२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरामा प्रादेशिक ललितकला प्रदर्शनी सुरु



अ+ अ-

कास्की। पर्यटकीय राजधानी पोखरामा आइतबारदेखि दोस्रो प्रादेशिक ललितकला प्रदर्शनी सुरु भएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, गण्डकी प्रज्ञा प्रतिष्ठान र ‘काठमाडौँ ट्रिएनाले’द्वारा आयोजित प्रदर्शनी पाँच दिनसम्म चल्नेछ ।

नयाँ बजारस्थित पोखरा आर्ट ग्यालरीमा सुरु भएको प्रदर्शनीमा ८० चित्र प्रदर्शनीमा राखिएको गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘बिखर्ची’ले जानकारी दिए । गण्डकी प्रदेशस्तरीय यस प्रदर्शनीबाट उत्कृष्ट ठहरिएका कलाकारका चित्रलाई काठमाडौँमा हुने राष्ट्रिय ललितकला प्रदर्शनीमा सहभागी गराइने उनले बताए ।

प्रदर्शनीमा अनुजदेखि स्थापित भइसकेका कलाकारका चित्रकलालाई समावेश गरिएको छ । सृजनशील कलाकार समूह, कास्कीसँगको सहकार्य सञ्चालित उक्त प्रदर्शनीको बिहान १० देखि साँझ ५ बजेसम्म अवलोकन गर्न सकिनेछ । समूहका अध्यक्ष डिबी गुरुङले गत वर्षदेखि प्रदेशस्तरमा ललितकला प्रदर्शनीको आयोजना हुन थालेको बताए ।

सातै प्रदेशबाट छनोटमा परेका कलाकृति राष्ट्रिय ललितकला प्रदर्शनीमा राखिने नेपाल ललितकला प्रतिष्ठानले जनाएको छ । प्रादेशिक ललितकला प्रदर्शनीमा सबै विधाबाट उत्कृष्ट हुने एक जनालाई रु ५० हजारको पुरस्कार प्रदान गरिने भएको छ ।

चित्रकलातर्फ परम्परागत र समसामयिक चित्रकला, मूर्तिकलातर्फ परम्परागत लोक मूर्तिकला र समसामयिक आधुनिक मूर्तिकला, शिल्पकला–हस्तकला, विद्यार्थी ललितकला प्रादेशिक पुरस्कार गरेर एक÷एक जनालाई र लोककला, वास्तुकला तथा अन्य सिर्जनात्मक कलातर्फ दुई जनालाई पुरस्कृत गरिने प्रतिष्ठानले जनाएको छ । विधागत पुरस्कारको राशि रु ३० हजार रहेको छ ।

राष्ट्रिय प्रदर्शनीमा सहभागी भई सर्वोत्कृष्ट बन्नेले रु एक लाख र विधागत रूपमा उत्कृष्ट बन्ने कलाकारले रु ६० हजारका दरले पुरस्कार प्राप्त गर्नेछन् । प्रदर्शनीको अवलोकन गर्दे गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले पोखरा आर्ट ग्यालरीलाई व्यवस्थित र सुविधा सम्पन्न बनाउन प्रदेश सरकारले पहल गर्ने बताए । उनले ललितकलाको विकासका लागि प्रदर्शनीले टेवा पुग्ने धारणा राखे ।

प्रदर्शनीको शुभारम्भका क्रममा ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘बिखर्ची’, उपकुलपति गोरे गुरुङलगायत कला क्षेत्रका विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो । प्रदर्शनीमा विभिन्न कलाकारले तयार पारेका मूर्त/अमूर्त चित्रकला राखिएको छ । प्रदर्शनीको प्रवर्द्धन नेपाल पर्यटन बोर्डले गरेको छ । रासस