२४ जेष्ठ २०८३, आईतवार
,
Latest
स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

चुमनुब्रीमा सात सय धारा जडान



अ+ अ-

गोरखा। उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा ‘चुमनुब्री बृहत् योजना’ अन्तर्गत सात सय धारा जडान भएका छन् ।

गण्डकी प्रदेशको ‘एक घर एक धारा’ अभियानअन्तर्गत चुमनुब्रीमा उक्त योजना लागू भई खानेपानीको धारा जडान भएका हुन् । आर्थिक वर्ष २०७७/७८ मा ठेक्का सम्झौता भएको चुमनुब्री बृहत् योजनाको हालसम्मको भौतिक प्रगति ८५ प्रतिशत रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गोरखाले जनाएको छ ।

सो पालिकाको वडा नं २, ३, ४, ५ र ६ मा योजना लागू भएको कार्यालयका सव–इञ्जिनियर दीपक खनालले बताउनुभयो । उहाँका अनुसार कार्यालयले योजनाको जिम्मा पराजुली होम निर्माण सेवा कम्पनीलाई दिएको थियो । जसअन्तर्गत हालसम्म सात सय घरधुरीमा खानेपानीका धारा जडान भइसकेका छन् ।

योजना सम्पन्न गर्ने म्याद २०८३ असार मसान्तसम्म छ । गाउँपालिकाभर सात सय घरधुरीमा धारा निर्माणका लागि कम्पनीसँग रु छ करोड ६० लाखमा ठेक्का सम्झौता गरेको थियो । “पालिकाको पाँच वडाहरुमा गरेर जम्मा सात सय वटा धारा जडान गर्न सम्झौता भएको थियो”, उहाँले भन्नुभयो, “जसअन्तर्गत लगभग सबै धारा जडान भइसकेका छन् । छिटोभन्दा छिटो योजना सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको छ ।

योजना अन्तर्गत केवल क्रसिङ र केही ठाउँमा पाइपलाइन वितरण बाँकी रहेको उहाँले बताउनुभयो । कार्यालयले पूर्वाधार निर्माणको जिम्मा लिए पनि खानेपानीको मुहान सुनिश्चितताको काम स्थानीय सरकारको रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “खानेपानी मुहान दर्ताको काम उहाँहरुले नै हेर्नुहुन्छ । हामीले आवश्यक समन्वय  गर्छौँ ।

भौगोलिक विकटताका कारण चुमनुब्रीमा योजना सञ्चालन गर्न असहज भए पनि काम अन्तिम चरणमा पुगेको सव–इञ्जिनियर खनालको भनाइ छ । जिल्लामा ‘एक घर एक धारा’ कार्यक्रम लागू भएको छ वर्ष बितिसक्दा हिमाल पारीको चुमनुब्री गाउँपालिकामा हालसम्म खानेपानीको अभाव छ । बृहत् खानेपानी योजना सम्पन्न भएसँगै खानेपानीको समस्या समाधान हुने अपेक्षा चुमनुब्री बासीको छ ।  रासस