२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसइई : मर्यादाविपरीत काम गर्ने चार निरीक्षकलाई जिम्मेवारीबाट हटाइयो



अ+ अ-

वीरगन्ज (पर्सा) । जिल्लामा माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मर्यादाविपरीत कार्य गर्ने सहायक केन्द्राध्यक्षसहित चार निरीक्षकलाई जिम्मेवारीबाट हटाइएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल (प्रजिअ)को अध्यक्षतामा शनिबार साँझ बसेको एसइई परीक्षा समन्वय समितिको बैठकले उनीहरुलाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो ।

प्रजिअ अर्यालले माइस्थान विद्यापिठ माध्यमिक विद्यालय वीरगन्जका केन्द्राध्यक्ष मुनिलाल कर्णले परीक्षाको मर्यादा र अनुशासन परिपालनामा पर्याप्त सावधानी तथा सतर्कता अपनाएको नदेखिएकाले निजलाई सचेत गराउने निर्णय गरिएको बताउनुभयो । सोही केन्द्रका सहायक केन्द्राध्यक्ष जयप्रकाश सर्राफको गतिविधि संकास्पद देखिएकाले निजलाई परीक्षा अवधिभर उक्त परीक्षा केन्द्रमा प्रवेश नगराउने निर्णय भएको उहाँले बताउनुभयो ।

बैठकले नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, मसिहानी र नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, निचुटा परीक्षा केन्द्रमा अभिभावक सङ्घलगायत अनधिकृत व्यक्तिको प्रवेश देखिएकाले उक्त केन्द्रका केन्द्राध्यक्षलाई लिखित रूपमा ध्यानाकर्षण गराउने निर्णय गरेको छ । त्यस्तै नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, मसिहानी केन्द्रमा निरिक्षकका रूपमा खटिएका शिक्षक लालबाबु यादवले परीक्षाको मर्यादाविपरीत कार्य गरेकाले निजलाई निरीक्षकको जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ । सो बैठकले सिद्धार्थ माध्यमिक विद्यालय चिनी कारखाना वीरगन्ज परीक्षा केन्द्रका संस्थागत विद्यालयमा समेत अध्यापन गराउने धमेन्द्र पाण्डे र रामबालक यादवलाई निरीक्षकको जिम्मेवारीबाट हटाउन केन्द्राध्यक्षलाई निर्देशन दिएको छ ।

सुन्दरमल रामकुमार कन्या माध्यमिक विद्यालय वीरगन्ज परीक्षा केन्द्रमा नियमिततर्फका परीक्षार्थीलाई ग्रेडवृद्धितर्फको प्रश्नपत्र दिएको र ग्रेडवृद्धितर्फका परीक्षार्थीलाई नियमिततर्फको प्रश्नपत्र वितरण गरिएको पाइएकाले त्यस्ता कार्य आगामी परीक्षामा हुन नदिन निर्देशन दिँदै प्रश्नपत्र वितरणलगायत परीक्षा व्यवस्थापनमा सहजीकरण गर्न स्थानीय तहको शिक्षा शाखाका पदाधिकारीलाई समेत परिचालन गर्ने निर्णय गरिएको प्रजिअ अर्यालले जानकारी दिनुभयो । बैठकले परीक्षा केन्द्रहरुमा प्रश्नपत्र परीक्षा समयभन्दा ठिक २० मिनेट अगाडि मात्र खोल्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । रासस