२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैचारिक दृष्टिकोण निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ : अध्यक्ष नेपाल



अ+ अ-

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राजनीतिक विचार सिद्धान्त निकट रहेका समूह तथा कम्युनिष्ट पार्टीबीच एकता आवश्यक रहेको बताउनुभएको छ ।

नेकपा (एकीकृत समाजवादी) र नेकपा राष्ट्रिय एकता अभियानबीच आज आयोजित एकता सभामा उहाँले मुलुकको आर्थिक विकास तथा जनताको समृद्धिका लागि सबै क्रान्तिकारी, वामपन्थी शक्तिलाई बलियो बनाउन विभिन्न रूपमा छरिएका कम्युनिष्ट समूहलाई एकताबद्ध गर्नुपर्नेमा जोड दिनुभयो ।

पार्टी बलियो बनाउन समान नीति र उद्देश्य बोकेका अरू दलसँगको एकता र सहकार्य अर्थपूर्ण हुने उल्लेख गर्दै अध्यक्ष नेपालले राष्ट्रिय एकता अभियानसँग गरिएको एकताले पार्टीलाई बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेताहरूबाट आएका अभिव्यक्तिले तत्काल उनीहरूसँग एकताको सम्भावना नरहेको बताउँदै उहाँले त्यहाँभित्रको सैद्धान्तिक तथा वैचारिक विचलन बाधक रहेको विचार व्यक्त गर्नुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले आफ्नो पार्टीको वैचारिक दृष्टिकोणका कारणले देशको राष्ट्रिय राजनीतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको प्रष्ट पार्नुभयो ।

सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले निरङ्कुशताविरुद्ध सङ्घर्ष गरेका वामपन्थी शक्तिबीचको एकता मुलुकको आवश्यकता भएको बताउँदै त्यसको सुरुआत आजको कार्यक्रमबाट भएको उल्लेख गर्नुभयो ।

उहाँले मुलुकमा सबै वामपन्थी शक्तिबीच ध्रुवीकरणको विकास हुँदै जाँदा एमालेसँग पनि दीर्घकालमा एकताको सम्भावना र लक्ष्य राख्नुपर्ने उल्लेख गर्नुभयो ।

अभियानका संयोजक वामदेव गौतमले आफू ७५ सदस्यीय केन्द्रीय कमिटीको समर्थन बोकेर आएको बताउँदै एकताप्रति खुसी व्यक्त गर्नुभयो ।

मुलुकमा समाजवाद निर्माणका लागि आफू समाहित भएको बताउँदै उहाँले भन्नुभयो, “मेरो जीवनमा समाजवाद देख्न पाएँ र मैले नै निर्माण गरेर समाजवादी पद्धतिमा सामेल हुन पाएँ भने साँच्चिकै यो जीवन पूर्ण रूपमा सफल भएको ठान्नेछु ।”

नेता गौतमले जनताका समस्यालाई समाधान गर्दै पार्टी सङ्गठन गतिशील बनाउन आफूले सक्दो भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।