२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिम्मतले नन्दप्रसादलाई आत्मनिर्भर बनायो



अ+ अ-

कञ्चनपुर । कृष्णपुर नगरपालिका–५ गजरौला बजारको एक कुनामा बिहानैदेखि धुवाँको मुस्लो, समोसाको गन्ध र तातो चियाको बाफले ग्राहक तानिरहेको हुन्छ । ग्राहकका बीचमा त्यही भेटिनुहुन्छ, नन्दप्रसाद तिवारी । चिया र नास्ताको पसलमार्फत उहाँले आफ्नो परिवार चलाइरहनुभएको छ ।

करिब ५३ वर्षीय तिवारीको जीवन सहज भने थिएन । विक्रम संवत् २०५१ मा भारतको नैनितालमा बसमा उहाँ सहचालकका रूपमा काम गर्दा दुर्घटनामा पर्नुभयो । उहाँको दायाँ खुट्टा भाँच्चियो र बायाँ पनि कमजोर भयो । रोजगारी गुमेपछि उहाँ घर फर्किनु भयो । “घरमै बसेर जिन्दगी चल्दैन भन्ने लाग्यो”, उहाँले भन्नुभयो, “विसं २०५४ मा मुगुबाट गजरौला झरे, सानो चिया पसल खोलेर जीवनको नयाँ अध्याय सुरु गरे ।”

श्रीमती लक्ष्मीका साथमा उहाँ चिया, समोसा र पकौडा बनाउनुहुन्छ । दुवै जना बिहान ५ देखि बेलुकी ८ बजेसम्म चिया नास्ताको पसल चलाउनुहुनछ । त्यसमा उहाँका छोरा र बुहारीले पनि साथ दिएका छन् । त्यसबाट मासिक रु ३० देखि ३५ हजारसम्म आम्दानी हुन्छ । पसलकै कमाईले किनेको दुई कट्ठा जमिन भए पनि अधिकांश खाद्य सामग्री बजारमै किन्नुपर्ने बाध्यता छ । यस्तैमा उहाँले पसलको आम्दानीबाट केही रकम बचत गर्दै दुई कोठाको पक्की घर निर्माण गर्नुभएको छ ।

दैनिक रु २०० सहकारीमा बचत गर्ने उहाँले वार्षिक रु एक लाखसम्म बचत गर्ने गरेका छन् । उहाँको पाँच जनाको परिवारको सहारा एक मात्रै त्यही चिया पसल मात्रै रहेको छ । त्यसकै कमाईले परिवारको खर्च चल्छ । तिवारीले पसल खोलेदेखि दुःखको पनि कम अभाव भोग्नुभएको छैन । “विसं २०६० तिर आगलागीले पसलका सबै सामान जले”, उहाँ विगतलाई सम्झँदै भन्नुहुन्छ, “विसं २०६४ मा फेरि बाढीले घरभित्रको र पसलभित्रको सबै समान बगाएर लग्यो, हिम्मत हारिन् ।”

सानो चुलो, चिया र आत्मबलको सहारामा फेरि नयाँ शिराबाट व्यवसाय सुरु गरेर यहाँसम्म आइपुगेको उहाँले बताउनुभयो । “हरेक दिन नन्दप्रसादकै चिया पसलमा पुग्छौँ”, स्थानिय युवा सुरेश विक भन्नुहुन्छ, “स्वादिष्ट चिया र नास्ता पाइन्छ नै, मेहनतको पाठ पनि पढ्न पाइन्छ, उहाँले गरेको सङ्घर्ष अनुकरणीय छ ।”

उहाँका अनुसार तिवारी अपाङ्गता भएको भए पनि कामबाट कहिल्यै पछि हट्नुभएको छैन । उहाँले भन्नुभयो, “तिवारीको सङ्घर्ष देख्दा शारीरिक अपाङ्गता आत्मबलको अगाडि बाधा होइन भन्ने प्रमाणित हुन्छ, पसलमा न आकर्षक बोर्ड, न सुविधा सम्पन्न छ, तर श्रम, इमान र निरन्तरता छ, त्यसैले ग्राहले उहाँलाई रुचाउँछन् ।” रासस