२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाको अनुसन्धानमा पूर्वीय ज्ञान किन ओझेलमा ?



अ+ अ-

अरुणा उप्रेती । कोरोना भाइरसको ओखती, खोप, अनुसन्धानको आदिको बारेमा पर्याप्त चर्चा भएको साबुन, स्यानिटाइजर र मास्कबारे त अब २ वर्षको बच्चाले पनि थाहा पाइसकेको छ ।

अनुसन्धानले देखाएको छ कि कोरोनाबाट प्रभावित भएका मध्ये ८० प्रतिशतलाई त खासै लक्षण देखापर्दैन । अनुसन्धानले यो पनि देखाएको छ कि संक्रमितका लक्षण भएर जटिलता हुने र मृत्यु हुनेमा मधुमेह र उच्च रक्तचापका बिरामीहरू बढी छन्, जसको रोगसँग लड्ने क्षमता कम छ, उसलाई बढी जटिलता हुन्छ । तर, कोरोनाका बारेमा छलफल हुँदा कुनै पनि आम सञ्चारमा कसरी रोग प्रतिरोधात्मक क्षमता बढाउने, कस्तो जीवनशैली अपनाउने भन्ने बारेमा प्रायः कम नै छलफल हुन्छ ।

कुन आधुनिक ओखतीले कोरोनालाई नष्ट गर्न सक्छ वा संक्रमित भएकाहरूको जटिलता कसरी, कति थोरै दिनमा कम हुन सक्छ भनेर अनेक अनुसन्धान भएका छन् । ‘खोप’ पनि छिट्टै आउने आशा बोकेर अनेक खोज हुँदैछन् ।

यसरी आधुनिक ओखतीका बारेमा अनेक अनुसन्धान हुँदै गर्दा हाम्रो पूर्वीय ज्ञान भएका ‘ओखती’को पनि अनुसन्धान सुरु हुनुपर्छ भन्ने आवाज किन ‘सिंहदरबार वैद्यखाना’, देशका विभिन्न भागमा अवस्थित वैद्यहरू पढाउने कलेजबाट हुँदैनन् ? मजस्ता आधुनिक ओखती पढेका मानिसहरूले त्यसका बारेमा आवाज उठाउँदा खासै त्यसको प्रभाव हुँदैन । वैद्यहरूले आफ्नो ज्ञानका आधारमा ‘हामी कोरोना’ भाइरसबाट संक्रमित भएकाहरूलाई जटिलता नहोस् भनेर औषधि तयार पार्न खोज र अनुसन्धान गर्छौं भनेर अगाडि आउनु पर्ने हो कि ?

हरेक खोज र अनुसन्धान गर्दा पहिलो चोटिमै सफलता हासिल हुन नसक्ला, समय लाग्ला अर्ध वा पूर्ण रूपले असफल नै होइएला रे, तर पनि कोसिस त गर्नुपर्‍यो । ‘सिंहदरबार वैद्यखाना’मा रहेका सयौं वर्ष पुराना किताबहरूमा “मानव शरीरमा रोगसँग लड्नका लागि चाहिने शक्ति दिन के गर्न सकिन्छ ?” भनेर कतै लेखिएको छ कि ?

सायद युरोपमा साबुन नआइसक्दा नै हाम्रा पूर्खाहरूले रिठ्ठाबाट फिँज निकालेर कपाल, जिउ, लुगा धुने गर्थे । खरानीले भाँडा मस्काउथें । सफा खरानी पेटको जुका मार्न प्रयोग गर्थे, युरोपमा प्राचीनकालमा “गोरुको बोसोबाट निकालिएको र खरानी मिसाइएको, मानिसहरुले आफ्नो कपाललाई राम्रो देखाउन यसको प्रयोग गर्छन्’ इतिहासमा लेखिएको छ ।

मेरो मामा घर, उत्तर प्रदेशको गाउँमा त ३०र३५ वर्ष अघिसम्म शौचालयबाट आएपछि मुल्तानी माटो, काली माटोले हात धुने चलन थियो । मेरो बुबापट्टिकी हजुरआमाले त साबुनमा बोसो मिसिएको हुन्छ भनेर साबुन प्रयोग नै गर्नुभएन । वहाँसँग नै मैले रिठ्ठाबाट फिँज निकाल्न सिकेको थिएँ, हजुरआमाले खरानीमा लुगा पकाएको देखेको थिएँ ।

कोरोनाको खोप र औषधी आउन अझ धेरै समय लाग्न सक्छ, अनेक संक्रमण त हुन सक्छन् । तर, कोरोना बाहेक अन्य विषाणु र जिवाणुहरूले पनि हामीलाई दुःख देलान् । तिनबाट बच्न पनि रोगसँग लड्ने शक्ति बढाउन पर्‍यो भन्ने हेक्का हुनैपर्छ । विश्व स्वास्थ्य संघले भन्दैछ “हामी कोरोनासँग बाँच्न सिक्नुपर्छ । समाजशास्त्री भन्छन् “लकडाउनले समस्या समाधान गर्दैन ।” लकडाउन खोलेपछि स्वस्थ भएर काम गर्न जरुरी छ, ओखती त चाहिन्छ ।

ओखती अहिले बचावट नै हो भने किन हामी रोगसँग लड्ने क्षमता वृद्धि गर्नेबारे छलफल नथाल्ने ? यहीबीचमा कसैलाई संक्रमणको जटिलता भयो भने त अस्पतालमा आइसीयू र भेन्टिलेटरको व्यवस्था त गर्नैपर्छ ।

तर, ८० प्रतिशत केही लक्षण देखा नपर्नेहरूको पनि स्वास्थ्य राम्रो रहोस् हाम्रा वैद्यहरूले केही अनुसन्धान गर्न सुरु गर्न थाल्ने होइन त ? आयुर्वेद पढाउनेले पनि त अनुसन्धान गर्न सक्छन् । नरदेवी अस्पातलले पनि गर्न सक्छ । योबारे किन सबै चुप ?