२५ जेष्ठ २०८३, सोमबार
,
Latest
करका दर हेरफेर र प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, संसदीय छानबिन समितिको माग ‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्दैछौँ, ‘छटपटी’ हुनेलाई भइरहोस्ः अर्थमन्त्री वाग्ले फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु कांग्रेस नीति प्रतिष्ठानको चौथो बैठक जेठ २७ गते बस्ने मुलुकको राष्ट्रियता र जनसरोकारका मुद्दामा सरकार गम्भीर नभएको सांसद केरुङको आरोप ६ लाख बाँदर नमारेसम्म किसानले सुख पाउँदैनन्ः सांसद राई ५० अर्बभन्दा बढी विद्युत् बक्यौता छिटो उठाउन ऊर्जा मन्त्री श्रेष्ठको आग्रह नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभापति देउवाद्वारा नेता अधिकारीको निधनप्रति दुःख व्यक्त



फाइल फोटो
अ+ अ-

काठमाडौँं। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं भोजपुर जिल्लाका पूर्वजिल्ला सभापति हेमराज अधिकारी (शास्त्री)को निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

अधिकारीको यही जेठ १३ गते ९४ वर्षको उमेरमा संयुक्त राज्य अमेरिकामा निधन भएको हो । सभापति देउवाले शोक विज्ञप्तिमार्फत आज उहाँको निधनप्रति दुःख व्यक्त गर्दै मृतकको आत्माको चीरशान्तिको कामना र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । स्व अधिकारीले कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा निर्वाह गर्नुभएको योगदान पार्टीमा सदा स्मरणीय रहिरहने पार्टीले जनाएको छ ।

स्व अधिकारीप्रति सम्मान प्रकट गर्दै कांग्रेसले यही जेठ १६, १७ र १८ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र सबै जिल्ला कार्यालयमा आधा झण्डा झुकाउने, स्वर्गारोहणको १३ दिनसम्म केन्द्र र सम्बन्धित जिल्लामा शोक पुस्तिका राख्ने तथा स्वर्गारोहणको १३औँ दिनमा सम्बन्धित जिल्लामा शोकसभाको आयोजना गर्ने जनाएको छ ।

कांग्रेसको सातौँ महाधिवेशन विसं २०१७ पश्चात् जननायक विश्वेश्वरप्रसाद कोइरालाको सभापतित्वकालमा उहाँ कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य हुनुहुन्थ्यो । अधिकारीले नेपालको लोकतान्त्रिक आन्दोलन र सङ्घर्षका क्रममा जेल जीवनसमेत व्यतित गर्नुभएको थियो । उहाँ कांग्रेसको भ्रातृ संस्था नेपाल प्रजातन्त्र सेनानी सङ्घको पूर्वमहासचिवसमेत हुनुहुन्थ्यो ।

विसं १९८८ मा भोजपुरको दिङ्गलामा जन्मनुभएका अधिकारी विभिन्न सङ्घसंस्थामा आबद्ध रहनुका साथै लेखनकार्यमा समेत सक्रिय हुनुहुन्थ्यो । उहाँको ‘आजको नेपाल’लगायत पुस्तक प्रकाशित छन् । उहाँको निधनबाट कांग्रेसले एक पुराना अग्रज व्यक्तित्वलाई गुमाएको जनाएको छ । रासस