२० असार २०८३, शनिबार
,
Latest
सरकारको १०० दिनः सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज परिषद्द्वारा उत्कृष्ट सूचना प्रविधि उद्यमीलाई पुरस्कृत कर्णालीमा बेपत्ता गाडी र यात्रु खोज्न सशस्त्रको विपद् शिक्षालयबाट गोताखोर परिचालन ट्राफिक प्रहरीद्वारा एकै दिन २० लाख बढी राजस्व संकलन कोलम्बिया विश्वकपको अन्तिम १६ मा प्रवेश सरकारको १०० दिनः सुदृढ सुरक्षा सङ्गठन र मजबुत आन्तरिक सुरक्षा प्राथमिकतामा शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजनाः मस्यौदामाथि छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कागती बिक्री नहुँदा किसान समस्यामा



अ+ अ-

घोराही । यहाँका किसान कागती बिक्री नहुँदा चिन्तित छन् । सहज रूपमा बजारीकरण नहुँदा धेरैजसो बारीमै कुहिएर खेर गइरहेको गढवा गाउँपालिका–८ कोइलावासमा किसान गोविन्द अधिकारी बताउनुभयो । उहाँले विगत पाँच वर्षदेखि व्यावसायिक रूपमा यसको खेती गर्दै आउनुभएको छ ।

भारतीय कागतीका कारण स्थानीयस्तरमा उत्पादित कागतीले बजार नपाएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “स्वदेशमै केही गरौँ भन्ने लक्ष्यसहित लागेको छु, बजार नपाउँदा निराश भए पनि आँट मारिसकेको छैन ।” पछिल्लो समय एक क्विन्टल कागती बारीमै कुहिएर खेर गएको उहाँको भनाइ छ । उमेरले २५ वर्ष पुग्नुभएका किसान अधिकारीको बारीमा एक सय ५० कागतीका बोट छन् ।

पछिल्लो समय सामाजिक सञ्जालमा बिक्रीमा समस्या भनेर राखेपछि काठमाडौँबाट माग आएकाले चार सय ९७ केजी उधारोमा पठाएको उहाँको भनाइ छ । रु ८० का दरले पठाएको उहाँ बताउनुहुन्छ ।

आफ्नै गाउँठाउँमा व्यावसायिक रूपमा कागतीखेती गर्दै आउनुभएका उहाँले कागती बिक्रीका लागि बजार खोज्दै हिँड्नुपर्ने अवस्था रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “स्वदेशमै केही गरौँ भन्ने भावनासहित यो व्यवसायमा लागेको छु, बजार खोज्दै भौतारिनुपर्ने अवस्था आउँदा समस्या भइरहेको छ ।”

उहाँले एक बिघा जग्गामा व्यावसायिक रूपमा कागतीको खेती गर्दै आउनुभएको छ । किसान अधिकारीले यसबाट वार्षिक रूपमा रु दुई लाख ५० हजार बढी आम्दानी गर्दै आउनुभएको छ । उहाँले कागतीसँगै आँप, लिच्ची, अमलालगायतको पनि खेती गर्दै आउनुभएको छ ।

सुरुमा उहाँका तीन दाजुभाइ मिलेर कागतीखेती गर्नुभएको थियो । दाजु विक्रम अधिकारी भने हाल वैदेशिक रोजगारमा हुनुहुन्छ भने भाइ जीवनले उहाँलाई सहयोग गर्दै आउनुभएको छ । यसका कारण व्यावसायिक रूपमा कागतीखेतीलाई निरन्तरता दिन केही सहज भएको उहाँको भनाइ छ ।