१७ असार २०८३, बुधबार
,
Latest
मुस्ताङमा युरेनियम उत्खननबारे नेपाली सेना–अमेरिकी सेनाबीच कुनै सम्झौता छैन : परराष्ट्रमन्त्री खनाल संसदीय शासन प्रणाली असफल भइसक्यो, प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली उपयुक्त विकल्प हुनसक्छः वामदेव गौतम देश फिल्मी संवाद र ‘ह्याङओभर’बाट चल्दैनः सांसद शर्मा सरकार दुई तिहाइ बहुमतको आडमा मनपरी ढंगले अघि बढ्न खोज्यो, खबरदारी गर्नुपर्छः युवराज ज्ञवाली न्युनतम यात्रु पनि नभएपछि कतिपय विमानस्थलहरु नियमित रुपमा सञ्चालन गर्न सकिएनः पर्यटनमन्त्री पौडेल भारतीय हेलिकप्टर प्रतिकूल मौसमका कारण नेपाली भूभाग प्रवेश गरेको हो, यसमा अरु नियोजित एवं गलत… कुटनीतिक वार्तामार्फत सीमा विवाद समाधान गर्न सरकार प्रतिवद्ध, सुस्तामा तटबन्ध निर्माणबारे भारतीय पक्षसँग समन्वय हुँदै डिशहोमको तुषाल मल्टिभेन्युसँग हातेमालो, भर्चुअल प्रिभिलेज कार्डमार्फत सुविधा प्रदान गर्ने स्वचालित प्रणाली अनुरुप भाडा समायोजन गर्न माग काभ्रेपलाञ्चोकमा सवारी दुर्घटनामा युवतिको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिशु स्याहारका लागि ‘सुसार’ कार्यक्रम



अ+ अ-

रुपन्देही । मातृ तथा नवजात शिशु स्याहारको गुणस्तरमा सुधार ल्याई मृत्युदर घटाउने उद्देश्यले प्रदेश नं ५ का दुई अस्पतालसहित देशभरका आठ अस्पतालमा ‘सुसार’ कार्यक्रम थालनी गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र गोल्डेन कम्युनिटीको सहयोगमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, भेरी अस्पताल, कोशी, अस्पताल, जनकपुर अस्पताल, भरतपुर अस्पताल, कर्णाली, सेती र डडेलधुरा अस्पतालमा ‘सुसार’ कार्यक्रम सञ्चालन  भएको छ ।  

गुणस्तरीय सेवा सुधारअन्तर्गत अस्पतालको विद्यमान मातृ तथा शिशु स्याहार सेवालाई ज्ञान सीप तथा प्रविधि प्रयोगमा ल्याई नवजात शिशुको मृत्युदरमा कमी ल्याउने उदेश्यले दुईवर्षे परियोजना शुरु गरिएको गोल्डेन कम्युनिटीका सञ्चारविज्ञ सिर्जना शर्माले बताउनुभयो । “मातृ तथा शिशु स्याहारमा संलग्न हुने सबै स्वास्थ्यकर्मीलाई नवजात शिशुको स्याहारसम्बन्धी ज्ञान तथा सीप दिएर प्रसूति सेवालाई प्रभावकारी ढङ्गले  निगरानी गरिने छ । यसले आमा र नवजात शिशुको स्वास्थावस्थामा सुधार ल्याउने छ”, शर्माले भन्नुभयो ।

उहाँका अनुसार नेपालमा हरेक वर्ष ६ लाख शिशु जन्मन्छन् । त्यसमध्ये ११ हजार मृतावस्थामा जन्मन्छन् भने करीब १३ हजार नवजात शिशु जन्मेको एक महिना नपुग्दै मर्छन् । महिना नपुगी जन्मँदा ३१ प्रतिशत, जन्मनासाथ श्वास फेर्न नसक्दा २३ प्रतिशत र सङ्क्रमणका कारण १९ प्रतिशत नवजात शिशुको मृत्यु हुने गरेको छ । नेपाल सरकारले नवजात शिशु मृत्युदर प्रतिहजार २१ लाई सन् २०३० सम्ममा प्रतिहजार १२ र मृत जन्मने शिशुका दरमा प्रतिहजार जन्मलाई १३ मा घटाउने लक्ष्य राखेको छ । सरकारको यो लक्ष्य पूरा गर्न कार्यक्रमले सहयोग गर्ने परियोजनाको विश्वास छ ।

सरकारी अस्पतालमा स्रोत साधनको अभाव भएका कारण पनि प्रभावकारी सेवा दिन समस्या हुने गरेको चिकित्सकको भनाइ छ । “प्रसूति सेवालाई अझै प्रभावकारी बनाउन जरुरी छ, यसका लागि सुसार कार्यक्रम सहयोगी बन्नेछ”, लुम्बिनी प्रादेशिक अस्पतालका स्त्रीरोग विशेषज्ञ डा श्रीधर आचार्यले भन्नुभयो, यो कार्यक्रम दीर्घकालीन हुनुपर्छ । ”

लुम्बिनी प्रादेशिक अस्पतालमा मात्रै एक हप्तामा करीब एक सय  शिशु जन्मन्छन् । अस्पतालको तथ्याङ्कानुसार अघिल्लो हप्तामा जन्मिएका १०४  शिशुमध्ये चार आमाको गर्भमै मरेका थिए भने आठ जना कम तौल भएका थिए । श्वास फेर्न नसकेका अवस्थामा जन्मिएका चार जनालाई कृत्रिम श्वास दिइएकामा तीन जना ठीक भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा राजेन्द्रप्रसाद खनालले बताउनुभयो । अस्पतालमा जन्मिएका ९५ शिशुलाई एक  घण्टाभित्र स्तनपान गराइएको थियो ।  

अस्पतालको सेवा सुधारको प्रयास भइरहेका बेला सुसार कार्यक्रम थप सहयोगी बन्ने डा खनालको विश्वास छ । अस्पतालमा बिरामीको चाप बढी भएकाले सहज रुपमा सेवा दिन समस्या भएपछि थप स्रोत साधनको व्यवस्था गर्ने काम  भइरहेको  उहाँले बताउनुभयो ।

नवजात शिशु र आमा दुवैको स्वास्थ्य र सुरक्षाका लागि मातृशिशु स्वास्थ्य केन्द्र, प्रसूति केन्द्र र अस्पतालमा दक्ष प्रसूतिकर्मीद्वारा प्रसूति गराउनुपर्छ । नेपाल सरकारले तोकेका यस्ता प्रसूति संस्थामा निःशुल्क प्रसूति गराउने व्यवस्थाका साथै सुत्केरीलाई यातायात खर्चसमेत उपलब्ध गराउने व्यवस्था छ  । स्वास्थ्य संस्थामै सुत्केरी हुँदा पनि विभिन्न कारणले आमा र शिशुको ज्यान जोखिममा रहने गर्छ । “शिशुलाई नयाँ वातावरणमा समायोजन हुन गाह्रो हुन्छ, पूरा उमेर नपुगी जन्मिएको भए सबै अङ्ग पूर्ण रुपमा विकसित भइनसकेको हुनसक्छ । यसले गर्दा विभिन्न समस्या आउन सक्छन् ”,  बालरोग विशेषज्ञ डा नेत्र रानाले भन्नुभयो ।

लुम्बिनी प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुर्यबहादुर भट्टराईले अस्पतालको गुणस्तर सुधार्ने प्रयास भइरहेका बेला सुसार कार्यक्रमको कार्यान्वयनले सेवा सुधारमा सहयोग मिल्ने विश्वास व्यक्त गर्नुभयो । “ अस्पतालका सबै सेवा सुधारको प्रयासमा लागेका छौँ । यो कार्यक्रमले प्रसूति सेवालाई प्रभावकारी बनाई आमा र शिशु मृत्युदरमा कमी आउने छ”, अध्यक्ष भट्टराईले भन्नुभयो, “परियोजना दुई वर्षका लागि भए पनि अस्पतालले निरन्तरता दिने छ ।” 




भर्खरै