२४ जेष्ठ २०८३, आईतवार
,
Latest
रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसलाई महिला दिवसले छोएन…



अ+ अ-

तानसेन, (पाल्पा) । बगनासकाली गाउँपालिका–२ घोरबन्दकी सुन्तली कुमालको दिन ज्याला मजदुरीमै बित्ने गर्छ । अकाशिएको महँगीसँगै छोराछोरीको पढाइ खर्च र बिहानबेलुकाको हातमुख जोड्ने जोहो गर्न दैनिक रूपमा काममा निस्कनु उहाँको बाध्यता हो ।

झिसमिसेमा उठेर घरको काम र त्यसपछि ज्यालादारीमा निस्कनु कुमालको दैनिकी नै हो । बिहान र दिउँसोको चर्को घाममा इँटा, ढुङ्गा, बालुवा र माटोको काममा नै उहाँको समय बित्ने गर्छ । दैनिक ज्यालादारीमा काम गर्ने र त्यही ज्यालाले बिहानबेलुकाको गर्जो टार्दै आएको उहाँले बताउनुभयो । तानसेनको भगवती टोलमा घर निर्माणका लागि बालुवा उठाउँदै गरेको अवस्थामा भेटिनुभएकी कुमालले भन्नुभयो, “महिला दिवस हामीजस्ता दु:खीका लागि कागलाई बेल पाक्यो, हर्ष न विस्मात । यो त राम्रो कमाउने र रमाउनेका लागि हो ।”

यस्तै डुम्रेकी रमिता विकको पनि उस्तै समस्या छ । तानसेनमा तरकारी र फलफूल बेचेरै उहाँले दैनिकी गुजारिरहनुभएको छ । “बिहानै गाउँमा गई तरकारी ल्याएर छोरालाई खाना पकाएर खुवाएपछि म डोको बोकेर निस्कन्छु”, शनिबार नारायणस्थानमा तरकारी बेच्दै गरेको अवस्थामा भेटिनुभएकी उहाँले भन्नुभयो, “दिनभरि बजार डुलाएर तरकारी, फलफूल बेच्छु । त्यही कमाइले छोराको पढाइ खर्च र बिहानबेलुका हातमुख जोड्छु, यो मेरो दैनिकी नै हो ।”

तानसेनको बजारमा भारी बोकेर दैनिकी चलाउँदै आउनुभएकी घोरबण्डाकी ४९ वर्षीया मीना कुमाल सधैँजस्तै शनिबार पनि हातमा नाम्लो लिएर काम गर्न निस्किनुभयो । कुमाल तानसेनका किराना पसलमा भारी बोक्ने काम गर्नुहुन्छ । “भारी नबोकी खान पुग्दैन । छाक टार्न काम गर्नैपर्छ”, कुमालले भन्नुभयो ।

यस्तै, तानसेन अर्चेलेकी सुमित्रा पुन पनि तानसेनमै ज्याला मजदुरी गर्दै आउनुभएको छ । कैलाशनगरमा बारी खन्दै गरेको अवस्थामा भेटिनुभएकी उहाँले अन्तरराष्ट्रिय महिला दिवसबारे सुन्नुभएका छैन । “हामीलाई त कामबारे मात्रै थाहा छ”, उहाँले भन्नुभयो । महिलाको हक, अधिकारका बारेमा विभिन्न दलहरूको वकालत सुन्दै आउनुभएकी पुन जीविकोपार्जनका लागि सानै उमेरदेखि मजदुरी गर्दै आएको बताउनुहुन्छ । दिवसका बारेमा आफूलाई पूर्ण रूपमा जानकारी नभएको भन्दै उहाँ भन्नुहुन्छ, “महिला दिवसमा सबैले मीठो मसिना खाने र रमाइलो गरेर मनाउँछन् होला, खै हाम्रो त कमाइ केही छैन, के खानु के रमाउनु रु एक दिन काम नगरे साँझ चुलोे बल्दैन ।”

जिल्लामा सयौँ महिला मजदुर दैनिक मजदुरी गर्दै आएका छन् । शनिबार देशैभर विभिन्न कार्यक्रम गरी एक सय १५औँ अन्तरराष्ट्रिय महिला दिवस मनाइरहँदा जिल्लाका अधिकांश मजदूरी गर्ने महिलालाई भने यसले छोएन । श्रमिक महिला सधैँजस्तै भारी बोकिरहेका छन् । एक दिन काम नगर्दा उनीहरूलाई हातमुख जोर्न मुस्किल पर्छ । रासस