२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेता नेपालको पशुपतिमा अन्त्येष्टि



अ+ अ-

काठमाडौँ। नेकपा (एमाले) नेता एवं प्रगतिशील साहित्यकार प्रदीप नेपालको अन्त्येष्टि गरिएको छ । पशुपतिस्थित विद्युतीय शवदाहगृहमा उहाँको पार्थिव शरीरलाई आज साँझ अन्त्येष्टि गरिएको हो ।

त्यसअघि उहाँप्रति नेकपा (एमाले)का उपाध्यक्ष एवं उपप्रधानमन्त्री विष्णु पौडेल, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, सुरेन्द्रप्रसाद पाण्डे, महासचिव शङ्कर पोखरेल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, नेकपा (माले)का महासचिव सिपी मैनाली, पूर्वउपप्रधानमन्त्री वामदेव गौतमलगायतका नेता पशुपति पुगेर उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो ।

एमाले पूर्वस्थायी समिति सदस्यसमेत रहनुभएका नेपालप्रति श्रद्धाञ्जली अर्पण गर्न एमाले र एकीकृत समाजवादीका पदाधिकारी, सांसद, पूर्वमन्त्री, नेता तथा कार्यकर्ता, शुभेच्छु र आफन्तजन ठूलो सङ्ख्यामा पशुपति पुग्नुभएको थियो । लामो समयदेखि पार्किन्सनसम्बन्धी समस्या झेल्दै आउनुभएको उहाँ केही दिनअघि निमोनिया भएपछि उपचारका लागि थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पताल भर्ना हुनुभएको थियो ।

नेता नेपालको उपचारका क्रममा आज अपराह्न त्यही निधन भएको हो । विसं २०१० पुस २७ गते भोजपुरको गोगनेमा जन्मनुभएका नेपाल राजनीतिज्ञ र साहित्यकार मात्र नभई स्तम्भकार, लेखक र पत्रकारका रूपमा समेत परिचित हुनुहुन्थ्यो । उहाँले छलफल, दृष्टि, प्रकाश साप्ताहिको सम्पादन गर्नुका साथै ती पत्रिकाको नियमित स्तम्भकार समेत हुनुहुन्थ्यो ।

उहाँका कथाभित्रका ‘नारी अनुहार’, ‘परोपकार यात्रा’, ‘बेचिएका चेलीहरू’ र ‘सूर्यमान’ शीर्षका कथा सङ्ग्रहका अतिरिक्त ‘खुइते कडेरिया’, ‘पार्टीकी आमा’, ‘पूर्वतिर’, ‘नओइलाउने फूल’, ‘देउमाइकको किनार मुक्ति’, ‘एक्काइसौँ शताब्दीको सुम्निमा’, ‘नन्दीताल’गायतका उपन्यास प्रकाशित छन् ।

यसरी सम्झिइयो पूर्वमन्त्री नेता नेपालाई नेकपा (एमाले)का पूर्वउपाध्यक्ष एवं वामपन्थी नेता वामदेव गौतमले नेपाली राजनीतिमा स्व नेपाललाई एमाले नेताभन्दा अघि ‘कोर्डिनेशन’ केन्द्र झापा सङ्घर्षको योद्धा र पार्टी निर्माणकर्ताका रूपमा सदासर्वदा स्मरण भइरहने प्रतिक्रिया दिनुभयो ।

उहाँले भन्नुभयो, “उहाँले प्रारम्भिककालमा पार्टीको सङ्गठन विस्तारमा ज्यादै ठूलो भूमिका निर्वाह गर्नुभएको छ । कम्युनिष्ट पार्टीको सफल नेता र योद्धा हुनुहुन्थ्यो । पार्टीले दिइएको जस्तोसुकै जिम्मेवारी पूरा गर्न निरन्तर लागि पर्ने सफल नेता हुनुहुन्थ्यो ।

नेकपा (एमाले)का नेता डा राजन भट्टराईले नेपालको कम्युनिष्ट आन्दोलनमा स्व नेपालको ठूलो योगदान रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “उहाँले नेकपाको कोर्डिनेशनकालदेखि नै निरन्तररूपमा प्रगतिशील आन्दोलनमा वैचारिकरूपमा स्पष्ट, जुझारू र सक्रियतापूर्वक आफ्नो भूमिका निर्वाह गर्नुभयो ।

नेता नेपाल बहुआयामिक व्यक्तित्व भएकाले युवाका लागि ठूलो प्रेरणाका स्रोतका रूपमा रहनुभएको बताउँदै डा भट्टराईले चुनौतीपूर्ण कार्यलाई आँटका साथ लिने र लिएको काम फत्ते गरेर मात्र छोड्ने साहसिक नेताको व्यक्तित्व बनाउनुभएको बताउनुभयो ।

विसं २०३३ मा नख्खुजेल तोडेर निस्कनुभएका नेता नेपाल विसं २०४६ सम्म पार्टीमा भूमिगत जीवन बिताउनुभयो । जतिसुकै प्रतिकूल अवस्थामा पनि धैर्यतापूर्वक त्यसलाई संयोजन गरेर लैजाने उहाँमा क्षमता रहेको उहाँका सहकर्मीहरू बताउनुहुन्छ ।

सरकारमा रहँदा उहाँले मन्त्रालयको जिम्मेवारी सम्हाल्ने क्रममा केही न केही नयाँ काम सुरू गर्ने र नयाँपनको थिति बसाउने कार्य गर्नुभएको डा भट्टराई बताउनुहुन्छ । रासस