३१ जेष्ठ २०८३, आईतवार
,
Latest
अदिभारा-टाक्से-रुम सडक छ वर्षपछि सञ्चालन परराष्ट्रमन्त्री खनाल बेइजिङमा: बीआरआई परियोजना बारे यस्तो छ दृष्टिकोण  मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न लुम्बिनी र सुदूरपश्चिमको तराई भूभागमा गर्मी बढ्ने बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध प्रधानमन्त्री बालेनको नजरमा ‘देश बनाउने टोली’ ! मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना परराष्ट्रमन्त्री बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी अमेरिकाले इरान सम्झौता : रोक्का सम्पत्ति फिर्ता र ‘स्ट्रेट अफ हर्मुज’ मा स्वतन्त्र आवागमनबारे छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

दर्शन र युगान्तकारी परिवर्तन ल्याउने नेताहरूलाई गाली गर्ने फेसन चलेको देखिन्छ: पुष्पकमल दाहाल



अ+ अ-

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रप्रतिको सबैभन्दा गहिरो चिन्ता तथा सरोकार आफूहरूलाई नै रहेको स्पष्ट गर्नुभएको छ।

बुधबार राजधानीमा आयोजित ‘गणतन्त्र अगाडि र पछाडिको नेपाल’ शीर्षक पुस्तकको लोकार्पण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डज्यूले लामो संघर्ष, त्याग र बलिदानबाट प्राप्त भएको गणतन्त्रमाथि हाल प्रश्न उठ्न थालेपछि त्यसको संरक्षण र सुदृढीकरणप्रति गम्भीर चासो व्यक्त गर्नुभएको हो।

उहाँले आन्दोलनको स्मरण गर्दै भन्नुभयो, “बच्चा जन्माउने आमालाई जति माया हुन्छ, त्यति अरूलाई हुँदैन। गणतन्त्रप्रति प्रश्न उठेपछि हामीले काठमाडौंमा विशाल प्रदर्शन त्यसैगरी मात्रै गरेका थिएनौं, त्यो हाम्रो संकल्प र सरोकारको अभिव्यक्ति थियो।”

अध्यक्ष प्रचण्डले माओवादी आन्दोलनको योगदानबाट महिला, दलित, आदिवासी तथा जनजाति समुदायले पाएका अधिकारहरू आज संस्थागत भएको उल्लेख गर्दै ती अधिकारहरू अब उल्ट्याउन नसकिने विश्वास व्यक्त गर्नुभयो।

उहाँले पछिल्ला दिनमा गहिरो अध्ययन, चिन्तन, वैचारिक सिद्धान्त र त्यागमा आधारित आन्दोलन तथा नेताहरूलाई हल्का रूपमा व्याख्या गर्दै आलोचना गर्ने प्रवृत्ति बढिरहेकोप्रति दुःख प्रकट गर्नुभयो।

“आजभोलि सुसंस्कार, दर्शन र युगान्तकारी परिवर्तन ल्याउने नेताहरूलाई गाली गर्ने फेसन चलेको देखिन्छ,” उहाँले भन्नुभयो।

त्यस्तै, कुनै वैचारिक धरातल वा ऐतिहासिक योगदान नरहेका व्यक्तिहरूबाट जनतालाई भ्रममा पार्ने प्रयास भइरहेकोप्रति चिन्ता व्यक्त गर्दै अध्यक्ष प्रचण्डले त्यसले मुलुकलाई गलत दिशातर्फ डोर्याउन सक्ने खतरा औंल्याउनुभयो।

उहाँले भन्नुभयो, “देशमा निराशावादको व्यापार, असन्तुष्टिको बजार र देश छोड्ने पलायन प्रवृत्तिहरू हावी हुँदै गइरहेका छन्। यस्ता प्रवृत्तिविरुद्ध प्रतिवाद गर्न तथा जनतालाई सही इतिहास बुझाउन पुस्तकहरू सशक्त माध्यम हुन सक्छन्।”

कार्यक्रमको समापनमा अध्यक्ष प्रचण्डले गहन र विश्लेषणात्मक कृतिहरूले मुलुकको राजनीतिक, सामाजिक र वैचारिक मार्गदर्शनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो।