२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’
तपाईं के खोज्दै हुनुहुन्छ ?

चलचित्र ‘रियाल रिङ्गेट’को ट्रेलर सार्वजनिक, दिल चस्काउने दृश्यहरू



अ+ अ-

काठमाडौं। यही श्रावण १६ गते प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र ‘रियाल रिङ्गेट’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ ।

श्रावण सङ्क्रान्ति अवसर पार्दै सार्वजनिक गरिएको ट्रेलरमा नेपाली युवाहरूले अपनाउन बाध्य वैदेशिक रोजगारी र रोजगारीको सिलसिलामा भोग्नुपरेका विभिन्न कठिनाइ देख्न सकिन्छ ।

ट्रेलरका केही दृश्यहरू दिल चस्काउने प्रकारका छन्। ति दृश्यले आतङ्कवादीको सामूहिक बन्दी बनाइएका तथा कब्जामा परेका नेपाली कामदारहरूको झल्को दिन्छन् भने चलचित्रका अभिनेता प्रमोद चौलागाईँले कब्जामा रहेकै बेला नेपालमा पठाएको भिडियो सन्देश टेलिभिजनमा प्रसारण समेत भइरहेको देखिन्छ।

ट्रेलर सार्वजनिक भएपश्चात् चलचित्रका निर्देशक विभोर पोखरेलले ‘रियाल रिङ्गेट’लाई हरेक नेपालीको कथा रहेको बताए । उनले भने, “यस चलचित्रले वैदेशिक रोजगारीमा गएका नेपाली युवायुवतीहरूले भोग्नुपर्ने यथार्थ र उनीहरूको जीवनशैलीलाई नजिकबाट चित्रण गर्नेछ ।”

चलचित्रको नाम ‘रियाल रिङ्गेट’ आफैँमा प्रतीकात्मक छ । ‘रियाल’ कतार र साउदी अरेबियाको मुद्रा हो भने ‘रिङ्गेट’ मलेसियाको मुद्रा हो । यी दुवै नामको संयोजनले नेपाली श्रमिकहरूको लागि मुख्य गन्तव्य मुलुकहरूलाई सङ्केत गर्छ, जहाँबाट लाखौँ नेपालीहरूले आफ्नो परिवारको गुजारा चलाउन र राम्रो भविष्यको खोजीमा काम गरिरहेका छन् ।

चलचित्रमा प्रमोद चौलागाईं र निता ढुङ्गानाका साथै छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, विमला गिरी लगायतका कलाकारहरूको अभिनय रहेको छ । चलचित्रको लेखन प्रदीप भारद्वाज ले गरेका हुन् । रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, हरि घलेको छायाङ्कन, विपिन मल्लको सम्पादन, किरण तुलाधरको ब्याकग्राउन्ड स्कोर र राजीव समरको कोरियोग्राफी रहेको छ ।

चलचित्रका गीतहरूमा रामचन्द्र काफ्ले, किरण तुलाधर र चन्दन ध्वज केसी को सङ्गीत रहेको छ भने सुगम पोखरेल, केतन क्षेत्री, रामचन्द्र काफ्ले र जुनू रिजाल काफ्ले को स्वर सुन्न सकिनेछ । गीतका शब्दहरू अमर न्यौपाने, रवि मल्ल, कोसिस क्षेत्री, प्रदीप भारद्वाज र चन्दन ध्वज केसी ले लेखेका छन् ।

‘रियाल रिङ्गेट’ को छायाङ्कन भारतको राजस्थान, नेपालका चितवन, काठमाडौं र लेटाङमा गरिएको छ । यो चलचित्रलाई काफिया फिल्म्स ले वितरण गर्नेछ ।