२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहकारीका समस्या सम्बोधन गर्न अध्यादेश : मन्त्री अधिकारी



अ+ अ-

काठमाडौँ। प्रतिनिधिसभाले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ लाई बहुमतले स्वीकृत गरेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले प्रस्तुत गर्नुभएकोे उक्त प्रस्तावलाई बैठकले स्वीकृत गरेको हो । यसअघि रास्वपाका सांसद चन्दा कार्कीले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई अस्वीकार गरियोस्’ भनी प्रस्तुत गर्नुभएको प्रस्तावलाई बैठकको बहुमतले अस्वीकृत गरेको थियो ।

अध्यादेश अस्वीकार गर्ने सूचना प्रस्तुत गर्नेक्रममा उठेका प्रश्नको जवाफ दिँदै सहकारीमन्त्री अधिकारीले सहकारी क्षेत्रमा देखिएका विकृति निराकरण गर्न र प्रचलित कानुनमा आवश्यक संशोधन गरी आम बचतकर्ताको बचत फिर्ता एवं बचत सुरक्षण गर्न अध्यादेश ल्याएको बताउनुभयो । उहाँले विरोधको सूचना दिने सदस्यलाई अध्यादेशको आवश्यकता र औचित्य स्पष्ट पार्दै विभिन्न समयमा सहकारी पीडित बचतकर्तासँग गरेको सम्झौताको मर्मअनुरूप अध्यादेश आएको भनाइ राख्नुभयो ।

उहाँले अध्यादेशमा सहकारी पीडित, विज्ञ र राजनीतिक नेतृत्वको भावनाअनुसार नै अध्यादेशमार्फत राष्ट्रिय सहकारी नियमन प्राधिकरण स्थापना, बचत तथा कर्जा सुरक्षण कोष र कर्जा सूचना केन्द्रको व्यवस्था गरिएको जानकारी दिनुभयो ।

मन्त्री अधिकारीले सहकारी पीडितको भावना, विज्ञको सुझावसमेत आएको अध्यादेशको विरोध गर्नुको औचित्य नभएको बताउनुभयो । “हामीले यो अध्यादेश ल्याइरहँदा हिजो सहकारी पीडितहरूले आन्दोलन गर्दा के समर्थन जनाएका थियौँ, त्यसलाई पनि ख्याल गरौँ । त्यसबेला तत्काल यो गर्नपर्‍यो भन्ने अहिले त्यही कुरा ल्याउँदा गलत बाटो हिँड्यो भनेर अपब्याख्या गर्नुहुँदैन”, उहाँले भन्नुभयो ।

मन्त्री अधिकारीले सहकारी क्षेत्रमा वर्तमान अवस्थामा देखिएका कमीकमजोरी तत्कालै नियन्त्रण गर्न आवश्यक भएकाले यो अध्यादेशमार्फत यो समस्या समाधानको बाटोमाबिना विलम्ब सरकार अग्रसर हुने मान्यताका आधारमा अध्यादेश ल्याएको स्पष्ट पार्नुभयो । “देशको आर्थिक तथा सामाजिक क्षेत्रको विकासमा योगदान पु¥याउन स्वतन्त्र, स्वाधीन र आत्मनिर्भर अर्थतन्त्र स्थापना गर्न सहकारी क्षेत्रको महत्त्वपूर्ण भूमिका हुन्छ”, उहाँले भन्नुभयो, “त्यसैलाई आधार मानेर यो अध्यादेश आएको छ ।”

यसअघि अध्यादेश अस्वीकार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै सांसद कार्कीले सहकारी नियमन प्राधिकरणको व्यवस्था अध्यादेशबाट गरिए पनि काम गर्न नसक्ने निकाय बनाइएको बताउनुभयो । कानुनको कार्यान्वयन नभएर सहकारी पीडितले पैसा पाउन नसकेको उहाँको भनाइ थियो ।

सांसद विनिता कठायतले रू ५० लाख सहकारीमा बचत गर्ने व्यवस्था गर्ने तर नेपाल राष्ट बैंकलाई नियमन गर्न नदिने किन व्यवस्था गरेको भनी प्रश्न गर्नुभयो । व्यवस्थापन समितिले सम्पत्तिको मूल्याङ्कन गर्न विज्ञ टोली गठन गर्ने विषयमा समस्या हुनसक्ने उहाँले सुनाउनुभयो । अध्यादेशले सहकारी पीडितलाई न्याय नदिने सांसद कठायतको भनाइ थियो ।

सांसद अशोककुमार चौधरीले ५०० सहकारी समस्याग्रस्त रहेको उल्लेख गर्नुहुँदै लाखौँ जनता पीडित भएको, करिब रू छ खर्ब फसेका बेला आएको अध्यादेशले पीडितलाई राहत दिन नसक्ने बताउनुभयो ।

संसदीय छानबिन समितिले रू ८८ अर्ब अनियमितता भएको प्रतिवेदन दिए पनि समाधानमा केही हुन नसकेको उहाँले बताउनुभयो । सहकारीका ठूला सञ्चालकलाई अध्यादेशले उम्काउन खोजेको पनि सांसद चौधरीले आरोप लगाउनुभयो । सांसद पूर्णबहादुर घर्तीमगरले सर्वोच्च अदालतको आदेशविपरीत अध्यादेश आएको दाबी गर्नुहुँदै फिर्ता लिनुपर्ने बताउनुभयो ।

अध्यादेशले संसदीय मर्यादाको उल्लङ्घन गरेको उहाँले सुनाउनुभयो । सहकारी विभाग, सहकारी प्रशिक्षण केन्द्र खारेज नगरी मन्त्रालयका सहसचिवलाई अध्यक्ष बनाएर गलत गरिएको उहाँले बताउनुभयो । सांसद रामकुमार राई र सांसद मीना तामाङले संविधान, कानुनको मर्म विपरीत अध्यादेश आएकाले यसलाई खारेज गरिनुपर्ने बताउनुभयो ।

सांसद लेखनाथ दाहालले सहकारीसम्बन्धी समस्या राष्ट्रिय भएकाले यस विषयमा राष्ट्रियस्तरमै बहस गरिनुपर्ने बताउनुभयो । प्रदेश र स्थानीय सरकारको साझा सूचीमा रहेको विषयलाई सङ्घले कानुन बनाउनु गलत भएको उहाँको भनाइ थियो । सांसद शिशिर खनालले सहकारी पीडितलाई अध्यादेशले न्यायको आँखाले नहेरेको बताउनुभयो । सहकारी सञ्चालकको सम्पत्ति, राहदानी रोकेर भए पनि पीडितलाई न्याय दिनुपर्ने उहाँको भनाइ थियो ।

सांसद प्रेम सुवालले २००८ सालदेखि २०१५ सम्मकोबीचमा मल लिन, कृषिलाई सहयोग गर्न सहकारी सुरू भएकाले त्यसको सिद्धान्तअनुसार नै काम गरिनुपर्नेमा जोड दिनुभयो । सांसद सुमना श्रेष्ठले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा जनशक्ति नभएकैले काम हुन नसकेको बताउनुभयो । बचतकर्तालाई सङ्गठित हुन नदिने व्यवस्था गलत रहेको उहाँको विचार थियो । प्रतिनिधिसभाको अर्को बैठक यही फागुन २२ गते दिउँसो १ बजे बस्नेछ । रासस