसी दोर्जेको परिवारलाई दुई लाख रुपैयाँ तिरे । सो घटना पनि सामसुम भयो । 

यी दुई त ताजा घटना हुन् । विगत १५ वर्षयता बिही गाउँमा आठ वटाभन्दा धेरै यस्ता घटना सामसुम भएका छन् । कतिपय घटनाका दोषी प्रष्ट भएर पनि गुपचुप बनाइएका छन्, कतिपय रहस्यको गर्भमै छन् । 

अपराध गर्नेको विपक्षमा बोल्न सक्ने हिम्मत गाउँमा कसैको नभएको स्थानीयवासीको दुःखेसो छ । ‘बोलौं भने हामीलाई पनि ज्यानको माया लाग्छ’, एक स्थानीय नाम नखुलाइदिन अनुरोध गर्दै भन्छन्, ‘अपराधी जरा गाढेर बसेको छ । दिनदहाडै हत्या गरेको देखेपछि को बोल्न सक्छ र ?’

२०६२ सालको माघ १२ गते बिहीका घरभित्रै घाँटी रेटेर सोनाम छिरिङको हत्या भयो । २०६४ सालमा सोनाम ग्याल्बोको टाम्लिङ भीरबाट खसालेर हत्या भएको स्थानीयवासी बताउँछन् । घटनामा संलग्नको आशंकामा दुईजनालाई पक्राउ गरेर सदरमुकामतर्फ ल्याउँदै गर्दा प्रहरीको नियन्त्रणबाट मुक्त गरेर फिर्ता गरिएको स्थानीयवासी बताउँछन् । 

गाउँमा भएको भ्रष्टाचारको विद्रोह गर्ने बिहीको कोया गाउँका एक युवाको न्याकफेदीमा शव भेटियो । कुनै छानबिनै नभई अन्त्येष्टि गरियो । जडीबुटी संकलन गर्न गएका दुईमध्ये बिहीफेदीका फु तेञ्जिन फर्किएनन् । छ्योतुम्बु गुम्बाको मेल भर्न गएकी बिहीकै रानागाउँकी एक युवतीको शव खोल्सामा भेटियो । कुनै घटनाको पनि कसैले खोजीनीति गरेनन् ।

गाउँमा शृंखलाबद्ध रूपमा अपराधजन्य घटना भइरहे पनि कसैले अनुसन्धान गर्न पहल गरेका छैनन् । ‘प्रहरीलाई खबर ग¥यो भने पनि एक न एकदिन ऊ निस्किएर आइहाल्छ । अनि उ आएपछि आफू पनि रहने सम्भावना हुँदैन’, एक स्थानीय भन्छन्, ‘त्यसैले कसैले पनि प्रहरीलाई खबर गर्ने हिम्मत गर्दैनन् ।’  अपराधको घटना भए पनि कुनै रहस्यकै गर्भमा रहने, कुनै घटनाको रहस्य खुल्यो भने मृतकका आफन्तलाई पैसा दिएर थामथुम पार्ने गरेको उनको भनाइ छ । अन्नपूर्ण पोष्टमा समाचार छ ।