२४ जेष्ठ २०८३, आईतवार
,
Latest
रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

ऐसेलुखर्कमा निर्माणाधीन पालिकास्तरीय अस्पताल भवन निर्माणको अन्तिम चरणमा



अ+ अ-

खोटाङ। ऐसेलुखर्क गाउँपालिकामा निर्माणाधीन पालिकास्तरीय अस्पताल भवनको काम अन्तिम चरणमा पुगेको छ । ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित नेपाल सरकारको लगानीमा वडा नं ३ ऐसेलुखर्क बजारमा निर्माण सुरू गरिएको पालिकास्तरीय १५ शय्याको अस्पतालको काम अन्तिम चरणमा पुगेको हो ।

अपाङ्गमैत्री भौतिक संरचनासहित निर्माणाधीन सुविधा सम्पन्न अस्पताल भवन निर्माणको काम ९९ प्रतिशत सम्पन्न भएको ठेकेदार कम्पनी तुवाचुङ कन्ट्रक्सन प्रालिका प्रबन्ध÷निर्देशक सुनिल राईले जानकारी दिनुभयो । भ्याटसहित रू १९ करोड ३० लाख ४४ हजार ३०० को लागतमा निर्माणाधीन अस्पताल भवन यही महिना दिनभित्र गाउँपालिकालाई हस्तान्तरण गर्नेगरी रङरोगनको काम भइरहेको ठेकेदार कम्पनीले जनाएको छ ।

लिफ्ट सुविधासहितको अपाङ्गमैत्री अस्पताल भवन निर्माणको काम अन्तिम चरणमा पुग्दा स्थानीय बासिन्दा हर्षित भएका छन् । निर्माण सम्पन्न हुनै लागेको अस्पताल भवनको भूइँतलामा इमरजेन्सी ल्याब र ऐक्सरे सेवा, पहिलो तलामा शल्यक्रिया र ओपिडी सेवा, दोस्रो तलामा वार्ड र प्रशासन तथा अन्तिम तलामा भण्डारण र क्लिनिङ रहेको छ ।

विसं २०७९ साउन २६ गते सम्झौता गरिएको अस्पताल भवनको काम गत विसं २०८० माघ २३ गते सम्पन्न गर्नेगरी श्यामसुन्दर–गोरखा–तुवाचुङ जेभीले अस्पताल भवन निर्माणको जिम्मा लिएको छ । प्रत्येक तलामा सर्वसाधारण, सेवाग्राही र कर्मचारीका लागि महिला÷पुरूष छुट्टाछुट्टै शौचालय निर्माण हुने सम्झौतामा उल्लेख गरिएको छ ।

अपाङ्गता भएका व्यक्तिलेसमेत सहजरूपमा सेवा लिनसक्ने वातावरण बनाउन अन्तिम तलासम्म नै ह्वील चियर गुडाउन मिल्नेगरी भौतिक संरचना निर्माण गरिएको गाउँपालिका प्रमुख गीरेन्द्रबहादुर राईले जानकारी दिनुभयो ।

“निर्माणाधीन अस्पताल भवनको काम गुणस्तरीय भएको छ । तोकिएकै समयमा निर्माणको काम पनि सम्पन्न हुने देखिएको छ”, उहाँले भन्नुभयो, “ऐसेलुखर्क बजार उत्तरी क्षेत्रका स्थानीयवासीको प्रमुख बजार हो । यहाँ सुविधा सम्पन्न अस्पताल नहुँदा धेरै मानिसले दुःख पाएका छन् । अब त्यो समस्या हल हुन्छ ।”

प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कको भवन नजिकै निर्माणाधीन अस्पताल विसं २०७७ मङ्सिर १५ गते शिलान्यास गरिएको थियो । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले भर्चुअल माध्यमबाट एकैसाथ पाँच, दश र १५ शय्याका ३०९ वटा अस्पताल शिलान्यास गर्दा खोटाङमा ऐसेलुखर्कसँगै हलेसी तुवाचुङ नगरपालिका, रावाबेँसी गाउँपालिका, केपिलासगढी, साकेला र जन्तेढुङ्गा गाउँपालिकामा अस्पताल निर्माणको योजना परेको थियो ।

निर्माणाधीन पालिकास्तरीय अस्पताल भवनका लागि स्थानीय पर्शुराज भण्डारीले रू ३० लाख बराबरको सात रोपनी जग्गा निःशुल्क उपलब्ध गराउनुभएको गाउँपालिकाका प्रवक्ता एवम् वडा नं ३ ऐसेलुखर्क का वडाध्यक्ष टेकेन्द्र राजभण्डारीले जानकारी दिनुभयो ।

ऐसेलुखर्क बजारमा सुविधा सम्पन्न अस्पताल सञ्चालनमा आएपछि उत्तरी क्षेत्रका स्थानीयवासीका साथै छिमेकी जिल्ला सोलुखुम्बुका बासिन्दालाईसमेत सहज हुने गाउँपालिकाले जनाएको छ ।

उता, जिल्लाका अन्य स्थानीय तहमा निर्माणाधीन पालिकास्तरीय भवनमध्ये केहीमा निर्माण सम्पन्न भएर सञ्चालनमा आएका छन् भने केहीमा अलपत्र अवस्थामा छन् । साकेला गाउँपालिकामा निर्माण गरिएको पाँच शय्याको अस्पताल भवन यसअघि नै सम्पन्न गरेर सञ्चालनमा ल्याइसकिएको छ । रासस