२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोरखामा चलचित्र ‘पहाड’ को छायाङ्कन सुरू



अ+ अ-

काठमाडौँ: निर्देशक तुलसी घिमिरेको स्वास्थ्यमा समस्या आएपछि रोकिएको नेपाली चलचित्र ‘पहाड’ को छायाङ्कन पुनःसुरू भएको छ ।

गत माघ २२ मा मुहुर्त गरेर एक दिन छायाङ्कन गरेपछि निर्देशक घिमिरेलाई ‘निमोनिया’ भएको थियो । स्वास्थ्य अनुकुल भएपछि पूर्वनिर्धारित तालिका अनुसार गोरखा र आसपासका क्षेत्रमा चलचित्रको छायाङ्कन सुरु गरेको निर्देशक घिमिरेले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “केही वर्षपछि चलचित्रको काममा फर्किएको छु, नयाँ पुस्ताका कलाकारसँग काम गर्दा छुटै ऊर्जा प्राप्त भइरहेको छ । यस चलचित्रमा मानव बस्ती शून्य बनेको उच्च पहाडको कथा समेटिएको छ ।”

उहाँले युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गरिएको कथावस्तु चलचित्रमा रहेको बताउनुभयो । ओजस्वी केसी निर्माता रहनुभएको चलचित्रलाई प्रमोद प्रधानले छायाङ्कन गरिरहनु भएको छ । भारतीय चलचित्र र टेलिशृङ्खलामा काम गरिसक्नुभएका छायाँकार प्रधानले ‘अन्याय’, ‘कोसेली’, ‘चिनो’ र ‘दक्षिणा’ मा निर्देशक घिमिरेसँग सहकार्य गरिसक्नुभएको छ ।

यसको छायाङ्कन गोरखा र आसपासमा २५ दिन र भारतमा १५ दिन हुने निर्देशक घिमिरेले जानकारी दिनुभयो । भाग्यरत्न फिल्म्स प्रालिको ब्यानरमा निर्माण भइरहेको चलचित्रमा विपिन कार्की, सुनिल थापा, मदनकृष्ण श्रेष्ठ, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ, सलोना बज्राचार्यलगायतका कलाकारले अभिनय रहने छ ।

यसै चलचित्रमार्फत निर्देशक घिमिरेको कान्छी छोरी पञ्चमी घिमिरेले चलचित्रमा अभिनयको सुरुआत गर्दै हुनुहुन्छ । उहाँको जेठी छोरी भावना घिमिरेले प्रोडक्सन डिजाइनरको रुपमा काम गरिरहनुभएको छ । दुई छोरीले चलचित्रलाई पेसा बनाउदा आफूलाई खुसी लागेको निर्देशक घिमिरेले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीलाई पनि आफ्नो सन्तानले आफूले गरिरहेको काम वा पेसालाई रोज्दा खुसी लाग्छ । एक छोरी अभिनेत्री बनेकी छिन् भने अर्को निर्देशनसहित प्राविधिक विधामा इच्छुक छिन् । यसकारण पनि म यो चलचित्रलाई लिएर उत्साहित छु ।”

चलचित्र आगामी वर्षको जेठमा प्रदर्शन गर्ने तयारी निर्माण पक्षको छ । रासस