२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी
तपाईं के खोज्दै हुनुहुन्छ ?

माथिल्लो म्याग्दी जलविद्युत् आयोजना निर्माण सुरु



अ+ अ-

म्याग्दी। म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा ३७ मेगावाट क्षमताको माथिल्लो म्याग्दी जलविद्युत् आयोजना निर्माण सुरु भएको छ ।

हाइड्रो इम्पाएर प्रालि प्रवर्द्धक रहेको आयोजनाले सिम्कोश दोभानको बाँधदेखि घिम्लेटी जोड्ने चार किलोमिटर लामो सुरुङ निर्माणका लागि आज गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री रेशमबहादुर जुुग्जालीले शिलान्यास गर्नुभयो ।

आयोजना प्रमुख रमेश सुवेदीले आगामी २०८२ चैत मसान्तभित्र सम्पन्न गर्ने लक्ष्यसहित बाँध, सुरुङ र विद्युत्गृह निर्माणको काम सुरु भएको बताउनुभयो । “पहुँचमार्गलगायत पूर्वाधार निर्माण सकेर आयोजनाको मुख्य संरचना निर्माण थालिएको छ”, उहाँले भन्नुभयो, “बाँध, नाउरा र आउटलेटको अडिटबाट सुरुङ निर्माण थालिएको हो ।”

माथिल्लो म्याग्दीले अपर म्याग्दी–१ र म्याग्दीखोला जलविद्युत् आयोजनासँग सहकार्य गरेर मालिका गाउँपालिका–७ बिमको भारवाङदेखि कल्लेनी, छहरी, खारा, खाम्ला, नाउरा हँुदै बगर गाउँ नजिकैसम्म करिब २१ किलोमिटर पहुँचमार्ग निर्माण गरेको छ ।

म्याग्दी नदीमाथि ५० र ३० मेट्रिक्टन क्षमताको दुई वटा बेलिब्रिज जडान गरेर आयोजना निर्माणस्थललाई पहुँचमार्गले जोडेको आयोजनाका प्रबन्ध निर्देशक जितबहादुर घर्तीले बताउनुभयो ।

सिन्कोस र म्याग्दी खोलाको दोभानभन्दा एक सय ३० मिटर तल म्याग्दी खोलाको दायाँ किनारमा बाँध र बाँया किनारमा भूमिगत बालुवा थिग्राउने पोखरी निर्माण थालिएको छ ।

चार किलोमिटर लामो सुरुङबाट ल्याइने पानी तीन सय दशमलव ८८ मिटर अग्लो हेडबाट विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गरिने छ । आउटलेटदेखि विद्युत्गृहसम्म सात सय ९७ दशमलव ९६ मिटर लामो पेनस्टक पाइप जडान गरिनेछ ।

कूल रु छ अर्ब ६९ करोड ९४ लाख ९५ हजार लागत अनुमान गरिएको आयोजनामा प्रवर्द्धक र आमनागरिकको सेयरबाहेक सिद्धार्थ बैंक, नेपाल एसबिआई, सिटिजन्स, एभरेष्ट र नबिल बैंकको रु पाँच अर्ब ३४ करोड ८८ लाख ९८ हजार लगानी रहने छ ।

सत्तरी प्रतिशत ऋण र ३० प्रतिशत स्वपूँजी लगानी रहने आयोजना निर्माण भएपछि दुई सय १५ दशमलव सात सय १४ गिगावाट प्रतिघण्टा विद्युत् उत्पादन हुने जनाइएको छ । उत्पादित विद्युत् विद्युतगृहदेखि नौ दशमलव दुई किलोमिटर दुरीको एक सय ३२ केभी सिङ्गल सर्किट प्रसारण लाइनमार्फत डाडाखेत सवस्टेसनमा जोडिनेछ ।

शिलान्यास कार्यक्रममा प्रदेशसभा सदस्य जुग्जालीले माथिल्लो म्याग्दीलगायत यस क्षेत्रमा निर्माणाधीन आयोजनाबाट उत्पादन हुने विद्युत् केन्द्रीय ग्रिडमा जोडिने बताउनुभयो । त्यसका लागि नेपाल विद्युत् प्राधिकरणमार्फत मालिका गाउँपालिका–७ डाडाखेतमा १३२ केभी क्षमताको सवस्टेशन र त्यहाँदेखि राहुघाट जोड्ने प्रसारण लाइन निर्माणकार्य अन्तिम चरणमा रहेको उहाँले जानकारी दिनुभयो ।

धवलागिरी गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले माथिल्लो म्याग्दीलगायत आठ वटा जलविद्युत् आयोजना निर्माणको चरणमा रहेको बताउनुभयो । जलविद्युत् आयोजना समयमै निर्माण सम्पन्न भएमा त्यसबाट गाउँपालिकालाई रोयल्टी प्राप्त हुने र त्यसलाई विकास निर्माण तथा नागरिकको सेवा सुविधामा परिचालन गर्न सकिने उहाँको भनाइ थियो ।

धवलागिरि गाउँपालिका–४ का अध्यक्ष यामप्रसाद घर्ती, वडा सदस्य रिम रोका र हरिप्रसाद तिलिजाले जलविद्युत् आयोजनासँगै दुर्गम र विकट क्षेत्रमा विकास भित्रिएको बताउनुभयो । जलविद्युत् आयोजनाले निर्माण गरेको सडकबाट स्थानीयबासीलाई पनि सुविधा पुगेको उहाँले बताउनुभयो । रासस




भर्खरै