२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलवायु परिवर्तनको असर : बाह्रै महिना डेङ्गुको सङ्क्रमण देखिँदै



अ+ अ-

कञ्चनपुर : गर्मी र वर्षात्को समयमा मात्र देखिने डेङ्गु सुदूरपश्चिममा बाह्रै महिना देखिन थालेको छ । जलवायु परिवर्तनको असरले लामखुट्टेको प्रजनन समयावधि लम्बिनु, तापक्रममा असमान्य वृद्धि हुनु, वर्षा चक्रको अनियमियताले डेङ्गुको सङक्रमण बढ्दै गएको छ ।

जलवायु परिवर्तनका कारण लामखुट्टेको रोग सार्ने क्षमतामा वृद्धि हुँदै गएको सुदूरपश्चिम प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकारी हेमराज जोशीले बताउनुभयो । “तापक्रम र वर्षाको चक्रले डेङ्गुको जोखिमलाई बढाएको छ”, उहाँले भन्नुभयो, “पहिला गर्मी र वर्षाका बेलामात्र डेङ्गुको सङक्रमण देखिन्थ्यो, अहिले चिसो महिनामा पनि डेङ्गु सङ्क्रमण देखिन थालेको छ, वातावरणीय तापक्रम बढ्दा लामखुट्टे बाह्रै महिना बाँच्ने वातावरण कायम भएको छ ।”

लामखुट्टेको जीवनचक्रमा मौसमले सघाउ पुर्याउँदा डेङ्गुको सङ्क्रमण चुनौतीका रूपमा देखापरेको उहाँको भनाइ छ । उहाँका अनुसार सन् २०२५ को जनवरीदेखि जुनसम्मको अवधिमा सुदूरपश्चिम प्रदेशका एक सय ६७ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । जनवरीमा २२, फेब्रुअरीमा २७, मार्चमा १७, अप्रिलमा ४०, मेमा ३४ र जुनको हालसम्म २० जनामा डेङ्गु सङ्क्रमण देखापरेको छ । सोही अवधिमा सबैभन्दा बढी डडेल्धुरामा ३४ जनमा र त्यसपछि कैलालीमा ३१ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

कञ्चनपुरमा २९, डोटीमा २५, अछाममा २४, बझाङमा ११, बाजुरामा ११ र दार्चुलामा दुई जनामा डेङ्गु सङ्क्रमण देखापरेको छ । बैतडीमा भने जनवरीदेखि जुन महिनाको अहिलेसम्म डेङ्गुका बिरामी देखापरेका छैनन् । एडिस एजिप्टाई जातको सङ्क्रमित लामखुट्टेको टोकाइबाट डेङ्गु सर्छ । पानी जम्ने ठाउँ र प्लाष्टिकजन्य फोहर व्यवस्थापन हुन नसक्दा डेङ्गु सार्ने लामखुट्टेको वृद्धि विकास हुँदै गएको उल्लेख गर्नुहँुदै उहाँले डेङ्गुलाई मौसमी समस्याका रूपमा मात्र नबुझेर वर्षभरि नै सतर्कता तथा सावधानी अपनाउनुपर्ने बताउनुभयो ।

जलवायु अनुकूल सरसफाइ रणनीति बनाई डेङ्गुसम्बन्धी चेतना र लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान सञ्चालनमा जोड दिनुपर्ने उहाँ बताउनुहुन्छ । वर्षात्को समय सुरु भएकाले डेङ्गुको सङ्क्रमण तीव्र रूपमा बढ्नसक्ने भएकाले वातावरणीय सरसफाइमा ध्यान दिनुपर्ने उहाँको सुझाव छ ।

डेङ्गु सार्ने लामखुट्टेले बिहान र दिउँसोका समयमा बढी टोक्ने भएकाले त्यसबेला लामो कपडा लगाउने, सुत्दा झुलको प्रयोग गर्ने, पानी जम्न नदिने, हप्तामा एकपटक घर वरपरका ट्याङ्की, डब्बा, टायरलगायतमा जमेको पानी फाल्ने कार्य गर्नुपर्ने, विद्यालयमा डेङ्गुसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव स्वास्थ्यकर्मीको छ ।

“गर्मी र वर्षात्को समयमा डेङ्गु सङ्क्रमण फैलिने अत्यधिक सम्भावना हुन्छ”, शुक्लाफाँटा नगरपालिका स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टले भन्नुभयो, “यसबेला जनचेतना र सरसफाइ अभियानलाई बढाउनु आवश्यक छ, सतर्कता अपनाउन सके डेङ्गुको रोकथाम गर्न सकिन्छ ।” रासस