२४ जेष्ठ २०८३, आईतवार
,
Latest
परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

केराको रेशाबाट उत्पादित सामग्रीको माग बढ्दो



अ+ अ-

टीकापुर । कैलालीको कैलालीमा केराको थामबाट उत्पादित रेशा र त्यसबाट निर्माण गरिएका हाते सामग्रीको खपत बढ्दै गएको छ । टीकापुर नगरपालिका–८ स्थित धनसिहपुर एकता समाज बचत तथा ऋण सहकारी संस्थाले केराको थामबाट रेशा उत्पादन गरी रेशाबाट बनाइएका सामग्रीको माग बढ्दै गएको सहकारीले जनाएको छ । एक वर्षअघि स्थापना भएको उद्योगले केराको रेशा उत्पादन गरेर त्यसबाट टोपी, झोला, पेन होल्डर, कपडा, बस्नका लागि प्रयोग हुने चटाईलगायतका सामग्री निर्माण गर्ने गरिएको छ ।

सहकारीका व्यवस्थापक रामकृष्ण चौधरीका अनुसार एक वर्षदेखि उद्योगले केराको थाम कृषकबाट नि:शुल्क ल्याउने गरेको छ । “दैनिक १० वटा जति थामबाट एक केजी रेशा उत्पादन हुने गरेको छ”, उहाँले भन्नुभयो, “एक केजी रेशाबाट १५ वटासम्म टोपी बनाउन सकिन्छ । सहकारीले प्रतिटोपी मूल्य रु एक हजार, पेन होल्डर रु तीन सयमा बिक्री गर्ने गरेको छ ।”

सहकारीलाई उत्पादित सामग्री बिक्रीका लागि बजारको अभाव छैन । सहकारीले बजारको मागअनुसार उत्पादन गर्न भ्याएकोे छैन । “उत्पादित सामग्री र रेशा काठमाडौँबाट धेरै माग भइरहेको छ । काठमाडौँका उद्योगले कच्चा पदार्थ जति सकिन्छ पठाउनु भनिरहेका छन्”, चौधरीले भन्नुभयो, “हामीले मागअनुसार दिन सकिरहेका छैनौँ ।”

सहकारीको उद्योगमा १० महिला काम गरिरहेका जसमा पाँच जना केराको रेशाबाट हाते सामग्री नियमित काम गरिरहेका छन् । उनीहरुले घर सजावट तथा प्रयोगमा ल्याउन सकिने विभिन्न सामग्री बनाउने गरेका छन् । यसरी निर्माण गरिएका सामग्रीको खपत कैलालीमै भइरहेको छ ।

यहाँ लाग्ने मेला महोत्सवमा समेत उद्योगले उत्पादन गरेका सामग्री प्रदर्शनमा राखिदिन माग आउने गरेको सहकारीले जनाएको छ । केराको रेशा उत्पादनपछि खेर जाने सामग्री मलका रुपमा प्रयोग गर्न सकेमा अझ राम्रो हुने स्थानीय बताउँछन् । “सहकारी अब कपडा बनाउन धागो उत्पादन गर्न खोजिरहेको छ”, वडा नं ८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले भन्नुभयो, “धागो बनाउन सकेमा राम्रो फाइदा लिन सकिन्छ ।”

टीकापुर –६ का वडाध्यक्ष बलिराम चौधरी आफूले पनि झोला किनेको बताउँदै कच्चा पदार्थ प्रसस्त पाइने भएकाले यसलाई विस्तार गर्नुपर्ने बताउनुहुन्छ । “टीकापुर केराको पकेट क्षेत्र भएकाले केराको थाम किन्न पर्दैन, नि:शुल्क पाइन्छ”, उहाँले भन्नुभयो, “खेर गइरहेको केराको थामबाट धेरै सामग्री बनाउन सकिने रहेछ । यसलाई थप लगानी गरी विस्तार गर्नुपर्छ ।”

सरकारले एक सहकारी, एक उद्योगको नीति लिएका बेला सहकारीले स्थापना गरेको उद्योगमार्फत किसान तथा महिला किसानलाई रोजगारीसँग जोड्ने कार्यलाई थप व्यवस्थापन गर्नुपर्ने दिगो विकास समाज भजनीका अधिकृत विनोद शाहले बताउनुभयो । “यो क्षेत्र केराको पटेक क्षेत्र भएकाले केराबाट महिला सदस्य तथा किसानलाई फाइदा भएको छ”, उहाँले भन्नुभयो, “स्थानीयस्तरमै पाइने कच्चा पदार्थ प्रयोग गरी सहकारीका शेयर सदस्यले रोजगारीका अवसर पाउनु राम्रो उपलब्धि हो ।” रासस